|

भक्तपुर : कोरोना कहरबीच भक्तपुरमा मृतकका आत्माको शान्ति कामना गर्दै सापारु (गाईजात्रा) मनाइएको छ। पहिले जस्तो उल्लासमय नभए पनि भक्तपुरवासीले देह त्याग गरिसकेका आफ्ना आफन्तको सम्झनामा परम्पराअनुसार ताहामचा बनाएर गाईजात्रा मनाए।

भक्तपुरमा गाईजात्रा निकाल्नु पहिले सोमबार बिहान कुखुरा बास्नुअघि नै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ। यस वर्ष कोरोनाका कारण गाईजात्रा औपचारिकतामा सीमित गर्ने नगरपालिकाको निर्णय र अनुरोधअनुसार बिहानै गाईजात्रा निकालिएको थियो।

भक्तपुरको गाईजात्रा मुलुकका अन्य सहरमा मनाउनेभन्दा भिन्न र मौलिक शैलीको मानिन्छ। यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो। त्यससँगै मृतकका आत्माको प्रतीकस्वरूप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो।

यस वर्ष कोरोनाका कारण धेरै भीडभाड हुने जात्रा, पर्व र कार्यक्रम गर्न सरकारले रोक लगाएकाले यस पटक घिन्ताङघिसी प्रदर्शन गरिएन। घिन्ताङघिसी ​नहुँदा गाईजात्रा पहिलेका वर्षहरूमा जस्तो उल्लासमय नभएको अधिकांश भक्तपुरवासीले अनुभव गरेको बताए।

घिन्ताङघिसी निकाल्न नपाए पनि मृतकको सम्झनामा सर्वसाधारणले परम्पराअनुसार तहामचा बनाएर नगर परिक्रमा गराएका थिए। गाईंसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिएको थियो।

साथै बालबालिकालाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको स्वरूपमा सिँगारेर बाजागाजासहित वासा लुइके गरेर प्रदर्शन समेत गरिएको थियो।

भक्तपुरमा यो पर्व ८ रात ९ दिन दैनिकजसो साँझपख घिन्ताङघिसीसँगै विभिन्न हास्यव्यंग्य, ख्यालठट्टायुक्त प्रहसन, धार्मिक र ऐतिहासिक महत्वका साँस्कृतिक नाच देवी प्याखँ, माक्क प्याखँ, नागाचा प्याखँ, लाखे प्याखँलगायत विभिन्न नाच प्रदर्शन गर्ने परम्परा रहे पनि यस वर्ष कोरोनाका कारण ती नाच प्रदर्शन स्थगन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.