भाैतिक उपस्थितिमै सञ्चालन हुने

|

काठमाडौं : कोरोना महामारीका कारण रोकिएको कक्षा-१२ को परीक्षा कहिले त दशैँअघि त कहिले दशैँपछि सञ्चालन हुने भनी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भइरहेका छन्। सरकारले परीक्षा मितिबारे ठोस निर्णय नलिँदा करिब चार लाख परीक्षार्थी र उनीहरूका अभिभावकहरू झनै अलमलमा परेका छन्‌।

​राष्ट्रिय परीक्षा बोर्डले परीक्षा साउन ३१ गतेबाट शुरू गर्नेगरी तालिका समेत सार्वजनिक गरिसकेको थियो। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै परीक्षा रोक्न बोर्डमा प्रस्ताव गर्‍याे। जसअनुसार बोर्डले साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्याल परीक्षाको विषयमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिएपछि मात्रै टुंगो लाग्ने बताउँछन्। भने, ‘बोर्डले भनेर हुँदैन, सीसीएमसीले सञ्चालन गर्नू भन्यो भने हामी १५ दिनको सूचना निकालेर परीक्षा तालिका सार्वजनिक गर्छौँ।’

उनका अनुसार सीसीएमसीले तत्कालै अनुमति दिएको खण्डमा दशैँअघि परीक्षा हुनसक्छ। अनुमति नदिए परीक्षा दशैँपछि मात्रै हुने सम्भावना रहेको छ। 

यसो भन्छ शिक्षा मन्त्रालय

सीसीएमसीका अनुसार कक्षा-१२ को परीक्षा सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र परीक्षा बोर्डले सीसीएमसीमा सिफारिस गर्नुपर्ने हुन्छ।

यस विषयमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया भन्छन्, ‘कक्षा १२ को परीक्षा सकेसम्म छिट्टै सञ्चालन गर्ने लक्ष्य छ, सबै परीक्षार्थीलाई खोपको सुनिश्चिता भएपछि परीक्षा शुरू गर्छौँ।’

‘परीक्षा गराउन सिफारिस आए रोक्दैनौँ’ 

सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले शिक्षा मन्त्रालय र बोर्डले परीक्षा सञ्चालन गरिपाऊँ भनी सीसीएमसीमा सिफारिस गरे तत्कालै अनुमति दिने बताए।

‘परीक्षाको विषयमा त सीसीएमसीले भन्ने होइन,’ प्रवक्ता खतिवडाले भने, ‘शिक्षा मन्त्रालय र बोर्डले प्रस्ताव गर्नुपर्‍यो, त्यो प्रस्ताव हामी रोक्दैनौँ।’

भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने 

शिक्षा मन्त्रालयका सचिव थपलियाले भौतिक उपस्थितिमै कक्षा-१२ को परीक्षा सञ्चालन हुने बताए। ‘परीक्षा ढिलो/छिटो भएपनि भौतिक उपस्थितिमै सञ्चालन हुन्छ, परीक्षार्थीले परीक्षाको तयारी गरिराख्नू,’ उनले भने।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकले कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिकी सभापति जयपुरी घर्तीले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप व्यवस्था गरी भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी थिइन।

परीक्षा बोर्डका सदस्य सचिव अर्यालले समितिकाे निर्देशन पत्र बोर्डमा नआएको र पत्र प्राप्त भएपछि छलफल गरी कसरी परीक्षा लिने भन्नेमा निर्णय हुने बताए।  

परीक्षा अगावै सबै परीक्षार्थीलाई खोप लगाइने 

अभिभावक र सरोकारवाला लगायतले दुई महिना अघिदेखि नै परीक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाएपछि मात्रै कक्षा-१२ को परीक्षा सञ्चालन गर्न सरकारलाई बारम्बार दबाब दिइरहेको थियो। सोही दबाब पश्चात सरकारले उनीहरूलाई खोप लगाउन शुरू गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार गत शुक्रबारदेखि काठमाडौं जिल्लाबाट १८ वर्ष माथिका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ।

‘खोप लगाउने काम शुरू भइसकेको छ, मन्त्रालयले अरू जिल्लाहरूमा पनि खोप लगाउन निर्देशन दिइसकेको छ, सम्भवतः परीक्षाअगावै सबै परीक्षार्थीले खोप पाउनेछन्,’ उनले भने।

परीक्षा बोर्डका अनुसार १२ को परीक्षा दिने परीक्षार्थी करिब चार लाख छन्।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.