|

काठमाडौं :  कुशे औँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ। ‘नेपालय कविता’ अन्तर्गत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो।

‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिताको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो। यस काव्यले पिता पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलीमा अभिव्यक्त गरेको छ। साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रीतिमाथि पनि परोक्षरुपमा व्यंग्य गरेको छ।

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी चूडाल हाल भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्। उनको लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजन पाइन्छ। कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो।

पुस्तककाबारेमा बोल्दै उनी भन्छिन्, ‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछन्। प्रेम, प्रसन्नता, सुख वा दु:खको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो। साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.