|

डडेल्धुरा : सदस्यता विवादकै बीच डडेल्धुराका स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन भइरहेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अधिवेशन जारी रहेको हो।

जिलाका ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।

‘बिहान साढे ८ बजेदेखि नै सबै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको हो। ५२ मध्ये २५–३० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ बमले भने,‘आज बेलुकासम्ममा सबै विवरण आउँछ। शान्तिपूर्ण रूपमा अधिवेशन भइरहेको छ।’

निर्वाचन केन्द्रमा बाक्लो मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। निर्वाचन समितिले अधिवेशन सुरु गरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने बहिष्कार गरेको छ। देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिरहेको मल्ल पक्षको आरोप रहेको छ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर भइरहेको छ। बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ मल्लले भने,‘जिल्ला सभापतिसँग परामर्श नगरी वडा अधिवेशनको मिति तोकेकोले यसलाई हामीले बहिष्कार गरेका छौँ।’

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, देउवाले आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको मल्ल पक्षको भनाइ छ।

क्रियाशील सदस्यतालाई लिएर गत मंगलबार दिउँसो कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो। देउवाले मल्ल पक्षलाई पेलेरै गृह जिल्लामा वडा अधिवेशन गरिरहेका छन्। यसको प्रभाव आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पर्ने अनुमान गरिएको छ। यसअघि पनि पार्टी भित्रकै आन्तरिक विवादका कारण आफ्नो पकड भएको क्षेत्रमा पनि कांग्रेसले चुनाव हारेको थियो।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाले आफ्नो गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको आरोप लगाएका छन्।

जिल्ला कार्यसमितिको सहमति र सहभागिताबेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उनले यो लोकतन्त्रकै उपहास भएको बताए।

‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक १ नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनको लागि यो शुभसंकेत होइन।’

शुक्रबार बिहानमात्रै संस्थापनइतर समूहका नेताहरू कांग्रेसको अधिवेशनमा प्रहरी प्रशासनको हस्तक्षेप रोक्न भन्दै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

पौडेल नेतृत्वको टोलीमा महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, जीवन परियारले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.