|

बर्दिया : सशस्त्र द्वन्द्वको बेला २० वर्षअघि श्रीमान् गुमाएकी बर्दियाको ठाकुरबाबाकी जयन्ती शाही अझै पनि श्रीमान् फर्केर आउँछन् कि भन्ने आसमा छिन्।

घरबाट गएको २० वर्ष पुगिसक्दा पनि उनका श्रीमानको कुनै अत्तोपत्तो छैन। २०५८ सालमा देशमा माओवादी सशस्त्र विद्रोह चलिरहेका बेला किनमेलका लागि स्थानीय बजार ठाकुरद्वारा गएका जयन्तीका श्रीमान् त्यहीँबाट बेपत्ता भए।

राज्यले उनको श्रीमानलाई बेपत्ताको सूचीमा राखेको छ। नत श्रीमानको अवस्था पत्ता लागेको छ नत राज्यबाट कुनै सहयोग नै उनले पाएकी छिन्। आर्थिक समस्या मात्रै होइन उनलाई सामाजिक समस्या र मानसिक तनाव पनि बेहोर्नु परेको छ।

उनी जस्तै जमुनादेवी बुढाले पनि श्रीमान् पर्खेको दशकौँ भइसक्यो। २०५८ सालमा सेनाले बेपत्ता पारेको भनिएका ठाकुरबाबा–८ सुतैयाकी जमुनाका श्रीमान अमरबहादुरको अवस्था पनि अझै अज्ञात छ। न लाश छ, न सास छ, अहिलेसम्म बेपत्ता पारिएका आफ्ना श्रीमानको कारण तनावमा परेकी जमुना भन्छिन्,‘कि त आफ्नो मान्छे देख्न पाउनुपर्‍यो, कि त किरिया गर्न पाउनुपर्‍यो।’

जयन्ती र जमुना जस्ता श्रीमानको सास र लाशको आशमा बस्ने पीडितहरू नेपालमा धेरै छन्। उनीहरूको जस्तै चर्को दुःख छ, कतिपय बेपत्ताका श्रीमतीलाई। यसरी बेपत्ता पारिएका मानिसका आफन्त र परिवारमा काजकिरिया गर्न नपाउनुको अन्योल त छँदैछ, अर्कातिर सामाजिक कलह पनि निम्त्याएको छ।

द्वन्द्वमा सबैभन्दा बढी नागरिक बेपत्ता भएको जिल्लामा बर्दिया पर्छ। बेपत्ता आयोगमा बर्दियाबाट २ सय ६६ जना पीडितले उजुरी दिएका जनाइएको छ। बर्दियामा बेपत्ता हुने सबै २ सय ७६ परिवार र मृत्यु भएका ३ सय ९९ परिवारमध्ये अधिकांश परिवारसहित देशैभरका पीडित परिवारले उनीहरूको जस्तै अवहेलना पीडा र कलह भोग्नुपरेको छ।

सरकार आफ्नो स्वार्थमै अल्मलिएका कारणले पनि बेपत्ता परिवारका समस्या समाधान गर्न नसकेको गुनासो पीडितको छ। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता छानबिन आयोगमा पीडित परिवारले दिएको उजुरीअनुसार नेपालभर ३ हजार २ सय २० जना व्यक्तिलाई बेपत्ता पारिएको छ। आयोगले उजुरी परेका २ हजार ५ सय २९ जनाको अनुसन्धान भइरहेको जनाएको छ।

द्वन्द्वका क्रममा धेरै मानिस राज्य र विद्रोही पक्षबाट हत्या भए, बेपत्ता पारिए। अहिले पनि कतिपय व्यक्तिको अवस्था दुवै पक्षले सार्वजनिक गरेका छैनन्। अहिले पनि पीडित परिवार आफ्ना परिवारका सदस्यको वास्तविक अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलनमै छन्।

२०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो। १० वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने कम्तीमा १४ सय बेपत्ता भए। बाँके र बर्दियामा सशस्त्र द्वन्द्वका बेला घरबाट तथा विभिन्न ठाउँबाट मानिसहरू समातेर बेपत्ता पारी हत्या गरेको घटनाहरूमा अहिलेसम्म कारबाही भएको पाइँदैन।

कतिपय घटनाको उजुरी अहिलेसम्म दर्ता भएको छैन भने दर्ता भएका उजुरीमा अनुसन्धान गरी अदालत पुर्‍याइएको छैन। यस्तै बेपत्ताहरूको अवस्था पत्ता लगाउन ढिलाई भएको र बेपत्ता परिवारका मानिसमा राज्यबाट पाइने सेवा सुविधाबाट वञ्चित भएको भन्दै बेपत्ता परिवारका सदस्य र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठबीच अन्तक्रिया भएको छ।

न्यायको लागि गठित द्वन्द्व समिति बर्दिया र द्वन्द्वपीडित महिला संजालको आयोजनामा अन्तक्रिया गरिएको सदस्य धनिराम थारूले जानकारी दिए। नगरप्रमुख श्रेष्ठले पीडितका छोराछोरीलाई पढाउने र सीपहरू सिक्न चाहेको अवस्थामा सीप सिकाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.