टोलीले पहिलो पटक दशरथ रंगशालामा खेल्दै

|

काठमाडौं : नेपालको महिला राष्ट्रिय फुटबल टिमले भोलि बिहीबार घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ। दुई मैत्रीपूर्णमध्ये पहिलो खेल भोलि बेलुकी साढे ५ बजे हुनेछ। अर्को खेल भने आइतबार हुने छ।  

रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो। यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो।

बंगलादेश–नेपालबीच अहिलेसम्म भएका खेलमा नेपालको प्रदर्शन माथि छ। तर, यसपल्ट नियमित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिमा नेपाली टोली केही दबाबमा हुने देखिएको छ। हालसम्म भएका ५ प्रतिस्पर्धामा नेपालले ४ जित र १ हार बेहोरेको छ।

पहिलेका खेलको तुलनामा पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन निरन्तर सुधार गर्दै आएको छ। पहिलो मैत्रीपूर्ण खेलको पूर्वसंन्ध्यामा बुधबार भएको पत्रकार सम्मेलनमा दुवै टिमका मुख्य प्रशिक्षकले आफ्ना टोलीले राम्रो खेल्ने दाबी गरे।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले कोरोना संक्रमणको कठिन समयमा बंगलादेशविरुद्ध खेल्न पाउनु राम्रो अवसर भएको बताए। बंगलादेशका प्रशिक्षक गोलाम छोटनले नेपालविरुद्धको मैत्रीपूर्ण खेलले एएफसी कपको छनोटमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले खेल निकै प्रतिस्पर्धात्मक हुने दाबी गरे।

नेपालले उज्वेकिस्तानमा हुने एसियन कप छनोटको तयारीका रूपमा बंगलादेशविरुद्ध खेल्ने २ खेललाई लिएको छ।

समूह 'एफ'मा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्ने छ। ३ टोली मात्र रहेको यस समूहको विजेता टोली भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ। बंगलादेश भने समूह 'जी'मा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.