एउटै म्यानपावरबाट ५१ जना ठगिए
एउटै म्यानपावरबाट ५१ जना ठगिए
काठमाडौं : बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको परिसरमा बिहीबार मध्याह्न हातमा कागजपत्रको फाइल बोकेर युवाहरूको घुइँचो थियो। सोही घुइँचोमा नुवाकोटका कुमार तामाङ भेटिए।
आर्थिक अवस्था सामान्य भएका कुमारले साथीभाइसँग ऋण लिएर कुवेत जान समद ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालक विवेक चालिसेलाई डेढ वर्षअघि एक लाख रुपैयाँ बुझाएका थिए। तर‚ रकम बुझाएका उनले न विदेश जान नै पाए न पैसा नै फिर्ता पाए।
कुमारले भने, ‘त्यही एक लाख रुपैयाँ उठाउनका एक वर्षदेखि धाइरहेको छु। विदेश जान पाइनँ। आफूले तिरेको पैसा पनि फिर्ता लिन सकेको छैन।’
समद ओभरसिजका चालिसेले दुई पटक चेक दिए पनि नसाटिएको कुमारले बताए। ‘नबिल बैंक लिमिटेडको चेक दिएका थिए। चेक चार महिनासम्म पनि साटिएन‚’ उनले भने‚ ‘फेरि कुमारी सेभिङ एण्ड क्रेडिट अपरेटिभ लिमिटेडको चेक दिए। त्यो पनि हालसम्म साटिएको छैन।’
चालिसेले दिएका त्यही चेक फाइलमा बोकेर कुमार विभाग आएका रहेछन्। उनले एक साताअघि पैसा फिर्ता पाउँ भन्दै विभागमा उजुरी दिएका रहेछन्। विभागले बोलाएकाले उनी त्यहाँ पुगेका रहेछन्।
समद ओभरसिजलाई नै रकम दिएर विदेश जान नपाएका विकास घले पनि विभाग परिसरमा भेटिए। उनले ओभरसिजलाई एक वर्षअघि एक लाख रुपैयाँ बुझाएका थिए।
ऋण तिर्ने विदेश जान ऋण गरेर उनले ओभरसिजलाई रकम दिएका थिए। सोही ऋणको ब्याज बढेर साढे एक लाख पुगे पनि उनी वैदेशिक रोजगारमा जान पाएका छैनन्।
‘मेनपावरलाई एक वर्षअघि ऋण काढेको एक लाख बुझाएको थिएँ। त्यो पैसा बढेर १ लाख ६० हजार पुगिसक्यो‚’ उनले भने‚ ‘एकातिर ऋण लिएको पैसा तिर्न सकेको छैन। अर्कातिर पैसा उठाउन आउन जानमै खर्च बढिरहेको छ।’
मेनपावरले पटकपटक पैसा दिन्छु भन्दै झुक्याएको उनले गुनासो गरे।
विभागमा कुमार र विकासजस्ता कयौं युवाहरु भेटिए। उनीहरुलाई म्यानपावरले विदेश पठाइदिने भनेर रकम लिए पनि नपठाएकाले रकम उठाइ माग्न सरकारी निकाय विभाग पुगेका रहेछन्।
कुमारले २०० जनालाई समद ओभरसिजबाट मात्र ठगिएको बताए। यसबारे विभागले कुनै चासो नदिएको उनको आरोप छ। ‘३७ जनाले एक साथ उजुरी दिएका थियौं‚’ कुमारले भने‚ ‘तीमध्ये कसैको ५० हजार कसैको एक लाख ठगी गरेको छ।’
एउटै संस्थाबाट ५१ जनाको ठगी
वैदेशिक रोजगार विभागमा ठगीका उजुरी दिने धमाधम बढिरहेका छन्। चालु आर्थिक वर्षको एक महिनामा ३२ वटा ठगीका उजुरी दर्ता भएका छन्। जसबाट ९४ लाख बिगो दावीको उजुरी परेको हो।
समद ओभरसिज प्राइभेट लिमिटेडले ५१ जनालाई ठगेको उजुरी विभागमा परेको वैदेशिक रोजगार विभागका शाखा अधिकृत दीपेन्द्र शाहीले जानकारी दिए।
समदका सञ्चालक विवेक चालिसेले कुवेत लैजाने भन्दै ठगी गरेको पाइएकाले स्पष्टीकरण सोधिएको विभागको भनाइ छ।
‘विदेश पठाउन भन्दै लिएको पैसा फिर्ता गर्न आदेश दिएका छौं‚’ शाखा अधिकृत शाहीले भने‚ ‘उक्त कम्पनीले दुई करोड रुपैयाँ धरौटी रकम राखेको छ। नतिरे त्यसबाट कटाएर पीडितलाई दिन्छौं।’
१० दिनभित्र सबै पैसा फिर्ता गर्छु : चालिसे
समदका सञ्चालक चालिसेले कुवेतका लागि भिसा लागि सकेपछि पनि लकडाउन भएकाले उनीहरु जान नपाएको प्रष्टिकरण दिए।
उनीहरुले विभागमा उजुरी दिएकाले बुधबारदेखि नै रकम फिर्ता गर्ने काम भइरहेको उनको दाबी छ। अबको १० दिनमा सबै पैसा फिर्ता गर्ने चालिसेले बताए।
६ अर्ब ठगीको उजुरी
६ वर्षको अवधिमा करिब ९ हजार युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ६ अर्ब २९ करोड ९४ लाख ४७ हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।
उक्त अवधिमा विभागले पीडितलाई करिब तीन अर्ब रुपैयाँ क्षतिपूर्ति भराउन सफल भएको छ। यस्तै चार हजार ३८६ वटा उजुरी फर्छ्योट गरेको विभागले जनाएको छ।
कुन वर्षमा कति उजुरी?
विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा दुई हजार १७२ वटा उजुरी दर्ता भएको थियो। जसमा ५२० वटा फर्छ्योट भएको विभागले जनाएको छ।
यसैगरी आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ३८३ वटा उजुरी परेकोमा ८८७ वटा फर्छ्योट भएका थिए। यस्तै, आर्थिक २०७४/७५ मा दुई हजार १२९ वटा उजुरी विभागमा परेको थियो। जसमध्ये १ हजार २८ वटा मुद्दा फर्छ्योट गरेको विभागले जनाएको छ।
आर्थिक वर्ष २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरी दई हजार ३९ वटा उजुरी रोजगार पीडितले दर्ता गरेका छन्। २०७६/७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी दुई हजार तीनवटा उजुरी विभागमा परेका थिए।
२०७७/७८ मा रोजगारीका नाममा ठगिएका ३४९ वटा संस्थागत र व्यक्तिगत ४३१ वटा उजुरी विभागमा परेका छन्। गत आर्थिक वर्षमा १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएको विभागले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।