|

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसिसीबारे उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसिसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएकाले नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताएका हुन्।

एमसिसी सैन्य प्रयोजनको लागि सम्झौतामा उल्लेख नै नभएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडी बढ्ने उनले उल्लेख गरे। उठेका आशंकालाई स्पष्ट पार्न सरकारले अमेरिकी सरकारसमक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास व्यक्त गरे।

उनले भने,‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो। हामी विदेशबाट ऋण पनि लिन्छौ। ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ। कामदार पनि आउँछन्। यो चाहिँ अनुदानमा आएको आयोजना हो।

हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ। अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ। सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइँदैन भन्ने उल्लेख नै छ।

धेरैले सम्झौता राम्रोसँग नपढेको भन्दै उनले वास्तविक भन्दा प्रचार धेरै भएको बताए। त्यस विषयमा अमेरिकी सरकारले अवश्य स्पस्ट पार्ने उनले विश्वास व्यक्त गरे।

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धन दलहरु नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए। मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् बिस्तार हुने बताए। नेपाली कांग्रेसभित्र भने मन्त्रीको विषयमा समस्या नरहेको पनि उनले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.