|

पर्सा : तारे होटल, डिस्को र बारमा गएर भड्किलो तीज मनाउने चेलीहरूलाई पर्साको चेली कृषि सहकारी संस्थाले राम्रो पाठ सिकाएको छ। तीजका नाममा एक दिन तारे होटलका डिस्को र बारमा पुगी भड्किलो तीज मनाउँदै बुर्कुसी मार्ने चेलीहरूलाई चेली सहकारी संस्थाले राम्रो पाठ सिकाएको हो।

एक दिने क्षणिक खुसी नभई जीवनमा सधैं खुसी ल्याउने प्रयास स्वरुप सीपमुलक तालिम दिई दक्ष बनाउँदै दर स्वरुप प्रमाणपत्र दिएर चेली कृषि सहकारीले तीज मनाएको छ। यो तयारी भने २२ दिन पहिलेदेखि नै सुरु गरेको संस्थाले जनाएको छ। 

आर्थिक तनावमा रहनु पर्ने सधैंको समस्या हल गर्न बेरोजगार दिदी बहिनीलाई जीवनभर आम्दानीको श्रोत हुने सीप सिकाइएको सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेले बताइन्। 

बेरोजगार दिदीबहिनीको सीप र आम्दानी भए जीवनभर दर र खुसियाली होस् भन्ने संस्थाले अपेक्षा गरेको उनको भनाइ छ। आपसमा पैसा उठाएर वा कुनै दाताबाट सहयोग लिएर एक दिन डिस्को र बारमा भड्किलो तीज मनाउँदा मात्र जीवनमा उति खुसियाली नहोला। तर‚ यस्तो सीपले आम्दानी नियमित भए सधैं रमाइलो हुने सहकारी संस्थाको लक्ष्य राम्रो लागेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बताए।

चेली सहकारीले योभन्दा अगाडि पनि विभिन्न सीप सिकाई १६२ जना महिलालाई रोजगार बनाएको संस्थाले जनाएको छ। जीवनोपयोगी सीपका लागि कहिले जमराको जुस बनाउने तालिम, कहिले च्याउ खेती गर्ने र योभन्दा अगाडि पनि मास्क बनाउने सीप सिकाइएको संस्थाकी अध्यक्ष घिमिरेले बताइन्। चेली कृषि सहकारी संस्था महिलाहरूकै सक्रियतामा सञ्चालन भएको हो। 

यो पटक भने कोरोनाको कहरबीच पनि २२ जना दिदीबहिनीलाई २२ दिने सीपमुलक तालिम दिएको छ। दक्षताको प्रमाण पत्र वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र लघु व्यवसाय विकास कोष पर्साका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्य लगायतले प्रदान गरे। बेरोजगार दिदीबहिनीलाई ‘बेबीसेट बनाउने सिलाई कटाइको सीप’को तालिम दिइएको छ।

छोटो समयमा पनि दक्ष भइने नलागे पनि अब केही गरेर देखाउन सक्ने भएको तालिममा सहभागी आइसा खातुनले बताइन्। कुशुम मिश्राले पनि ६ महिनामा पनि सिक्न नसकिने सीप छोटो समयमा नै प्रदान गरी दक्ष बनाइ दिएकोमा प्रशिक्षक ज्ञानबहादुर डंगोल र आयोजकलाई धन्यवाद दिइन्। प्रशिक्षकको लगन र आफूहरूको मेहनतले छोटो समयमा नै सिकेको तालिममा सहभागी रीता खड्गीले बताइन्।

अस्पतालमा सुत्केरी हुने आमालाई मेक्सी, पेटिकोट र शिसुलाई चाहिने कपडाको जुत्ता, भोटो लगायत आमा सेट र बेबीसेट तथा नौ वर्षसम्मका बालबालिकाहरूलाई लगाउन मिल्ने दौरा, वान पीस लगायतका कपडा उनीहरूले आफैं काटी तयार गर्न सक्ने भएका छन्। उनीहरूले उत्पादन गरेको वस्तु बजारीकरण गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष र सचिव अमात्यले आश्वासन दिए।

२२ जना महिलाहरूलाई तालिम दिन आवश्यक कपडा खरिद र प्रशिक्षकको पारिश्रमिकलगायतका लागि २ लाख ५० हजार रुपैयाँ लागेको संस्थाकी अध्यक्ष घिमिरेले बताइन्। उक्त रकम लघु व्यवसायका लागि वीरगञ्ज उद्योग वाणिज्य संघ र वीरगञ्ज महानगरपालिकाले पनि सहयोग गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.