बल्खुका २ सय ५० पसलका गरी २ करोड रूपैयाँभन्दा बढीको क्षति

|

काठमाडौं :  सोमबार मध्यान्हको समय, हिलोमा लतपतिएका शरीर, बाढीमा डुबेका तरकारी आडैमा राखी पसलभित्र पसेको बालुवासहित हिलो बाहिर फ्याँक्नमै व्यस्त देखिन्थे– बल्खुस्थित फलफूल तथा तरकारी बजारका व्यापारी।  

गएराति परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभाग डुबानमा परे। डुबानबाट बल्खुस्थित  फलफूल  तथा तरकारी बजार पनि अछुतो रहन सकेन। रातिको २ बजेको थियो। बाहिर झमझम पानी परिरहेको थियो।

तरकारी पसल खोल्न संगीता पौडेल छाता ओढेर पसल पुगिन्। उनी बजारमा पुग्दा तरकारी लिन आउनेको चहलपहल बढ्दै थियो। उनलाई झमझम पानी परिरहेको थाहा थियो तर, बिक्रीको धुनमा त्यतातिर उनले खासै ध्यान दिइनन्। 

लगातारको पानीले बागमतीको बहाव बढ्दै गइरहेको थियो। बागमतीको बाढीसँगै ढलको लेदो तरकारी बजारमा पस्दा बजारमा भएका व्यापारीहरू तर्सिएर भाग्न थाले। उनले भनिन्, ‘कसो कसो बाहिर आँखा पुगेछ– हेर्दाहेर्दै घुँडासम्म पानी आयो। तरकारी छाडेर भाग्नुको विकल्प नै भएन।’

उनका अनुसार तरकारी बजारमा पानी पस्न थाल्दा बिहानको सवा ४ बजेको थियो। ५ बज्दा पूरै बजार जलमग्न भयो। 

'तरकारी बजार एक्कासी जलमग्न भएपछि कता जाने के गर्ने अन्योल भयो,’ व्यापार गर्दा गर्दैको तरकारी छोडेर ज्यान बचाउन भागेको उनले सुनाइन्। बागमतीमा आएको बाढीले बगाएको तरकारीसँगै संगीताको काठमाडौं बसेर छोरा पढाउने सपनासमेत बगेको छ। उनी भन्छिन्,‘जीवन गुजारा चलाउने एउटै आधार तरकारी पसल थियो। त्यो पनि बाढीले बगायो अब काठमाडौं बसेर कसरी गुजारा चलाउने?' 

काखमा सानो छोरा छ। उनले भनिन्, ‘तरकारी बेचेर छोरालाई पढाउने सपना थियो, त्यो पनि बाढीले बगायो।’ बाढीले करिब २५ हजार रूपैयाँ बराबरको तरकारी बगायो। त्यो २५ हजार कमाउन महिनौं खर्चनु पर्छ। 

ओखलढुंगाबाट काठमाडौं आएर ०६९ सालमा ८ लाख धरौटी राखी बल्खुमा तरकारी पसल सुरु गरिन् उनले। अहिलेसम्म राम्रै चलेको थियो। विश्वसँगै देशमा  फैलिएको कोरोना महामारी नियन्त्रण गर्न लगाएको लकडाउनले व्यापार ठप्पजस्तै थियो। कोरोनाबाट भर्खर तंग्रिदै गर्दा बाढीले थला पारेको उनले सुनाइन्।

१० मिनेटमा तरकारी सखाप

सोही बजारमा तरकारी पसल सञ्चालन गर्ने अमृतबहादुर बस्नेतका अनुसार बाढी बजारमा पसेको १० मिनेटमा नै तरकारी सखाप भयो। कम्तीमा ५० हजार रूपैयाँको तरकारी खोलाले बगाएको उनले सुनाए। उनले भने, ‘बाँकी भएको पनि बेच्न मिल्ने अवस्थामा छैन।’ 

उनको आम्दानीको एकमात्र स्रोत भनेको तरकारी व्यापार नै हो। त्यहाँ १० वर्षदेखि पसल राखेका बस्नेतले बजारमा यसरी खोला पसेको आफूले पहिलो पटक देखेको बताए। अर्का व्यापारी राजकुमार तामाङले करिब ८० हजार रूपैयाँको तरकारी बाढीबाट खेर गएको सुनाए। 

दुई करोडभन्दा बढीको क्षति 

तरकारी बजारमा सोमबार बिहान पसेको पानीले २ सय ५० पसलमा क्षति पुगेको तरकारी बजार सञ्चालक मोहन बस्नेतले जानकारी दिए। सो क्षेत्रमा रहेका ५ वटा खाद्य गोदाम, लसुन, अदुवा र प्याजको २५ वटा गोदाममा पानी पसेको उनले बताए। सबैको गरी करिब २ करोड रूपैयँ बराबरको क्षति भएको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.