|

बारा : बारामा स्वास्थ्य चौकी भवन निर्माण गर्न छुट्याइएको सरकारी रकम चरम दुरुपयोग भएको छ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत जितपुरसिमरा उपमहानगरको १५ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्दा सरकारी रकमको चरम दुरुपयोग भएको भेटिएको हो।

१५ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गर्न करिब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट जीतपुरसिमराले गत आर्थिक वर्षको चैत अन्तिम साता सूचना निकालेर जेठदेखि निर्माण थालेको हो।

नगरपालिकाले प्रति स्वास्थ्य कार्यालय भवन निर्माण गर्न ३८ लाख ८६ हजार ९२० रुपैयाँ रकम तोकी बोलपत्र आह्वान गरेकोमा ठेकदारहरूले मिलेमतोमा १ देखि २ प्रतिशत मात्रै मूल्यांकन घटाएर ठेक्का सकारेका थिए।

स्वास्थ्य मन्त्रालयको डिजाइन र बजेटका आधारमा स्थानीय तहमा बनाइएको संरचना अत्यन्तै अव्यवहारिक र सरकारी रकम दुरुपयोग हुनेगरी निर्माण गरिएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्। स्वास्थ्य चौकी भवनमा झ्याल नै नभएको स-साना दुईवटा कोठा, क्लिनिक, ल्याब, नाममात्रैको प्रतीक्षालय र शौचालय बनाइएको छ। 

उपमहानगरको कार्यपालिका बैठकले तयार गरेको भवन निर्माण संहितामा प्रतिस्क्वायर फिटको लागत १८ सयदेखि २४ सय रुपैयाँसम्म तोकिएको छ। यस्तै, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्‍जले गुणस्तरीय सरकारी भवन निर्माण गर्न प्रतिस्क्वायर फिट ३ हजार रुपैयाँ मूल्यांकन तोकेको छ।

नगरपालिकालको आफ्नै र शहरी भवन निर्माण आयोजना कार्यालयको मापदण्ड पालना गर्दा पनि अधिकतम १६ लाख ८० हजारदेखि २१ लाख रुपैयाँमा भवन निर्माण सम्पन्न हुन्छ।

४० लाख रुपैयाँ बजेटमा २५ सय स्क्वायर फिटको वडा कार्यालय भवन निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष भरत भण्डारीले अत्यन्तै बलियो संरचना बनाउँदा पनि स्वास्थ्य कार्यालयको भवन १० देखि १५ लाख रुपैयाँमा पूर्ण रूपमा सम्पन्न गर्न सकिने दाबी गरेका छन्।

‘भवन प्राविधिक रूपमा नै त्रुटिपूर्ण छ, चारैतिरबाट घेरिएको असाध्यै सानो बाख्रालाई थुन्न बनाइएको खोरजस्तो छ,’ भण्डारीले भने, ‘यो भवन ३८ लाख रुपैयाँमा बनेको हो भने अत्यन्तै ठूलो भष्ट्राचार भएको छ।’

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्‍जका इञ्‍जिनियर प्रदीपकुमार सिंहले जग खन्नेदेखि स्याब ढलानसम्मका सम्पूर्ण कामको लम्बाइ र चौडाइको निकालेर निर्माण सामग्रीहरूको जिल्ला दररेटका आधारमा मूल्यांकन गरिने बताए। ‘झ्याल नभएको ४ कोठाको सामान्य प्रकृतिको घर निर्माणमा प्रतिस्क्वायर फिट लागत ३ हजार देखि ३५ सय रुपैयाँ पर्छ,’ इञ्‍जिनियर सिंहले भने।

सुँगुरको खोरजस्तो बनाएको भन्दै विरोध 

चारैतिरबाट घेरिएको झट्ट हेर्दा सार्वजनिक शौचालयजस्तो देखिने साँघुरो स्वास्थ्य चौकीको भवन ‘सुँगुरको खोर’ जस्तै भएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्।

‘सुँगुरको खोर जस्तो डिजाइन कसले गरेको हो? गुणस्तरीय सामान प्रयोग गरी यो भवन बनाउन १५/१६ लाख भन्दा बढी लागत लाग्दैन, हामीले पनि व्यक्तिगत घर त बनाएका छौँ, अनुभव छ, सोही बजेटमा राम्रा सरकारी भवनहरू बनेका छन्, ३८ लाख रुपैयाँ लागतको भवन हेर्दा जनता हाँसिरहेका छन्,’ जितपुरसीमरा-१५ का यज्ञप्रसाद तिवारीले भने।

स्वास्थ्य चौकी भवन निर्माणमा छुट्याइएको सरकारी रकम शतप्रतिशत दुरुपयोग भएको बताउँछन्‌ अर्का स्थानीय नारायण चौधरी। ‘सरकारले खानलाई सेवा सुविधा दिएकै छ त किन विकासका लागि छुट्याइएको रकममै आँखा लगाउने? ३८ लाख रुपैयाँ खर्च गरेर बनाइएको भवन यस्तै हुन्छ हो? हामीलाई चित्त बुझेको छैन,’ चौधरीले भने।

स्वाथ्य कार्यालयको भवन निर्माणमा सरकारी रकम दुरुपयोग भएको भन्दै छानबिन माग गर्दै स्थानीयहरूले वडा कार्यालयमा दबाब नै दिएका छन्। यता, जीतपुरसिमरा उपमहानगरका इञ्‍जिनियर अभय झाले ३८ लाख रुपैयाँ बजेटमा नगरपालिकाले गरेको डिजाइनमा अझ फराकिलो भवन बनाउन सकिने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले हिमाल, पहाड र तराई सबै जिल्लाका लागि एउटै डिजाइन र एउटै बजेट पठाएको नगरपालिकाले जनाएको छ। ‘पैसा उहाँहरूको, डिजाइन पनि उहाँहरूकै, हामीले त कार्यन्वयन गर्ने मात्रै हो,’ इञ्‍जिनियर झाले भने, ‘यसको लम्बाइ, चौडाइ र स्क्वायर फिटमा परिवर्तन गर्न मिल्दैन, सचिवस्तरीय निर्णयमा तयार भएको डिजाइनलाई टेकेर ३८ लाख ८६ हजार ९२० रुपैयाँ अनुमानित लागत आएको हो।’

ठेकदारहरूको दबदबा 

३८ लाख ८६ हजार ९२० रुपैयाँ लागत राखिएको ठेक्कामा ठेकदारहरूले मिलेमतो गरी १ देखि २ प्रतिशतमात्रै मूल्यांकन कम गरेर एकमुष्ट रूपमा ठेक्का सकारेका हुन्। 

डि. एण्ड.आर कन्स्ट्रक्सन सिमरा बारा (वडा नं १), गुल्शन विल्डर्स सिमरा बारा (वडा नं ३), एन.टी बारा कन्स्ट्रक्सन प्रा.लि औराहा बारा(वडा नं ४), गुल्शन विल्डर्स सिमरा बारा (वडा नं ५), निशन कन्स्ट्रक्सन सिमरा बारा (वडा नं ६), ॐ साई निर्माण सेवा बहअरी पिडरी पर्सा (वडा नं ८), प्रतिक्षा निर्माण सेवा गढी ७ मकवानपुर (वडा नं ९), गौतम निर्माण सेवा सिमरा बारा (वडा नं ११), पवन कन्स्ट्रक्सन भेडीहरी पर्सा (वडा नं १३), भिष्मा निर्माण सेवा सिमरा २, बारा (वडा नं १४), ॐ साई निर्माण सेवा बहअरी पिडरी पर्सा(वडा नं १६), भारती विल्डर्स कलैया बारा (वडा नं १८), सिरु कन्स्ट्रक्सन कलैया बारा (वडा नं २०), एच के एम कन्सट्रक्सन हेटौडा, मकवानपुर (वडा नं २२) नितु कन्सट्रक्सन पर्सा वडा नं २३) ले स्वास्थ्य केन्द्र भवन निर्माण गरिरहेका छन्।

गत आर्थिक वर्षको अन्तिमतिरबाट शुरू भएको भवन निर्माण सम्पन्न हुनुअगावै कार्यसम्पादन मूल्यांकनका आधारमा ठेक्का कम्पनीहरूले भुक्तानी बुझिसकेको नगरपालिकाले जनाएको छ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्वास्थ्य मन्त्रालयको बजेट र डिजाइन आधारमा भवन बनाइएको बताए। ‘प्राथमिक उपचारमात्रै गरी ठूला अस्पतालमा रिफर गर्ने केन्द्र भएकोले हाम्रो विचारमा भवन पर्याप्त छ,’ पोखरेलले भने, ‘काम भएको आधारमा भुक्तानी भएको छ, यो आर्थिक वर्षको अन्तिमसम्म बाँकी काम पनि सम्पन्न हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.