|

पाल्पा : नेकपा (एकीकृत समाजवादी) को पाल्पा जिल्ला कमिटी गठन भएको छ। शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी जिल्ला कमिटीको घोषणा गरिएको हो। खिमानन्द  पाण्डे (कमल) को अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ। 

कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उप–सचिवमा कमल सेन रहेका छन्। पाण्डे नेकपा एमाले पाल्पाका तत्कालीन उपसचिव हुन्। घर्ती लुम्बिनी प्रदेश सांसद हुन्।

कमिटीको संख्या विस्तार गरेर १५० सदस्यीय पुग्ने बताइएको छ। कमिटीमा जिल्लाका प्रभावशाली अधिकांश नेता छैनन्। यहाँका स्थानीय जनप्रतिनिधिसमेत नेकपा एमालेमै रहने घोषणा गरिसकेका छन्।

एकजना रम्भा गाउँपालिका–५ का वडासदस्य ईश्वरीप्रसाद श्रेष्ठले मात्रै समाजवादीमा सनाखत गरेका छन्। यसअघि नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले विभिन्न जिल्लामा समानान्तर कमिटी गठन  गरे पनि पाल्पामा भने गठन भएको थिएन।

घोषणा कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले सूर्य चिन्ह नभएपनि आफ्नो पार्टीले जित हासिल गर्ने दाबी गरे। निर्वाचन चुनाव चिह्नले जित्ने होइन। काम र व्यवहारले जनताको मन जित्न सफल हुने उनले बताए।

भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ। जिल्लामा छिटो नै समाजवादीको वृहत् भेला आयोजना गरिने नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए। त्यसअघि  वडा र गाउँ तथा नगरमा कमिटी गठन हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.