|

म्याग्दी : सुविधा र सडक पर्यायवाची जस्तै हुन्। तर,हिमाली जिल्ला म्याग्दीका जनताले भने सडकबाट सुविधा कम र सास्ती ज्यादा पाएका छन्।

सडक खनेपछि गाडी गुड्लान्, घरदैलोमा नै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु र गाह्रो साह्रो पर्दा छिट्टै समस्याबाट मुक्ति पाइएला भनेर खुसी भएका म्याग्दीबासीलाई अप्ठ्यारो परेको बेला सडकका कारण झन बढी सास्ती पाउन थालेपछि अहिले दिक्क मान्न थालेका छन्।

बाढी र पहिरोका कारण जेठको पहिलो सातादेखि नै अवरुद्ध भएका म्याग्दीका मुख्य तथा ग्रामीण सडकहरु चार महिना बित्नै लाग्दा पनि अझैसम्म नियमितरुपमा संचालन हुन नसक्दा यहाँका जनता सास्ती खेप्न बाध्य भएका हुन्।

जेठको पहिलो सातादेखि नै शुरु भएको वर्षा र त्यस पछि विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण जिल्लाका बेनी–दरबाङ, बेनी–बागलुङ, बेनी–जोमसोमजस्ता मुख्य  सडक अझैसम्म पनि नियमितरुपमा संचालन हुन नसक्दा भरिया र खच्चडको भरमा यहाँका वासिन्दाहरु दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न बाध्य भएका छन्।

केही दिन देखियता परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य तीन वटासहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ, बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन्।

यी तीनवटै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ। बेनी दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भिर र मालिका गाउँपालिका–६ वाङ्गे पहिरोस्थित सडक माथिबाट ढुङ्गा माटो लेदोसहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार अन्नपूर्ण गाउँपालिका १३ गुईठे , रुप्से छहरा र काभ्रेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको छ।

उता बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी– बागलुङ सडक भसभसेको पहिरोले अवरुद्ध बनेको छ। ढुङ्गा,लेडो र हिलोका कारण विभिन्न ठाउँमा सवारी साधन फसेको छन्।

सडक अवरुद्ध हुँदा आवत जावत, निर्माण, दैनिक उपभोग्य सामाग्री ढ्वानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलु लगायतका कृषि उपज निकासीमा समस्या भएको छ। सम्बन्धित पालिका , प्रहरी , बेनी जोमसोम कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास गरेपनि बर्षा नरोकिएकाले सफल भएको छैन।

सडककै कारण बाढी र पहिरो

यस वर्ष म्याग्दीका २७ स्थानमा सानाठूला गरी तीन दर्जन बढी पहिरो गएको छ। विभिन्न खहरे तथा  खोलाहरुमा बाढी आउँदा म्याग्दी,कालीगण्डकी र रघुगंगा गरी तीनवटा जलाधार क्षेत्रका तटीय वस्तीहरु जोखिममा परेका छन्।

एक साताअघि बेनी नगरपालिका वडा नं ३ दुधेखोलामा बाढी आउँदा घर जग्गा र पशुचौपयाँ सहित ठूलो क्षति भयो। मध्यरात पछि दुधेखोलामा आएको बाढीका कारण कोप्रे र दुधेखोला वस्तीका ४० भन्दा बढी घर परिवार उच्च जोखिममा रहेका बेनी नगरपालिका वडा नं ३ का वडासदस्य गेमबहादुर घर्ती मगरले बताए।

त्यसैगरी गत आइतबार पहिरोका कारण जिल्लाको मालिका गाउँपालिका र मंगला गाउँपालिकामा गरी ८ घर परिवार विस्तापित भए। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका गाउँपालिका ७ बिममा ७ र मंगला गाउँपालिका ५ अर्मनको ज्यामिरेमा एक घर परिवार विस्थापित भएका हुन्। सात परिवारका २४ जनालाई सुरक्षित ठाउँमा सारियो।

यता, सदरमुकाम बेनीसंगै सीमाना जोडिएको जलजला गाउँपालिका ३ माटेपानीको पहाडबाट कालीगण्डकीमा परिहो खरेर म्याग्दी तर्फको कालीपुलमा छाल पस्दा सोमबार विहान ६ घरमा क्षति पुग्यो भने २७ जना विस्थापित भए।

गाउँको शिरान र पुछारमा वातावरणीय मूल्याङ्कन नगरिकनै जथाभावी खनिएका सडकका कारण वर्षेनी विनाब हुने क्रम बढ्दै गएको जिल्लाका सरोकारवालाहरुले बताएका छन्। उनीहरूका अनुसार सडकका कारण सुविधा कम र क्षति बढि हुन थालेपछि स्थानीयहरू चिन्तित हुन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.