असोज ४ पछि नयाँ आवेदकलाई पालाे दिइने

|

काठमाडौं : यातायात व्यवस्था विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा गरिएकाे छ। 

सवारी अनुमतिपत्रकाे लिखित परीक्षाका लागि विभागले पाँच सयवटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्ने छ। त्यही भित्रबाट मात्रै प्रश्न साेधिने व्यवस्था कार्यविधिमा गरिएकाे छ।

जसमा प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चार/चार अंकका जम्मा २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिने छन्।

देशैभरि निर्देशिका लागु

विभागका प्रवक्ता लोकनाथ भुसालले निर्देशिका देशैभरि लागु भइसकेको बताए। उनले भने,‘अब परीक्षार्थी तीन-चार वटा गल्ती गर्दा पनि पास हुन्छ,यो निर्देशिका लागु भइसकेको छ,अबदेखि ट्रायल सञ्चालन गर्दा यहीअनुसार गर्नुपर्ने छ,प्रश्नहरू हाम्रो वेवसाइटमा राखिएको छ, त्यहाँ हेर्न सकिने छ।’

कोभिड-१९ ले रोकिएको सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि ‘ट्रायल’ भदौ २० गतेबाट सञ्चालन हुदैछ। तर आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा दिनेहरू, लिखित परीक्षा दिएर प्रयोगात्मक (ट्रायल) बाँकी रहेका परीक्षार्थीले ट्रायल दिन पाउने छन्।

यसअघिको ट्रायलमा अनुत्तीर्ण भएका आवेदकहरू र वर्ग थपका लागि राजस्व बुझाइसकेकाहरूले ट्रायल दिन पाउने यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्रले जनाएको छ। तर नयाँ आवेदकका लागि भने ट्रायल खुलाएको छैन। 

असोज ४ गतेपछि नयाँ आवेदकलाई पालाे दिइने

पुराना परीक्षार्थीको काम सकिएपछि मात्रै नयाँ आवेदकलाई पालो दिने विभागका प्रवक्ता भुसालले बताए। ‘पहिला कोही परीक्षा दिएर प्रयोगात्मक दिन नपाएका पुरानालाई सेवा दिइन्छ, उनीहरूको सकेपछि मात्रै नयाँ फर्म भर्नेलाई स्थान दिइन्छ, सम्भवत असोज ४ गतेपछि नयाँकाे पनि पालो आउँछ।’ विभागका अनुसार सवारी चालक अनुमतिपत्रका लागि निषेधाज्ञाअघि करिब ७ लाखले आवेदन दिएका छन्।

लिखित र प्रयोगात्मक परीक्षा दिँदा परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू

-लिखित परीक्षाको समय ३० मिनेट हुने छ।
-लिखित परीक्षामा न्युनतम ६० अंक प्राप्त गर्ने उत्तिर्ण हुने।

प्रयोगात्मक परीक्षणका चरण
-घुमाउरो आठ परीक्षण
-साँघुरो फलेक
-घुम्ती परीक्षण
-ट्राफिक संकेत परीक्षण
-उबडखाबड (स्पीड ब्रेकर) परीक्षण
-उकालो परीक्षण
-व्यवहारगत पक्षको परीक्षण

के गल्ती गर्दा कति नम्बर घट्छ ?

-घुमाउरो आठ (अङ्कभार २०) मा एक पटक सम्म अंकित रेखा छोएमा ५ नम्बर घट्ने
-एक पटक सम्म खुट्टा भुँइमा टेकेमा ५ नम्बर घट्ने 

घुमाउरो आठमा अनुत्तीर्ण घोषणा गरिने अवस्था
-एक पटक भन्दा बढी अंकित रेखा छोएमा
-सवारीको टायर अंकित रेखा बाहिर गएमा
-एक पटक भन्दा बढी खुट्टाले भुँइ टेकेमा
-ठिक दिशा वा ठिक तरिकाबाट आठ आकार नबनाएमा
-सवारीको स्टार्ट बन्द भएमा

साँघुरो फलेक (अङ्कभार १०) मा अनुत्तीर्ण घोषणा हुने अवस्था

-खुट्टा भुँइमा टेकेमा
-फलेकको लम्बाइ पार गर्न अगावै सवारी फलेकबाट बाहिर निस्केमा

यू टर्न (अङ्कभार १०) मा नम्बर घट्ने अवस्था

-टर्निङ इन्डिकेटर लाइट नबालेमा १० नम्बर घट्ने

यू टर्नमा अनुत्तीर्ण घोषण हुने अवस्था

-अंकित रेखा छोएमा
-ट्राफिक संकेत (अङ्कभार १५) मा ट्राफिक संकेतको पालना नगरेमा १५ नम्बर काटिने

बम्प्स (उबडखाबड, अङ्कभार १५) मा नम्बर घट्ने अवस्था

-एक पटकसम्म खुट्टा भुँइमा टेकेमा ५ नम्बर घट्ने
-एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पाँच नम्बर काटिने

बम्प्स (उबडखाबड) मा अनुत्तीर्ण घोषणा हुने अवस्था
-एक पटक भन्दा बढी खुट्टाले भुँइमा टेकेमा

र्‍याम्प (उकालो,अङ्कभार २०) अनुत्तीर्ण घोषणा अवस्था
-तोकिएका रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा
-रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्च भन्दा बढी पछाडि सरेमा
-उकालो पारगरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा
-एक पटक भन्दा बढी सवारीको स्टार्ट बन्द भएमा

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन (अङ्कभार १०) मा नम्बर घट्ने अवस्था
-सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ नम्बर काटिने
-हेल्मेटको लक नलगाई सवारी चलाएमा चार नम्बर काटिने 
-अस्वभाविक गतिमा सवारी चलाएमा ३ नम्बर काटिने
यी सबै प्रयोगात्मक पूर्णाङ्क १०० रहेको छ। यसमा ७० ल्याएमा उत्तीर्ण हुने विभागले जनाएको छ।

कार/ जिप/डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षा :

घुमाउरो आठ (अङ्कभार २०) मा अंक घट्ने अवस्था 
-दुई पटक सम्म अंकित रेखा छोएमा प्रत्येक पटक पाँच नम्बर काटिने
-घुमाउरो आठमा अनुत्तीर्ण हुने अवस्था 
-दुई पटक भन्दा बढी अंकित रेखा छोएमा
-सवारीको टायर अंकित भन्दा बाहिर गएमा 
-ठिक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा
-अगाडी बढ्ने क्रममा सवारीलाई पछाडि तिर सारेमा

उबडखाबड (स्पीड ब्रेकर,अङ्कभार १०) मा नम्बर काटिने अवस्था
-एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा ५ नम्बर काटिने र एक पटक भन्दा बढी स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषित हुने

यू टर्न (अङ्कभार १०) मा नम्बर घट्ने अवस्था
-टर्निङ इन्डिकेटर लाइट नबालेमा १० नम्बर काटिने

यू टनमा अनुत्तीर्ण घोषित गर्ने अवस्था
-अंकित रेखा छोएमा

ट्राफिक संकेत (अङ्कभार १५) मा नम्बर काटिने अवस्था
-ट्राफिक संकेतको पालना नगरेमा १५ नम्बर काटिने

र्‍याम्प (उकालो,अङ्कभार १५) मा अनुत्तीर्ण घोषित हुने अवस्था
-तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नराेकी अगाडि बढेमा
-रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्च भन्दा बढी पछाडि सरेमा
-उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा
-एक पटक भन्दा बढी सवारीको स्टार्ट बन्द भएमा

ग्यारेज पार्किङ (अङ्कभार २०) गर्दा नम्बर घट्ने अवस्था
-सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सेरमा १० नम्बर काटिने

ग्यारेज पार्किङ गर्दा अनुत्तीर्ण घोषित गर्ने अवस्था
-सवारीलाई पछाडि गुडाउने क्रममा एक पटक भन्दा बढी अगाडि सारेमा
-अंकित रेखा छोएमा

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मुल्यांकन (अङ्कभार १०) बाट नम्बर काटिने अवस्था
-सवारी चलाउनु पूर्व सवारीको ब्रेक टायर र ऐनाहरूको सामान्य परीक्षण नगरेमा ३ नम्बर काटिने
-सिट बेल्ट नलगाई सवारी चलाएमा ४ नम्बर काटिने
-अस्वभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ नम्बर काटिने 

यी माथिका सबैको पूर्णाङ्क १०० छ भने भने उत्तीर्णाङ्क ७० रहेको विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.