|

सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।

गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।

गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको साझेदारीमा दुई करोड रुपैयाँ लगानीमा टिस्युकल्चर ल्याब निर्माण गरिएको जानकारी दिए। ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गाउँपालिकाको राजस्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ।

उनका अनुसार ल्याबबाट टिस्युकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवा उत्पादन गर्ने लक्ष्य छ। ल्याबको ९० प्रतिशत काम सकिएको छ। टिस्युकल्चर ल्याबबाट वार्षिक १० लाख दाना आलुको बिउ र पाँच लाख वटा फलफूलका विरुवा उत्पादन गर्ने लक्ष्य छ।

त्यस्तै किसानले ल्यावबाट उच्चस्तरीय र स्वस्थ गुणस्तरीय आलुको शुद्ध मूल बिउ सस्तो मुल्यमा खरिद गर्न सक्ने जनाइएको छ। साथै‚ बाहिर खरिद गरेको बिउभन्दा ल्याबको बिउ गुणस्तरीय हुनुका साथै उत्पादनमा वृद्धि गर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरू हाल देशका करिब ४८ जिल्लामा पठाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.