|

काठमाडौँ : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी चहलपहल तीव्र पारेको छ। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन जसरी पनि सफल बनाएरै छाड्ने लक्ष्यका साथ सो पार्टीले आफ्नो सिंगो पार्टी पंक्तिलाई चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ।

माओवादी केन्द्रको सांगठनिक संरचना

नेकपा माओवादी केन्द्रमा ३४ जना सदस्य रहेको एउटा हेडक्वार्टर कमिटी छ, जसलाई कार्यालय समिति पनि भनिन्छ। अहिले यो पार्टीको मुख्य कार्यकारी कमिटी भनेकै यही ३४ जनाको हेडक्वार्टर कमिटी अर्थात कार्यालय समिति हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको यो हेडक्वार्टर कमिटी नै अहिले माओवादीको सबैभन्दा धेरै सक्रिय कमिटी हो। पार्टीका आवश्यक निर्णयहरू लिनका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमै हेडक्वार्टर बैठक डाक्ने गरेका छन्।

हेडक्वार्टर कमिटीमुनि सचिवालय छ। यसमा ९९ जना सदस्य रहेका छन्। यी ९९ जना माओवादी नेताले प्रदेश र जिल्लाहरूको नेतृत्व गर्छन्। सचिवालयपछि २२० सदस्य रहेको पोलिटव्युरो रहेको छ। पोलिटव्यूरोमुनि तीन हजार ९९९ जनाको महाधिवेशन आयोजक समिति गठन गरिएको छ। सातवटा प्रदेश समन्वय समितिले प्रदेशमा समन्वयको काम गर्छन्। त्यसैगरी हरेक जिल्लामा जिल्ला समिति छन्। इलाकास्तरीय, गाँउ वा नगरस्तरीय र वार्डस्तरीय कमिटीका साथै सबैभन्दा तल सेल कमिटी रहेका छन्।

२०७० सालमा विराटनगरमा भएको अधिवेशनमा तीन लाख पार्टी सदस्य रहेको माओवादी केन्द्रमा अहिले चार लाख बढी पार्टी सदस्य रहेका दाबी गरिएको छ। अहिले सबैतिर पार्टी सदस्यता नवीकरण गरिरहेको माओवादीले पाँच लाख संगठित सदस्य बनाउने लक्ष्य लिएर नयाँलाई सदस्यता दिने र पुरानालाई नवीकरण गर्ने कार्यक्रम अगाडि बढाएको सचिव  प्रकाश पोखरेल शैलेशले बताएका छन्। चैत अन्तिम सातासम्म सबैतिरको लिष्ट केन्द्रीय कार्यालयमा आइपुग्ने पनि सचिव शैलेशले जानकारी दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको योजनालाई गाउँको एउटा वार्डमा रहेको सेल कमिटीको सदस्यसम्म मात्र होइन, आमजनतासम्म पुर्‍याउनका लागि अहिले माओवादी केन्द्रले आफ्नो सारा तागत खर्च गरिरहेको छ। स्थानीय चुनावको लागि पार्टीका सबै निकाय, जनवर्गीय संगठन र सहयोगी संगठनलाई समेत माओवादी केन्द्रले परिचालन गरिरहेको छ।

कति छन् माओवादी केन्द्रका जनवर्गीय संगठन?  

माओवादी केन्द्रका जनवर्गीय संगठन २५ वटा छन् भने अन्य सहायक संगठन आठवटा छन्। त्यसैगरी, विभिन्न नामका जातीय र क्षेत्रीय मोर्चा ३४ वटा छन्। आफ्ना जनवर्गीय संगठन, अन्य सहायक संगठन र मुक्तिमोर्चा नै माओवादीका संगठन परिपूर्ति गर्ने निकाय हुन्। तिनै जनवर्गीय संगठन र मोर्चाले पार्टी एकताको भाव सम्प्रेषण गर्दै केन्द्रदेखि प्रदेश हुँदै जिल्ला समितिसम्मको एकता भेला गरिरहेका छन्।  सोही एकता भेलाका साथसाथै उनीहरूले चुनावी माहोल पनि बनाइरहेका छन्।

कुनै-कुनै जनवर्गीय संगठनमा नेतृत्वमा विवाद पनि देखिएको छ। नेतृत्वमा देखिएको विवाद र संगठनका पदाधिकारी आकांक्षी बढ्दै जाँदा कतिपयले आफ्नो संगठनको एकता भेला पनि गर्न सकेका छैनन् भने कतिपयले एकता भेला गरेर प्रदेश हुँदै जिल्ला, नगर, गाउँ र वडासम्म आफ्नो संगठनलाई बिस्तार गरिरहेका छन्। शहीद परिवार समाज, बेपत्ता परिवार समाज, घाइते अपांग संघ जस्ता संगठन निष्क्रियप्राय: छन्। तिनको तुलनामा सहरकेन्द्रित पेसागत संगठन सक्रिय छन्।

चुनावमा सबैभन्दा बढी सक्रिय वाईसीएल, विद्यार्थी र महिला जस्ता जनवर्गीय संगठनहरू हुनेछन्।

माओवादी केन्द्रमा बढेको चुनावी सरगर्मी

पेरिशडाँडामा रहेको माओवादी केन्द्र ३ नं. प्रदेशको सम्पर्क कार्यालयमा भेटिएका जनयुद्धका घाइते गुलाफ मगर पार्टीले युद्धका घाइते र अपांगहरूलाई व्यवस्थापन गर्न नसकिरहेको आरोप लगाउँछन्। ‘गुनासो र आलोचना पछि पनि गर्दै गरौँला तर अहिले चुनाव प्रचारको लागि गाउँ जान लागेको छु’, गोली लागेको आफ्नो हात देखाउँदै उनले रोल्पा जंकोटमा चुनाव प्रचारमा जान लागेको बताए। उनी ०५४ सालमा जाजरकोटको पाँचकटिया चौकी आक्रमणका क्रममा घाइते भएका थिए।

सोही कार्यालयमा रहेका अर्का घाइते विवेक शर्माले पार्टी सदस्यता नवीकरण गरिरहेका थिए। उनी ०५२ सालमा जनयुद्ध सुरुवात गर्दाको पहिलो प्रतिनिधि कारवाही रामेछाप बेथान चौकी कब्जा गर्दा घाइते भएका थिए। कस्तो छ चुनावी माहोल? भन्ने जिज्ञासामा उनले भने, ‘पार्टी सदस्यता नवीकरण गर्न भ्याइनभ्याइ छ। ३ नं. प्रदेशमा रहेका सबै जिल्ला कमिटीको आज बैठक बसिरहेको छ।' केही दिनमै स्थानीय तहका उम्मेदवारको टुंगो हुने र पूरै पार्टी पंक्ति चुनावमा होमिने उनले बताए।

प्रदेश कार्यालयमै भेटिएका उपत्यका संयोजक झक्कुप्रसाद सुवेदी भन्छन्, ‘हामी चुनावको पूरै तयारीमा छौँ। काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यापक तयारी भइरहेको छ।' उपत्यकाका सबै स्थानीय तहमा पार्टीका भेला, बैठक र नयाँ कमिटी गठन भएकाले चुनावको सन्देश पनि गइसकेको उनको भनाइ छ।

माओवादी केन्द्रीय कार्यालयका सचिव शैलेशका अनुसार अहिले सिंगो पार्टी सदस्यता नवीकरण र संगठन एकीकरणमा लागेको छ। २ नं. प्रदेशबाहेक सबै जिल्लामा जिल्ला तह र स्थानीय तहमा पनि पार्टी कमिटी पुनर्गठन भएका छन्। २ नं. प्रदेशका अाठ जिल्लामा भने जिल्लास्तरमा कमिटी गठन हुन सकिरहेको छैन। जिल्ला कमिटी अहिले यसै पनि समन्वयकर्ता मात्र भएका छन्। जिल्ला कमिटी भन्दा तलका नगर र गाउँस्तरमा भने पार्टी कमिटी सक्रिय रहेका उनी बताउँछन्।

'नयाँ संरचनाअनुसार बनेका स्थानीय तहमा अहिले पार्टी कमीटी गठन गर्ने काम भइरहेको छ', सचिव शैलेशले भने, 'संभवत: चैतको अन्तिमसम्म ७४४ वटै स्थानीय तहमा कमिटीहरू पुनर्गठनको काम सम्पन्न हुनेछ।'

चुनाव स्थानीय तहमा हुने भएका कारण पनि स्थानीय तहमा माहोल बन्दै गएको शैलेश बताउँछन्। उनका अनुसार स्थानीय तह नै अहिले एक प्रकारले सानासाना जिल्ला जस्ता भएका छन्। स्थानीय पार्टी कमिटी नै कार्यकारी हुने भएकोले त्यो सक्रिय हुने र सिंगो चुनावी अभियान परिचालन गर्ने गरी माओवादी पार्टीले सबै तहमा निर्देशन गरेको छ।

स्वत:स्फूर्त परिचालन

पार्टीका नियमित काम कारवाहीमा सहभागी नहुने कतिपय पार्टी कार्यकर्ताहरू स्थानीय तहको चुनाव हुने कुराले हौसिएका छन्। ‘आफ्नो गाउँ र वार्डमा को उम्मेदवार हुन्छ भन्ने कुराले पनि मान्छे सक्रिय हुने रहेछ’, माओवादी पोलिटव्यूरो सदस्यसमेत रहेका शैलेश भन्छन्, 'कतै म पनि पार्टीको सिफारिसमा परी पो हाल्छु कि भनेर पनि हिजो निस्क्रिय भएका पनि आज सक्रिय भएर लागेका छन्।’ आफू उम्मेदवार नै नभए पनि आफ्नो वरपरको माहोल बनाउनका लागि कार्यकर्ताहरू कस्सिएर लागेको उनले सुनाए।

वाईसीएल, विद्यार्थी, महिला, किसान, दलितलगायतका जनवर्गीय संगठनहरू पार्टीका लागि माहोल बनाउन लागिपरेको वाईसीएलका अध्यक्ष नृपबहादुर कुँवर विवेकले दाबी गरे। चुनाव प्रचारका लागि देशैभर वाईसीएल परिचालन भएको र आवश्यक परेको ठाउँमा उम्मेदवार हुन पनि पछि नपर्ने गरी निर्देशन गरिएको पनि कुँवरले बताए। बैशाख ३१ मा हुन लागेको स्थानीय तह निर्वाचनमा बढीभन्दा बढी युवा उम्मेदवारलाई अवसर दिनुपर्ने वाईसीएलको माग रहेको पनि उनले सुनाए। वाईसीएलले स्थानीय रूपमा स्वयंसेवकको भूमिका निर्वाह गर्ने पनि उनले बताए।

नं. १ पार्टी बनाउन प्रचण्डको निर्देशन

गत जेठ ६ गते बबरमहलको कार्की पार्टी प्यालेसमा १० माओवादी घटकको एकता भेलामा प्रचण्डले उद्घोष गरेका थिए- अबको एक वर्षमा पार्टीलाई १ नं. पार्टी बनाउँछु भनेर। उनको पार्टी एकता भएको पौने एक वर्ष भइसकेको छ। यसबीचमा पार्टी एक नम्बर पार्टी बनाउन लाग्नुपर्नेमा गत साउनमै प्रचण्डले सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको वागडोर सम्हाले। यसबीचमा उनले निकै दौडधुप पनि गरे।

राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्नेदेखि लिएर भारत र चीनसँग समदूरी राख्नेसम्मको कोसिसमा लागेका प्रचण्ड मधेसी मोर्चा र एमालेको बीचमा राष्ट्रिय सहमति जुटाउन लाग्दालाग्दै पार्टी १ नं. बनाउने काममा धेरै खट्न भने भ्याएनन्। त्यति हुँदाहुँदै पनि स्थानीय तहको चुनावमा सकेसम्म १ नं. बन्ने र नभए राम्रै स्थान ल्याउने तयारीमा लाग्नका लागि आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको ६ नं. प्रदेशका संयोजक शक्ति बस्नेतले जानकारी दिए।

के गर्दै छन् प्रदेश कमिटीहरू?

अन्यत्र सबै प्रदेशका सबै जिल्लामा कमिटी गठन पुनर्गगठन गरिसकेको माओवादी केन्द्रले २ नं. प्रदेशमा रहेका अाठ जिल्लामा भने जिल्लास्तरीय कमिटी गठन पुनर्गठन गर्न सकिरहेको छैन। तर अब स्थानीय तह नै सबै हिसाबले अधिकारसम्पन्न भइसकेपछि स्थानीय तह पनि जिल्लाजत्तिकै बलियो र स्वायत्त बन्ने हुनाले स्थानीय तहमै पार्टी केन्द्रित भइरहेको माओवादी केन्द्रले जनाएको छ।

चुनावको रणनीति बुझाउनका लागि चैत १४ गते ५ नं. प्रदेशको दाङमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै माओवादी हेडक्वार्टर सदस्य एवं उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले ५ नं. मा रहेका सबै स्थानीय तहमध्ये कम्तिमा एक तिहाई अर्थात् ५० स्थानीय तहमा जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए। त्यस्तै चैत २७ गते ६ नं. प्रदेशको सुर्खेतमा आयोजित प्रदेशस्तरीय बैठकमा बोल्ने अधिकांश नेताले माहेल माओवादीमय भएको र ८२ मध्ये ५५ देखि  ६० स्थानीय तहमा आफ्नो जीत सुनिश्चित रहेको रिपोर्टिङ गरेका थिए।

कस्ताे हाेला नतिजा?

माओवादी नेता सत्य पहाडी स्थानीय तहले माओवादी केन्द्रमा मात्र होइन, सबै पार्टीमा तरंग आएको बताउँछिन्। 'जमेको पोखरीमा ढुंगा हान्दा जस्तो तरंग निस्कन्छ, त्यस्तै तरंग अहिले स्थानीयस्तरमा आएको छ', उनि भन्छिन् , 'निकै दुःखले हाम्रा एजेण्डा लागू गराउन सकेका छौं।' 

माओवादीको परिणाम कस्तो आउला भनेर चुनावमा जान लागेको नभई राष्ट्रिय स्वाधीनताको लागि चुनावमा जानुपर्ने अर्का नेता देव गुरुङको तर्क छ। 'हामीले आज नजिते भोलि जित्न सक्छौँ, तर देश नै रहेन भने पार्टी कसरी रहन्छन्?', गुरुङको टिप्पणी छ।

गाउँगाउँमा सिंहदरबारको नारा, आफ्नै पार्टीका नेता जर्नादन शर्मा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्न सफल हुनु र २० बर्षदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको वातावरण बनाउनु जस्ता लोकप्रिय नारा देखाएर जनताको मत बटुल्ने माओवादी केन्द्रको रणनीति रहेको देखिन्छ। वर्षौंदेखि जनताको माझमा बसेर जिउँदाको जन्ती र मर्दाको मलामीमा साथ दिएका एमाले, कांग्रेसका नेता र शान्ति प्रक्रियाको छोटो अवधिमा आफूलाई स्थापित गराउँदै लगिरहेका माओवादी केन्द्रका नेतामध्ये जनताले कसलाई मनपराएर कति मत दिने हुन्? यो हेर्न भने चुनावको नतिजा पर्खिनुको विकल्प छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.