|

विराटनगर : ताप्लेजुङका एलिसा घिमिरे ब्याकपेन (ढाडको समस्या)को समस्या लिएर मोरङको विराटनगरस्थित कोशी अस्पताल पुगिन्। बिहान १० बजे अस्पताल पुगेकी उनी बिरामीको लाइन देखेर फर्किने या लाइनमा बस्ने भनेर दुविधामा परिन्। उनी अलमलमा परेको देखे लगत्तै अपरिचित पुरुषले उनलाई सिधै डाक्टर भेटाइदिने प्रस्ताव राखे।

‘चिन्दै नचिनेका मान्छे नजिक आएर लाइनमा बस्नु भन्दा म डाइरेक्ट (सिधै) डाक्टरलाई भेटाइदिन्छु भने‚’ उनले भनिन्‚ ‘हाम्रो पछिपछि आउँदै गर्दा म अस्पतालबाट निस्किएँ।’

प्रदेश १ को राजधानी विराटनगर तराईदेखि पहाडी जिल्लावासीका लागि उपचारको मुख्य केन्द्र मानिन्छ। प्रदेश १ का १४ वटा जिल्लाका सर्वसाधरणहरु ठूलादेखि सामान्य रोगको उपचारका लागि विराटनगरका विभिन्न अस्पताल आउने गर्छन्।

तर‚ पछिल्लो समय विराटनगरका ठूला अस्पताल परिसरमा बिचौलिया मौलाउँदै गएको पाइएको छ। अस्पताल जान लागेका बिरामी र बिरामीका आफन्तलाई विभिन्न आश्वासन देखाएर क्लिनिक र अस्पतालमा लैजाने दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै क्लिनिकसम्म पुर्‍याउन भूमिका खेल्ने विराटनगर महानगरपालिका–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरुले विराटनगरमा रहेका ठूला अस्पतालहरुमा आएका बिरामीलाई अन्यन्त्र अस्पताल र क्लिनक लैजान खोज्दा पक्राउ पारेको हो।

‘पक्राउ परेकाहरुले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन। यहाँ कोभिड फैलिएको छ। राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरिएको हो,’  डिएपी श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङ रहेका अस्पताल लग्ने रहेछन्। अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ।’

विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारका लागि प्रेरित गर्ने र उनीहरुसँग सम्पर्कमा भएका फार्मेसीमा औषधि किन्न पनि बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए।

विराटनगरको विभिन्न अस्पताल अगाडि बसेका बिचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि प्रहरीले  पक्राउ गरेको  डिएसपी श्रेष्ठले बताए।

सरकारी अस्पतालमा विचौलिया

पछिल्लो समय सरकारी अस्पताल कोशीमा बिरामी धेरै आउने भएकाले बिचौलियाहरु अस्पतालको गेट अगाडि र भित्र पसेर उनीहरुले विभिन्न आश्वासन दिएर बिरामीलाई कमिसन आउने निजी अस्पताल र क्लिनिकमा लैजाने गरेका छन्।

‘बिचौलियाले सम्पर्कमा आएका बिरामीहरुलाई सम्पर्कमा रहेको अस्पताल र क्लिनिकमा पुर्‍याउँदा निश्चित रकम तोकिदिएको हुन्छ‚’ नाम नबताउने सर्तमा एक क्लिनिक सञ्चालकले भने।

उनका अनुसार एकजना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक वा अस्पताल पुर्‍याउँदा बिचौलियाले ३०० देखि ५०० रुपैयाँसम्म पाउँछन्। बिरामीले जति बढी औषधि, ल्याब परीक्षण गरे त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको उनले बताए।

बिचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग एक जना बिरामीबाट २० हजार रूपैयाँभन्दा बढीको बिल भयो भने निश्चित रकम लिने सम्झौता गर्ने गरेको उनले बताए।

उनले भने, ‘बिरामीको २० हजार बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनु पर्दछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.