४ सय ९३ मध्ये सात जना मात्रै समाजवादीमा

|

झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबैजसो जनप्रतिनिधि मूल पार्टी एमालेमै बसेका छन्।

एमालेका कूल ४ सय ९३ जना जनप्रतिनिधिमध्ये सात जनाले मात्रै पार्टी परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्। 

झापामा ७२३ जनप्रतिनिधिमध्ये ४९३ एमालेबाट जितेका छन्। भदौ १८ गतेसम्म एक जना जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी रोजेकामा मंगलबार अन्तिम दिन थप ६ जनाले समाजवादी रोजेको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिए। 

एकीकृत समाजवादी रोजेर सनाखत गर्नेहरूमा जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बु, शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नवीन इजम, झापा गाउँपालिका-७ नम्बर वडा सदस्य ईश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रीन, अर्जुनधारा नगरपालिका-६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका-९ का वडा सदस्य कुन्जा रुचाल रहेका छन्। 

वडा सदस्य दाहालले भदौ १८ गते र बाँकी ६ जनाले आज (मङ्गलबार) जिल्ला निर्वाचन कार्यालय झापा पुगेर समाजवादीमा सनाखत गरेका हुन्। ओलीको गृहजिल्लामा माधवको एकीकृत समाजवादीमा जनप्रतिनिधि शून्य बनाउन सोमबारसम्म सबैतिरबाट सक्दो प्रयास भए पनि त्यो सफल हुन नसकेको समाजवादी रोजेका वडा अध्यक्ष इजमले बताए।

एमालेका संस्थापक पक्षहरूले विभिन्न जालझेललाई लिएर अघि बढिरहेकोले १० बुँदे सम्झौतालाई पनि पत्याउन नसक्ने अवस्थामा पुगेर आफूले एकीकृत समाजवादी रोजेको वडा अध्यक्ष इजमको भनाइ छ। 

पार्टी छाडेपछि धेरैले छाडे नेपालको साथ

नेकपा एमालेमा माधवकुमार नेपाल रहँदासम्म झापामा उनीनिकट जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको सङ्ख्या राम्रै थियो। माधवले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि ओलीको गृहजिल्लामा उनीनिकट जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कहाँ लाग्नेमा चासोको विषयमा बन्यो।

तर, अन्तिम समय आएर माधव पक्षका जिल्लाकै चर्चित नेता तथा पालिकाका प्रमुख र उपप्रमुखहरूले पनि उनको साथ छाडेका छन्। जिल्लामा सात जना जनप्रतिनिधिले मात्र उनलाई साथ दिएका छन्। जसले गर्दा जिल्लामा एकीकृत समाजवादी कमजोर देखिएको छ।  

दल दर्ताका लागि निवेदन पेस गर्दा एकीकृत समाजवादीमा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भास्कर काफ्लेको नाम समावेश भएको थियो। तर, उनीहरू सबैले विभाजित पार्टीमा नरहने घोषणा गर्दै एमालेमा फर्किएका छन्।

तत्कालीन नेकपा फुटेपछि ती नेताहरू माधव पक्षमै उभिएका थिए। गत वैशाखमा तीनै जना नेताले जिल्लामा एमालेको समानान्तर कमिटी समेत बनाएका थिए। त्यसमा पवित्रा खरेल (निरौला) पनि थिइन्। उनले पनि माधवको साथ छाडेकी छिन्।

पार्टी विभाजनसँगै नेताहरू कोइराला, खरेल, निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि अधिकांश जनप्रतिनिधिहरू पनि माधवतर्फ लाग्न चाहेनन्। झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ। प्रदेशसभामा एमालेका ९ जनाले जितेका छन्।

प्रतिनिधिसभामा अध्यक्ष ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष तर्फबाट, कुमारी मेचे र विमला विक समानुपातिक सांसद हुन्। उनीहरू पाँच जनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै खुलेर लागेका छन्। 

झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका छन्। त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एक जना गाउँपालिका अध्यक्ष, चार जना उपाध्यक्ष छन्।

जिल्ला समन्वय समितिका उपाध्यक्ष मिना पराजुली, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा  (प्रसाईं), भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल माधवनिकट रहेका थिए।

पार्टी विभाजनपछि उनीहरू पनि माधवको साथ छाड्दै संस्थापन पक्ष एमालेमै फर्किएका छन्। यता वेदराज रेग्मीले जिल्लामा एकीकृत समाजवादीको नेतृत्व सम्हाल्दै पार्टी सङ्गठन निर्माण र विस्तार अभियानमा लागि परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.