|

बर्दिया : कैलालीबाट पूर्व-पश्चिम राजमार्ग हुँदै बर्दियामा जागिर गर्न आउने मानिसहरू निकै छन्‌। जागिरका लागि छिमेकी जिल्लासम्म पुग्नुपर्ने अवस्था त छँदैछ, देशको प्रमुख राजमार्गको हालतले उनीहरूलाई थप कष्ट दिइरहेको छ।

साताको एक दिन त घर जानैपर्‍यो। प्रायः शुक्रबार उनीहरू मोटरसाइकल हाँकेर घरतर्फ लाग्छन्‌। शुक्रबार अफिस बिदा भएर घर जाने बेलासम्म साँझ पर्नै लागेको हुन्छ। निकुञ्जअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्दा निक्कै डर लाग्ने गरेको उनीहरू बताउँछन्‌। 

कति पटक त वन्यजन्तुसँग नै जम्काभेट हुन्छ। राजमार्गको दायाँबायाँ झाडीले ढाकेको छ। झाडीबाट कतिबेला जनावर र सर्पलगायत सरीसृप निस्केर आक्रमण गर्छ भन्ने त्रास हुन्छ। त्रासबीच पनि यात्रा गर्नुपर्ने बाध्यतामा उनीहरू छन्‌। सडकको दायाँबायाँका रुख तथा झाडी सफामात्रै गरिदिए पनि जनावर आएको सहजै देखिने र सतर्क हुन सकिन उनीहरू बताउँछन्‌। 

उनी मात्रै होइन, उनीजस्ता थुप्रै यात्रुहरूले यस्तै पीडा भोगिरहेका छन्‌। बर्दिया–कैलाली आउजाउ गरिरहनुपर्ने यात्रुहरू यात्रा गर्न मुस्किल भएको गुनासो गर्छन्। तर पनि जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। चारपाङ्ग्रे सवारीसाधनभन्दा २ पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूलाई बढी जोखिम छ। 

पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्दा सर्वसाधारणले आफ्नो ज्यानकै जोखिम मोल्नुपरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज भएर राजमार्गमा यात्रा गर्दा ज्यानको जोखिम मोल्न परेपनि सम्बन्धित निकाय मौन बसेको गुनासो बढ्दो छ।

राजमार्गमा पीचसँगै झाडी झाँगिदा वन्यजन्तुको आक्रमणमा पर्ने त्रास छ। बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुरदेखि चिसापानी पोष्टसम्म आवागमन गर्ने पैदल, साइकल र मोटरसाइकल यात्री जंगली वन्यजन्तुको आक्रमणमा पर्ने त्रास बढेको हो। तर, नियमनकारी निकाय बर्दिया राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालयले सडक छेउछाउ सरसफाइमा बेवास्ता गरिरहेका छन्‌।

​बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले भने सडक विभागले झाडी सफाइको काम गरिरहेको बताए। अहिले रम्भापुर सैनवार खण्डमा सडक विभागले आफ्नो काम जारी राखेको उनी बताउँछन्।

उनले भने, ‘अम्रेनी-चिसापानी खण्डमा पनि झाडी सफाइको काम शुरू गरिएको छ। यसअघि सडक विभागले राजमार्ग छेउछाउमा दायाँबाँया १५,१५ मिटर सडकमा झाडी सफाइको काम शुरू गरेको थियो।’

पाटेबाघ लगायत वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउँछन्। 

सडक विभागले बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गराउँदै आएको छ। तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा भने दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन। यसअघि १५ मिटर मात्रै खाली गरिएको थियो। उक्त क्षेत्र फेरि घाँसले ढाकिएको छ। वन्यजन्तु त्यही घाँसको घुस्यानमा बसिरहेका हुन्छन्। 

सवारीसाधनको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र आक्रमण गर्ने जोखिम हुन्छ। त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको थापाको भनाइ छ। 

बर्दिया निकुञ्जको मुटुबाट निस्केको पूर्व–पश्चिम राजमार्ग हुँदै दैनिक सयौँ सानाठूला सवारीसाधनहरू ओहोर दोहोर गरिरहेका हुन्छन्। ठूलो संख्यामा वन्यजन्तुहरू पनि सडक वारपार गर्छन् र आसपास हिँडिरहेका हुन्छन्।

‘राजमार्ग निर्माण गर्ने क्रममा निकुञ्जको बीचबाट निर्माण नगरी त्यसको विकल्प खोज्नुपर्थ्यो,’ पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भने, ‘तर, त्यसबेला अहिलेको कर्णाली चिसापानीलाई जोड्ने उद्देश्यले राजमार्गलाई छोटो बनाउन यहाँबाट सडक बनाइयो।’

अहिले यात्रुहरू दैनिकजसो त्रासमा यात्रा गर्न बाध्य भएका छन्। निकुञ्जले रातीको समयमा निकुञ्ज अन्तर्गतको राजमार्गमा यात्रा गर्न रोक लगाएको छ। गएको पुस १७ गते मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले आक्रमण गरी ज्यान लिएपछि निकुञ्जले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.