काठमाडौं : संगीत कुनै एक व्यक्ति वा समुदायको पेवा होइन। संगीतको धरातल व्यापक हुँदै जाँदा संगीतमा चाहिने वाद्यवादनको मोह पनि व्यापक हुँदै गएको छ।
तिनै वाद्यवादनमध्ये सारंगी एक हो। कुनै बेला गन्धर्व जातिका व्यक्तिले मात्र बजाउने गरेको सारंगी अहिले अन्य जातिका मानिसले पनि बजाउँछन। उनीहरुले त्यसैबाट आफ्नो पहिचान बनाएका छन्। तर, सारंगीको कुरा गर्दा यसको परम्परा जोगाउँदै आएका गन्धर्व जातिलाई नजरअन्दाज गर्न मिल्दैन।
केही वर्षअघिसम्म सारंगीलाई तथाकथित ‘तल्लो जात’काले बजाउने बाजाका रूपमा लिइन्थ्यो। अहिले समय फेरियो। मान्छेका सोच बदलियो। अचेल सारंगी बजाउनेलाई हेर्ने दृष्टिकोण नै फेरिएको अनुभव गर्छन् कमल विक।
नेपालमा सारंगीको धुन नसुन्ने कमै होलान्। अझ भनौं सारंगीबाट निस्किने धुनको मोहनीले लट्ठ नहुने विरलै पाइएला। केटाकेटीदेखि वृद्धवृद्धासम्म यसको धुनमा आकर्षित हुन्छन्। तिनै सारंगीलाई १८ वर्षदेखि साधना गरिरहेका कमल सारंगीलाई आफ्नो जिन्दगी मान्छन्। दैनिक स्टुडियोमा जानु, सारंगी धुन बजाउनु कमलको दैनिकी हो। उनी सारंगीको धुनमा आफ्नो जिन्दगीको लय मिलाउँदै अगाडि बढिरहेका छन्। सारंगी बोकेर हिँड्ने सुरुवाती दिनमा उनलाई समाजले गर्ने व्यवहार फरक पाउँथे। तर, अचेल सारंगी बजाउनेलाई मान्छेले सम्मानजनक व्यवहारले उनी खुशी छन्।
पेशाको सम्मान हेर्ने दृष्टिकोणमा निर्भर रहने उनी सुनाउँछन्। 'तपाईँले कुन वाद्यवादन कहाँ प्रयोग गर्नुहुन्छ भन्ने मुख्य हो। गाउँ गाउँमा बजाउँदै हिँड्दा कतिपयले गाइनेको ट्याग लगाउँछन्। त्यही बाद्यवादन कुनै स्टुडियोमा बजाउँदा कलाकारको ट्याग लगाउँछन्', उनी भन्छन्, 'मलाई लाग्छ कुनै पनि वाद्यवादन संगीतका लागि शरीरका अंग जस्ता हुन्छन्। एकको अभावमा ऊ पूर्ण बन्दैन।'
कमल बच्चैदेखि उनी सारंगीको संगतमा रहे। बुबा सारंगी बजाउँथे। तिनी सारंगीको धुनले उनलाई मोहित बनाउँथ्यो। उमेर बढ्दै गयो। बुबा विदेशिए। कमल सारंगीको धुनमा स्वदशमै रुमल्लिए। गाउँमा हुने सांगीतिक कार्यक्रममा उनी सारंगी बजाउँथे।
अनि लागे काठमाडौं
काठमाडौंबाट गएका कलाकारहरूले उनले बजाएको सारंगीको धुनलाई लिएर प्रशंसा गर्थे। सारंगी बजाउने उनको कलाको तारिफ गर्थे। त्यो सुन्दा कमल हुरुक्क बन्थे। यस्तैमा उनले एक दिन गाउँ छोड्ने निर्णय गरे। काठमाडौं आएर आफ्नो क्षमता व्यापकता बनाउने सोचे।
बागलुङबाट २०६२ सालमा काठमाडौं छिरेका उनी ८ वर्ष सारंगी बजाउन विभिन्न स्थानमा पुगे। कति ठाउँमा त उनले यसको प्रयोग गर्नै पाएनन्। काठमाडौंमा जीवन चलाउन दोहोरी साँझमा काम गरे। तर, त्यहाँ उनले वाद्यवादनका अन्य साधन बजाए। सारंगी बजाउन पाएनन्। तनाव थपियो। सारंगी बजाउन नपाएपछि जीवन धान्न कुखुरा फार्म खोले। ६ लाख रुपैयाँ डुब्यो। ऋण थपियो। त्यसपछि विदेश जाने सोचे। विदेश जान पनि समयले साथ दिएन। त्यसपछि उनले आफूले जानेको सारंगीमा नै जीवन खोज्ने प्रण गरे।
'जीवनमा तपाईँसँग जे क्षमता छ। त्यही गर्ने हो। आफूले नजानेको विषयमा हात हाल्नु भनेको ऋण बढ्नु हो। तनाव थपिनु हो', उनी भन्छन्‚ ‘लामो समय मैले सारंगी बजाउन पाइनँ। धैर्य गर्यो भने सबै कुरा पुग्ने रहेछ। अहिले मैले सारंगीबाहेक अन्य वाद्यवादन बजाउन पाएको छैन।’
कमलको अहिले व्यस्तता चर्को छ। दिनमा उनी कयौं स्टुडियोमा धुन भर्न पुग्छन्। 'महिनाको १५० गीतमा सारंगी बजाउँछु। यो हिसाबले विगत १० वर्षको हिसाब कति हुन्छ मैले पनि समय निकालेर हिसाब निकाल्नुपर्छ', उनले आफ्नो व्यस्तता सुनाए।
सारंगी निर्माणमा बुबाको सहयोग
कमल सारंगी मात्र बजाउँदैनन्‚ आफैं बनाउँछन् पनि। पहिले उनी एक्लै सारंगी बनाउथे, अहिले बुबा साथमा छन्। उनी सुनाउँछन्, ‘फुर्सदमा म पनि सारंगी बनाउँछु। तर, मेरो व्यस्तता अधिक छ। मलाई बुबाले साथ दिइरहनुभएको छ।'
सारंगी बनाउन खासमा गाउँतिर खिर्रोको रुखको काठ प्रयोग गरिन्थ्यो। शहरमा खिर्रो खोज्न पाउन मुश्किल छ। जसले गर्दा कमलले फर्निचर उद्योगबाट सल्ला, सिसौको काठ किन्छन्।
एक सारंगी निर्माण गर्न तीन दिन लाग्छ। अहिले उनले बजारमा सारंगीको साइज अनुसार १२ हजारदेखि ५० हजार रुपैयाँसम्म बेचिरहेका छन्।
'पहिले गन्धर्व जातिका लागि सारंगी थियो। सामान्यतया उहाँहरूले आफैं बनाउनु हुन्थ्यो‚’ कमलले भने‚ ‘ अब मान्छेहरूले सारंगीलाई आफ्नो शोखका रुपमा लिने गरेका छन्। घरमा सजाउन, बजाउन पनि सारंगीको माग गरिरहेकाले बजारमा माग बढ्दो छ।'
सारंगी संसारको युट्युब च्यानल
प्रविधिको विकाससँगै मान्छे पनि अचेल प्रविधिमैत्री बनिरहेका छन्। प्रविधिमा पनि अचेल युट्युब च्यानल व्यक्तिको आयआर्जनको राम्रो स्रोत बनेका छ। कमलले पनि युट्युबलाई आयस्रोत मान्दछन्।
उनी भन्छन्, 'युट्युबमा आफ्नो सिर्जना हालेर दर्शकमाझ पुर्याउनु एक किसिमको सन्तुष्टि त छदैछ। त्यसमाथि प्रविधिको प्रयोग भनेको आफैंलाई अपग्रेडको माध्यम हो भन्ने मेरो बुझाइ हो।'
सारंगी संसारको युट्युब च्यानलमा उनले नेपाली लाइभ दोहोरी हाल्छन्। ती लाइभ दोहोरी दर्शकले रुचाइरहेका पनि छन्। 'सभ्य र समाजले पचाउने गीत धेरैभन्दा धेरै दर्शकसामु पुर्याउन युट्युबको ट्रेण्डमा आफूलाई प्रवेश गराएका हुँ', उनले भने।
एक बसाइमा चारवटा जति लाइभ दोहोरी निर्माण गर्छन् उनी। यसरी काम गर्दा एक बसाइमा लाइभ दोहोरी निर्माण गर्दा करिब १ लाख २० हजार खर्च हुने उनले सुनाए। एउटा लाइभ दोहोरीलाई ५ लाख भ्युज पायो भने ६०-७० हजार रुपैयाँ प्राप्त हुन्छ। विभिन्न कलाकारहरूलाई रोजगार सिर्जना पनि गरिरहेका छन् उनले। उक्त युट्युब च्यानलमा गाउने कलाकारको ब्राण्ड भ्यालु अनुसार पारिश्रमिक दिने गरिएको कमल सुनाउँछन्।
उनले भने‚ 'सबै खर्च कटाएर महिनामा १ लाखभन्दा बढी कमाइ हुने गरेको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।