|

नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा छ। यसबेला कांग्रेस कहिले लन्च मिटिङ गर्छ‚ कहिले अनसन बसेर रमित देखाउँछ। पार्टीको सम्पर्क कार्यालय छ कि छैन। तर नेतैपिच्छे सम्पर्क कार्यालय खोल्छ।

यस घडीमा पार्टीका वीपी कोइरालाबारे एउटा पर्चा छापेर वितरण गर्दैन। कार्यकर्ताको भर नभएर होला जोगी सन्यासीहरूबाट भावी अध्यक्ष सुनिश्चित गर्न आशीर्वाद थाप्छ।

महाधिवेशनको सम्मुख पार्टीका नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशा सम्बन्धमा कुनै छलफल, चर्चा, परिचर्चा र बहस गर्दैन। मेलमिलाप दिवस मनाउँछ तर त्यसको विगत कालको मर्म र देश धराप पर्न लागेका बेला त्यसको सापेक्षता केलाउँदैन।

केवल ओली र नेकपा (एमाले) लाई सराप लेखोट भनोट गरेर पार्टी उँभो लाग्दैन भन्ने कांग्रेसकै बुद्धिजीवी, लेखक र विश्लेषक बुझ्दैनन् । अझ यसको मतलब देउवा कांग्रेस त झन् जान्दैन।

जननेता मदन भण्डारीले बहुदलीय शासन प्रणालीमा कम्तीमा एउटा मात्र भए पनि  लोकतान्त्रिक तथा देशभक्त विपक्षी पार्टी चाहिन्छ भन्नुभएको थियो। विचार सिद्धान्तमा फरक भए पनि देश, जनता र जनजीविकाको हितलाई केन्द्रमा राख्ने दूरदर्शी विपक्षी पार्टी देशको अपरिहार्य आवश्यकता हो। मदनले त एमालेको विपक्षमा कार्यनीतिका सबालमा भिन्न मतावलम्बी कम्युनिस्ट पार्टी नै पनि प्रतिस्पर्धी हुँदा पनि फरक पर्दैन भन्ने धारणा राख्नु हुन्थ्यो। तर नाम मात्रका आवरणधारी कम्युनिस्टहरू नै कम्युनिस्टलाई समाप्त पार्न कसम खाएर लागेको अवस्था अहिले टड्कारो बनेको छ।

यो लेखकलाई देशमा लोकतान्त्रिक शक्ति सन्तुलन असन्तुलित नहुनका लागि कांग्रेस कांग्रेस जस्तो होस् भन्ने लागेको छ। यस कारण कांग्रेस पार्टी समग्र पुनर्गठन हुनु जरुरी देखिन्छ। वीपीको विरासत थाम्ने आश र भरलाग्दो कोइराला बन्न सकेन। बनाउँदा बन्थ्यो तर यतिका वर्ष बित्दा पनि कसैले  पनि आफैँले आफूलाई निर्माण गर्न चाहेको देखिएन।

यस अवस्थामा वैचारिक नेता नरहरि आचार्यको बिँडो थाम्ने  मनमोहन भट्टराई, डा. चन्द्र भण्डारीजस्ता नेताको खाँचो नेकामा देखिन्छ। तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ देउवा कांग्रेस उल्टो बाटो  हिँडिरहेको देखिन्छ। पार्टीमा लामो समयदेखि लगन र लगानी गरेका राजनीतिक संस्कारी नेताहरूमा विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह छन्।

सिद्धान्त, सिर्जना र संगठन जस्ता त्रिआयामिक सवल भूमिकाबिना नेता हुन सकिन्न। भए पनि काम चलाउ मात्र हुन्छ। यस्तो नहुँदा ‘हंशमध्ये बको यथा’ जस्तै हुन्छ। एमाले पार्टीमै पनि ओली जस्तो नेता बन्न र बनाउन बेलैमा प्रयत्न नगरे यसको भविष्य छरपस्ट देखिन्छ। घिसेपिटे, घस्रिने र पिपलपाते नेताले पार्टी र देशको नेतृत्व  सहज रुपमा थाम्नै सक्तैन।

यस अवस्थामा वैचारिक नेता नरहरि आचार्यको बिँडो थाम्ने  मनमोहन भट्टराई, डा. चन्द्र भण्डारीजस्ता नेताको खाँचो कांग्रेसमा देखिन्छ। तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ देउवा कांग्रेस उल्टो बाटो हिँडिरहेको देखिन्छ। पार्टीमा लामो समयदेखि लगन र लगानी गरेका राजनीतिक संस्कारी नेताहरूमा विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह छन्।

कांग्रेसका धेरै खालका कमजोरीका कारण एमालेलाई लाभैलाभ भएको छ। यसो त एमाले यो मुलुकको एउटा प्रमुख राजनैतिक संस्कारयुक्त पार्टी हो। माले‚ एमाले पार्टीलाई कांग्रेस केही नेताले फरेवी तरिकाले  खेदो पाइलो गर्दा एमालेलाई लाभ नै भएको छ। 

एमालेविरुद्ध अनेक अनर्गल प्रचार जनताका बीचमा गर्दा त्यसको सैद्धान्तिक र नौ महिने सरकारमार्फत् व्यावहारिक प्रतिवाद गरेर आम जनतालाई एमालेले आफूसित संन्निकट गरायो। यस सरकारलाई सर्वोच्च अदालतका न्यायमूर्तिमार्फत् अपदस्थ गराउँदा एमालेको अरु प्रभाव र आकर्षण बढ्यो। यसले जनतामा एमालेको बहुमतको सरकार हेर्ने चाहना बढ्यो।

हुँदाहुँदा देश र जनताका हितमा अभूतपूर्व काम गरेको ओली सरकारलाई विभीषणहरू समेत प्रयोग गरेर अपदस्थ गरे। तर पनि विगत सरकारले गरेका राम्रा कामहरू उल्ट्याउने बाहेक जनताको मन जित्ने राम्रा गर्ने कुनै सम्भावना भएन। अझ कांग्रेसका कारण एमाले नै जनताका बीचमा लोकप्रिय हुने निश्चित देखिन्छ।

पार्टी एकढिक्का भएर राम्रा कामहरू देशव्यापी रुपमा प्रचार मात्र गर्ने हो भने सय थुकी नदी भनेझैँ एमाले विरोधीहरू देशी मात्र होइन विदेशी समेत समाप्त हुने अवस्था देखिन्छ। त्यसैले  अहिले आफ्नै घर खरानी बनाउनेका भर परेर  देउवा कांग्रेस आफ्नो घर बलियो बनाउने सोम शर्माको सातनु सपनामा रमाइरहेको देख्दा अचम्म लाग्छ।

भोलिका दिनमा ओली एमाले नै भरपर्दो लोकतान्त्रिक साथी र सहयात्री हुने निश्चित छ। किनभने एमालेका लागि कांग्रेस नहुनु मामा भन्दा ...मामा निको लाग्छ। गठबन्धन सरकारको नेतृत्व गरेको अहिलेको देउवा सरकारले कुनै पनि सकारात्मक परिणाम दिन सक्तैन मात्रै होइन अझ कांग्रेस अझ कमजोर हुने देखिन्छ भने एमाले बुद्धि पुग्यो भने अझ सबल हुने निश्चित छ।

कम्युनिस्ट र अझ एमाले ओलीलाई सराप्ने कांग्रेसजस्तै एमाले बुद्धिजीवीले कांग्रेसलाई तथानाम गर्छन् जस्तो लाग्दैन। गर्छन् भने  ती राजनीतिक संस्कारी कम्युनिस्ट होइनन्। हाम्रा पुर्खाले कुरा बाझ्नु मान्छे नबाझ्नु भनेझैँ पार्टी अध्यक्ष ओलीले आफूमाथि फरेबी तरिकाले आक्रमण गर्दा विरोधीको मुखै टाल्ने गरी जवाफ फर्काउनु हुन्छ। यो कुरा कांग्रेसी र त्यसका समर्थक बुद्धिजीवीहरूलाई असह्य हुन्छ र बर्बराउँछन्। किनकि तर्क सकिए पछि मानिस  खुब रिसाउँछ।

राजनीतिक विश्लेषक पुरुषोत्तम  दाहालले एक अन्तर्वार्तामा कांग्रेसले १४ औँ महाधिवेशनका बेला पार्टीको नीति, सिद्धान्त कार्यक्रम र कार्यदिशा आदिलाई बेवास्ता गरेको बताए। तर पार्टी विधानको प्रस्तावनामा नै कांग्रेसलाई नेता प्रधान बनाएको देखीदेखी त्यसैमा परिमार्जन गर्नुपर्ने देख्दैनन्। किनकि विधानमा वीपीदेखि हालसम्मका पार्टी अध्यक्षको केवल प्रशस्ती उल्लेख गरिएको छ।

कुनै पनि पार्टीको नाक वा इज्जत उसको नीति, सिद्धान्त र आचरणमा हुन्छ। यही गुदी कुरामा धमिरा लागेपछि नाक नाक रहँदैन केबल मुख मात्र रहन्छ। त्यसले भविष्य देख्दैन केवल भात मात्र देख्छ। यही कारण देउवा कांग्रेस निरपराध जयसिंह धामी भारतीयका कारण मारिँदा मुख सिएर बसेको छ।

पहिले त विधानको प्रस्तावनामा नै परिमार्जन हुनुपर्‍यो। कांग्रेसका बुद्धिजीवीले नै कुनै पनि फोरमबाट महाधिवेशनका सम्मुख नीतगत बहस गर्दा पनि हुने हो। प्राप्त उपलब्धि जोगाउने दिशामा प्रमुख पार्टीहरू एकतावद्ध हुनुपर्ने अवस्था अहिलेको टड्कारो विषय हो।

यस मुलुकमा कांग्रेस र एमाले नै दुई प्रमुख राजनैतिक शक्ति देखिएका छन्। यिनमा नै कम्तीमा राजनैतिक लाज राखेर काम गर्ने अवस्था नआउँदा जनतामा निराशा व्याप्त हुनेछ। देखासिकी गरी खा भनेझैँ उपर्युक्त यी पार्टीहरूका गुण दोष एक अर्कामा सर्ने सम्भावना हुन्छ। राम्रा गुण सरे त राम्रै हुन्थ्यो।

कांग्रेसले जतिसुकै मुख बजाए पनि एमाले जत्तिको लोकतान्त्रिक हुन सकेको छैन। यसले नौ महिने लोकप्रिय सरकार र ओली नेतृत्वको सरकारले गरेका काममध्ये चौथाइ काम पनि गर्न सक्तैन। किनभने कांग्रेसका विषयमा धानको चिह्न परालबाटै बुझिन्छ भनेझैँ आम जनताका बीच स्पष्ट छ।

कुनै पनि पार्टीको नाक वा इज्जत उसको नीति, सिद्धान्त र आचरणमा हुन्छ। यही गुदी कुरामा धमिरा लागेपछि नाक नाक रहँदैन केबल मुख मात्र रहन्छ। त्यसले भविष्य देख्दैन केवल भात मात्र देख्छ। यही कारण देउवा कांग्रेस निरपराध जयसिंह धामी भारतीयका कारण मारिँदा मुख सिएर बसेको छ।

यही भाद्र १३  विष्णु सापकोटा नामका लेखकले एमाले विरोधी बिलकुल परेवी  लेखोट लेखेको देखेर हाँसो उठ्यो। आफू समर्थित पार्टीलाई सपार्न लेख लेख्न छाडेर सदासर्वदा ओलीलाई एकोहोरो तीर हानेर पार्टी बन्दैन भन्ने थाहा नभएर बौद्धिकताका नाममा यति दरिद्र लेख छापिइरहन्छन्। केही लेखक तथा बुद्धिजीवी भिन्न विचार र अझ कम्युनिस्टप्रति अत्यन्त सहिष्णु भावनाका छन्। तिनमा अति सामान्य लोकतान्त्रिक चरित्र नै पाइन्न। 

प्रदीप गिरीजस्ता बौद्धिक मानिएका नेता  एमाले र ओलीप्रति इर्ष्याजन्य मनोगत रोष र द्वेष प्रकट गर्छन्। यस्ता भावना प्रवाह गरेपछि भुइँतहमा राजनीतिक सद्भाव खल्बलिने खतरा हुन्छ। यसको परिणाम कति खतरनाक हुन्छ भन्ने तिनले बुझ्छन् बुझ्दैनन्‚ थाहा छैन। द्रोपदीको एउटा बोलीले महाभारत भयो भन्ने बुझ्नुपर्छ।

हालै झापा जिल्लामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमाको घाँटी रेटियो र छिनालियो। नेपाली समाजमा जात, जाति, संस्कृति र राजनीति आदिका नाममा एक अर्काका राम्रा कुरा केही नदेख्ने र आपसमा जुन खालको कटुता,इर्ष्या र द्वेष अझै कम भएको देखिन्न। देशमा जाति कुरा, जाति मानिस, जाति कवि, जाति नेता देखिनसहने नेपालीको बानी छ। सबैलाई नाक, मुख र नश्लका आधारमा हेर्न थालेपछि र यस खालको कुसंस्कार हावी हुँदा कसैले गरेको राम्रो काम राम्रो देख्न सकिन्न।

कुनै पनि क्षेत्रको असल नेपालीको चरम रिस,डाह र इर्ष्या गर्ने प्रवृत्तिको सिकार महाकवि देवकोटा हुनुभएको स्पष्ट हुन्छ। यस्तै डाहको सिकार एक समय  जननायक वीपी कोइराला, जननेता मदन भण्डारी र हालै मात्र केपी शर्मा ओली समेत हुनुभयो। यस्तै‚ चरम जातिवादी बतासे संस्कृति हावी भएको देखेर यस लेखकले एउटा गोष्ठीमा यी बाजे भानुभक्त आचार्यले नै नाच, गान र नौटङ्की गरेर जीवन बिताउन छाडेर किन कविता लेख्नु पर्‍या होला भनेको थियो। यी बाजे कविका कारण बाहुनहरू अहिले गाली खान विवश छौँ भनेको थियो। समाजमा व्याप्त अलोकतान्त्रिक चरित्र र चिन्तन हटाउन नेका लागि पर्नुपर्छ। विगत कालदेखि ऐतिहासिक भूमिका निर्वाह गरेको कांग्रेस यस बेला अलमल्ल र असरल्ल पर्नु हुन्न।

नीति, सिद्धान्त र लोकतान्त्रिक आचरण पार्टीको नाक हो। यही सही नहुँदा पार्टी नाकविहीन हुन्छ। धेरैजसो  कांग्रेसी बुद्धिजीवीहरू पार्टी र नेताका गलत प्रवृत्तिप्रति परोक्ष रुपमा दृढ पक्षधरता राख्छन्। यो तिनको वर्ग पक्षधरता हो। पार्टीभित्र विकृतिविरुद्ध लडाइँ गरे तर बाहिर समर्थन गर्नुलाई नजाती भन्न मिल्दैन। महाधिवेशनका बेला पार्टीका सैद्धान्तिक, सांगठनिक तथा सिर्जनात्मक आदि पक्षमा नाक र मुख बजाउनु पर्थ्यो तर  एकरत्ति त्यसो भएको पाइन्न। 

कांग्रेस पार्टी आफ्नै नाक जोगाउन  पटकपटक केन्द्रीय समितिको बैठक बस्थ्यो। तर अहिले एकले अर्कोको नाक भाँच्न विभिन्न अखडा जमाएर बसेको देखिन्छ। २००७ सालको ऐतिहासिक क्रान्ति सम्पन्न गरेको पार्टी, जननायक वीपी कोइराला, लौहपुरुष सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईजस्ता  एक समयका  अग्ला नाकहरू भएको अग्लो पार्टी अहिले नाकविहीन  देखिन थालेको छ। एक समयका  तीव्र घ्राणशक्ति भएका कांग्रेसका नाकहरू अहिले सिला खोज्नु पर्ने अवस्थामा छन्। अहिले त एकाधबाहेक कांग्रेसमा कुच्चिएका नाकहरू मात्र जताततै देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.