|

हामीमध्ये धेरैले जयसिंह धामीलाई अहिले पनि बिर्सन सकेका छैनौँ।
हिजो बिहान कसरी कसरी ती युवा घुर्मैलो घुर्मैलो सम्झनामा आए।

नागार्जुन पहाडलाई बाक्लो बादलले छोपेको थियो। मेरो मस्तिष्कलाई पनि त्यसै गरी विस्मृतिले छोप्दै लगेजस्तो लाग्छ कहिले काहीँ। यसबारे कुनै दिन कथाले मागेछ भने विस्तृत चर्चा गरूला, अहिलेलाई यत्ति नै।

प्रसिद्ध गीतकार/संगीतकार/गायक गोपाल योञ्जनले वर्णन गरेभन्दा एकदमै विपरीत अर्थात् पहराले नबनेको मेरो छातीलाई स–सानो पराकम्पजस्ता लाग्ने धड्कनहरूले निरन्तर प्रहार गरिरहेपछि अलि त्रस्त हुँदै म छतको फन्को लगाउन थालेँ। छतको कयौँ चक्कर लगाउँदा कुनै मोडमा लाउँला खाउँलाको उमेरका ती युवा मेरो धुमिल स्मृतिमा आए।

रिठ्ठो नबिराइ भन्छु है पाठक महोदय। म जयसिंह धामीलाई बिर्सने क्रममा रहेछु। मलाई दार्चुलाका ती युवाको थर थाहा थियो। प्रत्यक्षदर्शीहरूको बयानअनुसार मालघाटबाट तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन फुस्काइदिँदा, काटिदिँदा ती युवक खसेर महाकाली नदीमा बेपत्ता भएको थाहा थियो।

मलाई ती युवा व्यास गाउँपालिकाका हुन् भन्नेसम्म थाहा थियो। तर त्यस गाउँपालिकाभित्रको उनको थातथलोको नाम बिर्सिसकेको रहेछु। पारि बसेका एसएसबीका जवान तुइन फुस्काउन उद्यत भएको वारि बसेका नेपालीहरूले देखे। ती प्रत्यक्षदर्शीहरूले मानिस तर्दैछ, तुइन नफुस्काइदिनुस्‚ नकाटिदिनुस् भन्दै अनुनयविनय गरे। तर‚ ती भारतीय सुरक्षाकर्मीले उनीहरूको कुरा सुनेनन्।

हो, भारत लिम्पियाधुरा–लिपुलेक–कालापानी समेट्ने करिब ४०० वर्ग किलोमिटरको भूखण्ड नेपाल सरहदभित्र पर्छ भन्ने दलिललाई मानिरहेको छैन। सन् १९६२ को चीनसँगको युद्धमा खेदिएका भारतीय सैनिकहरूले नेपालको उक्त भूमिमा शरण लिएको र कालान्तरमा तिब्बतमा चीनले सञ्चालन गरिरहेका गतिविधिको बाह्रै महिना अवलोकन गर्न सकिने रणनीतिक महत्वको क्षेत्रमा आफ्नो उपस्थिति बलियो पार्दै लगेको बुझ्न कठिन छैन।

अझ यसरी बलात् कब्जा गरेको क्षेत्र हुँदै भारतको पिथौरागढसँग चीनको स्वशासित क्षेत्र तिब्बत जोड्न भारतले सडक निर्माण गरिरहँदा भारतसँगको नेपालको असाध्यै अन्यायपूर्ण सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ। खास गरी त्यस क्षेत्रमा बस्ने नेपालीहरूको जीवन थप कष्टकर हुँदै गएको भन्ने किसिमका समाचारहरू आइरहेका छन्। पृथ्वीनारायण शाहले सियो बनेर पसी मुसल बनेर निस्कने भनेर जुन शक्तिलाई इंगित गरेका थिए, त्यो शक्तिको उत्तराधिकारीले नेपाल र नेपालीविरूद्ध विगत बिर्साउने गरी अत्याचार गरिरहेको छ।

यस्तो तनावपूर्ण अवस्थामा पनि दार्चुला जिल्लाका विभिन्न स्थानहरूबाट सदरमुकाम खलंगा पुग्न नेपालीहरूले महाकाली तरेर कच्ची मोटरबाटो हुँदै भारतको धार्चुला बजार पुग्नुपर्छ। त्यहाँबाट महाकाली तरेपछि बल्ल कमजोर, कुपोषित नेपाली राज्यको अभिन्न अंग अर्थात् खलंगा बजारसँग साक्षात्कार हुन पाउँछन्।

स्थानीयहरूलाई र त्यहाँ पुगेर फर्केका ‘गोर्खालीहरूलाई’ थाहा छ धार्चुला बजार कति गुल्जार छ। चकाचौँध छ। अनि हाम्रो दार्चुला बजार कति निन्याउरो अनुहार लगाएर बसेको छ। जुनसुकै व्यवस्था आओस्, जुनसुकै रङ्ग र कलेबरका शासकहरू आऊन्, आफूलाई नै राज्य मान्ने प्रवृत्ति भएपछि दूरदराजको त के कुरा सिंहदरबार समेत हरितन्नम अवस्थामा भेटिनु कुन आश्चर्य भयो र?

मैले पटक–पटक भारतसँगको नेपालको सीमालाई दुख्ने घाउ भनेर लेखेको छु। दिग्गज बौद्धिकहरू भन्न सक्नुहुन्छ, यो नेपाल–भारतबीचको विशिष्ट सम्बन्धको द्योतक हो। मेरो प्रतिप्रश्नः दुई सार्वभौमसत्तासम्पन्न देशबीच कस्तो विशिष्ट सम्बन्ध हुनुपर्ने होः शासक र शासितको जस्तो असमान सम्बन्ध हुनुपर्ने हो? ब्वाँसो र भेडाका निरीह पाठाहरूको जस्तो सम्बन्ध हुनुपर्ने हो?

मैले पटक–पटक भारतसँगको नेपालको सीमालाई दुख्ने घाउ भनेर लेखेको छु। दिग्गज बौद्धिकहरू भन्न सक्नुहुन्छ, यो नेपाल–भारतबीचको विशिष्ट सम्बन्धको द्योतक हो। मेरो प्रतिप्रश्नः दुई सार्वभौमसत्तासम्पन्न देशबीच कस्तो विशिष्ट सम्बन्ध हुनुपर्ने होः शासक र शासितको जस्तो असमान सम्बन्ध हुनुपर्ने हो? ब्वाँसो र भेडाका निरीह पाठाहरूको जस्तो सम्बन्ध हुनुपर्ने हो?

रोटी–बेटीको सम्बन्धका कुराहरू पनि आउलान्। यस्तो सम्बन्ध त भारतका तमाम छिमेकीहरूसँग पनि हुनुपर्ने होइन र? तर देशहरूबीचको सम्बन्ध त सार्वभौमिक समानताका आधारमा हुनुपर्ने होइन र?

हरेक स्वतन्त्र देश – त्यो जस्तोसुकै आकारप्रकारको किन नहोस् – को आफ्नो स्वतन्त्र आकाश हुनुपर्छ। सुस्पष्ट रूपमा कोरिएको सरहद भित्र आफ्नो जमीन हुनुपर्छ, आफ्नो सार्वभौम सिमाना अनुल्लंघनीय हुनैपर्छ अनि त्यहाँ कानूनको शासन लागू हुनैपर्छ।

तर हाम्रो सिमा कस्तो छ त ? नेपाल–भारत सिमानाको कुरा गर्दा नेपालतर्फको सिमा एकदमै खुला छ, अनौपचारिक छ। नेपालको सुरक्षा संयन्त्रहरूको मनोबल गिराउन खोजेको नठानियोस्। तर सत्य के हो भने भारतीय सुरक्षाकर्मीहरू निर्वाध, त्यो पनि हतियारसहित नेपाल प्रवेश गरेका घटनाहरू बग्रेल्ती छन्।

हाम्रो प्रशासन/सुरक्षा संयन्त्रले अनधिकृत प्रवेश गरेका छिमेकी देशका सशस्त्र जवानहरूलाई कुनै नसिहत समेत नदिई ससम्मान तिनीहरूका उच्चाधिकारीहरूलाई सुम्पेका उदाहरणहरू छन्। भारतको एक राज्यका सुरक्षाकर्मीहरू अर्को राज्यमा प्रवेश गर्नुअघि अनुमति लिनुपर्छ। तर नेपाल प्रवेश गर्न कुनै अनुमति नचाहिने रहेछ कि क्या हो, त्यो पनि हतियारसहित?

त्यसो त वीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा वि.सं. २०१५ मा चिनियाँ सुरक्षाकर्मी खम्पा विद्रोह सामना गर्ने नाममा नेपाल छिरी गोली चलाउँदा नेपाली सेनाका जवान बमप्रसाद बास्तोलाको मृत्यु भएको तथ्य बिर्सन मिल्दैन। तर उक्त घटनामा चीनले नेपालसँग माफी मागेको र शोकसन्तप्त परिवारलाई क्षतिपूर्ति दिएको दृष्टान्त छ। क्षमा माग्दैमा र क्षतिपूर्ति दिँदैमा त्यो अक्षम्य अपराध धोइँदैन तर भारतीय सुरक्षाकर्मी संलग्न घटनाहरू त यत्तिकै दबाइन्छन्। सामान्य माफी समेत मागिँदैन। यस दलीललाई पुष्टि गर्न यहाँ संक्षिप्तमा भारतीय पक्षको ज्यादतिका केही घटनाहरू  उल्लेख गर्न चाहन्छु।

२०६७ जेठ ११ : एसएसबीका निरीक्षक हितेन्द्र सिंहले गोली चलाउँदा घाइते भएका मोरङको धनपालथान गाउँपालिका–२ का ५५ वर्षीय वासुदेव साहको उपचारका क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो। खानेतेल व्यवसायी र निरीक्षक सिंहबीच दशगजामा झगडा हुँदा साह छुट्याउन गएका थिए। राष्ट्रिय मानवअधिकार आयोगको छानबिनले एसएसबीका निरीक्षक हितेन्द्र सिंहले नेपाली नागरिकको हत्या गरेको निष्कर्ष निकालेको थियो।

२०७२ मंसिर १३ : एसएसबीका १३ हतियारधारी जवान झापा जिल्लाको केचना प्रवेश गरे। स्थानीय व्यक्तिहरूले घेरा हालेपछि एसएसबीका ती जवानहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। तर‚ सात घण्टापछि नेपाल प्रहरीले बिना कुनै कारबाही, बिना कुनै नसिहत ती जवानहरुलाई भारतीय पक्षलाई बुझाइदियो। दुई दिनअघि सोही क्षेत्रमा सुपारी तस्करलाई लखेट्ने नाममा एसएसबीले दर्जनौँ राउण्ड हवाइ फायर गरेको थियो।

२०७३ फागुन २७ : द्विदेशीय सिमानाको उल्लंघन गर्दै एसएसबी हतियारसहित नेपालको कञ्चनपुर जिल्लाको पुनर्वासमा प्रवेश गर्‍यो र भारतीय ज्यादतिविरूद्ध विरोध प्रदर्शन गरिरहेका नेपालीहरूलाई लक्षित गरी गोली चलायो। यस घटनामा पुनर्वासका ३० वर्षीय गोविन्द गौतम मारिए। उक्त स्थानमा (नेपाली भूमिमा) कञ्चनपुर नगरपालिकाले कल्भर्ट बनाएकोमा भारतीय पक्षले आपत्ति जनाएको थियो।

नेपाली पक्षलाई धम्की दिइरहेको थियो। घटनाको एक दिनअघि एसएसबीको एक टोली नेपाल प्रवेश गरी पत्रकार हेमन्त न्यौपाने लगायतका स्थानीय व्यक्तिहरूलाई कुटपिट गरेको थियो। भारतीय ज्यादतिको विरोधमा भेला भएका नेपालीहरू र भारतीयबीच दशगजामा ढुङ्गा हानाहान भयो। नेपालीले भारतीयलाई लखेटे। ​एकैछिनपछि एसएसबीको टोली द्विदेशीय सिमानाको उल्लंघन गर्दै नेपालको पुनर्वासमा प्रवेश गरी गोली चलाउँदा गोविन्द गौतम घाइते भए। अत्यधिक रक्तश्राबका कारण उनको मृत्यु भयो। भारतीय पक्षको कुटाइबाट प्रहरी निरीक्षक राम खत्री घाइते भए, स्थानीय सुरेश थापाको टाउकोमा चोट लाग्यो। घटनापछि नेपालतिर भागदौड मच्चिएको मौका छोपेर भारतीय पक्षले श्याम गुरूङको पसल तोडफोड गरेको र लुटेको थियो।

२०७३ साउन : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भारतले दशगजा मिचेर बाँध बनायो। नेपाली पक्षले पटकपटक उक्त बाँध नबनाउन आग्रह गर्दा पनि भारतले बेवास्ता गरेपछि नेपाली र भारतीय नागरिकबीच झडप भयो। उक्त घटनामा सप्तरी जिल्ला विकास समितिका पूर्वसदस्य देवनारायण यादव लगायत घाइते भएका थिए।

भारतीय ज्यादतिका यी र यस्तै प्रकृतिका घटनाहरूमा नेपाल सरकार ‘मौनं स्वीकृति लक्षणम्’ मुद्रामा प्रस्तुत भएको छ। अथवा बोलबोल मछली मुखभरि पानीको मुद्रा पो हो कि यो? वर्षभरि खाइनखाइ कमाएको केही रकम, मालसामान लिएर स्वदेश फर्कने क्रममा भारतीय सुरक्षाकर्मीहरूद्वारा नेपालीहरू सिमानामा लुटिन्छन्। यी सबै घटनाहरूले केही व्यक्ति वा कुनै भारतीय सुरक्षा निकायको कर्तुतभन्दा पनि छिमेकीको नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण झल्काइरहेको प्रतीत हुन थालेको छ। यस्ता ज्यादतिप्रति नेपाल सरकारको मौनताले भारतीय पक्षको मनोबल झनै बढाइदिएको प्रतीत हुन्छ।    

भारतीय पक्षलाई हेक्का हुनु आवश्यक छः नेपालीहरू मात्रै भारतमा आश्रित छैनन्, भारतीयहरू पनि नेपालमा आश्रित छन्। मुलतः बिहार, उत्तर प्रदेश र पश्चिम बंगालको ठूलै जनसंख्याका लागि नेपाल एउटा ज्यादै नजिकको अनि खुला रोजगार बजार हो। नेपालका ‘दिग्गज पत्रकारहरू’ले कोरोनाभाइरस महामारीका बेला पनि नेपालीहरूको लर्को कामको खोजीमा भारत प्रवेश गरेको मात्र देख्छन्। ती देख्दैनन् ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालको ज्यादै सानो रोजगार प्रवेश गरेर नेपालीहरूलाई नेपालबाट बेदखल गरेको। देश नदुखेपछि के लाग्दोरहेछ र?

यो सधैं दुखिरहने, कहिल्यै निको नहुनेजस्तो लाग्ने घाउको उपचार खोजौँ। त्यसै पनि हामीले हाम्रा छिमेकीका लागि सीमा खुला राखिदिएर कुनै जस पाएका छैनौँ। ठूलो छिमेकीका सुरक्षा चासोहरू सम्बोधन गर्न सकिरहेका छैनौँ। छिमेकमा कुनै अप्रिय घटना घट्यो भने त्यहाँका सञ्चार माध्यम र जासुसी संयन्त्रहरूले कसोकसो त्यसको नेपाल कनेक्सन भेट्टाएको दावी गरिहाल्छन्।

यो सधैं दुखिरहने, कहिल्यै निको नहुनेजस्तो लाग्ने घाउको उपचार खोजौँ। त्यसै पनि हामीले हाम्रा छिमेकीका लागि सीमा खुला राखिदिएर कुनै जस पाएका छैनौँ। ठूलो छिमेकीका सुरक्षा चासोहरू सम्बोधन गर्न सकिरहेका छैनौँ। छिमेकमा कुनै अप्रिय घटना घट्यो भने त्यहाँका सञ्चार माध्यम र जासुसी संयन्त्रहरूले कसोकसो त्यसको नेपाल कनेक्सन भेट्टाएको दावी गरिहाल्छन्।

 प्रधानमन्त्री र अन्य दिग्गज नेताहरूको शयनकक्षसम्मै पहुँच भएका, उनीहरूलाई कुर्ता, पाइजामामा सजिएर चप्पल फट्कार्दै जुनसुकै बेला भेट्न सक्ने, नेपालका सुरक्षा रक्षा निकायहरूसँग ज्यादै सुमधुर सम्बन्ध, नेपाललाई सूक्ष्म व्यवस्थापन गर्न सक्ने ती पात्रहरू र रक्षा‚ सुरक्षा‚ जासूसी निकायहरूले कसरी आफ्नो देशविरोधी जालोलाई च्यात्न नसकेका होलान्? आश्चर्य लाग्छ।

नेपालमा हामी सर्वसाधारण नेपालीहरूको पो नियन्त्रण छैन त, उहाँहरूको त छ नि, होइन र? उपचार के होला त? खुला सिमाको नियन्त्रण अनि नियमन गरी हेरौँ, अनावश्यक, अनौपचारिक, नियन्त्रण गर्न कठिन अनि हामीलाई चाहिनेभन्दा बढी नाकाहरू बन्द गरी हेरौँ। त्यसै पनि हामीले पारि पठाउनलाई खासै केहि पनि छैन, उताका साहुजीलाई पोस्दै के के ल्याउने हो ल्याउने न हो।

नाका कम भए हामी अलि मितव्ययी हुन पनि सिक्थ्यौँ कि? फेरि नेपालको प्यारो छिमेकी देश र बृहत् छिमेकमा विरलै शान्ति कायम भइरहेको हुन्छ। कहिले म्यानमार हुँडलिन्छ, कहिले बंगलादेश, कहिले भुटान त कहिले अफगानिस्तान।

त्यस बेला प्यारो छिमेकीसँगको खुला सीमामार्फत् सुरक्षित आश्रयस्थल खोज्दै विस्थापितहरू नेपाल भित्रिन्छन्। आफू सवल भएको अवस्थामा त आश्रय दिनु राम्रो हो, मानवीय धर्म हो तर आफू नै हरितन्नम भएपछि गर्ने के? नेपालीहरू नै काम र मामको खोजीमा संसारभरि छरिएर रहेको अवस्थामा के हामी कसैको शरणस्थल हुन सक्छौँ? अनि यो सानो देशले कति देशका विस्थापितलाई शरण दिन सक्छ? शरण दिएर पनि सुख छैन फेरि?

स्वदेशको हित, सुरक्षा केमा छ, त्यो त हाम्रो पंगु नेतृत्वले सोच्न छाडिसक्यो। तर छिमेकीहरूको सुरक्षा चासोप्रति त आँखा चिम्लन सक्तैनन् होला नि, होइन?

पेटै काटेर भए पनि सिमानामा थप सुरक्षाकर्मी परिचालन गरी हेरौँ। जुनसुकै मूल्यमा होस् यो अनियन्त्रित आवतजावत नियन्त्रण गरी हेरौँ। दक्षिण, पूर्व र पश्चिम दिशामा। उत्तरतर्फ त अभेद्य हिमालय पर्खालको रूपमा खडा छँदैछ। राज्य कोष पचाएर मोटाएकाहरूले कम्तीमा पनि १० प्रतिशत कम तलबभत्ता खाएर भए पनि सीमा सुरक्षामा लगानी गरौँ।

छिमेकको सुरक्षा छिमेकीकै छोराछोरीले गरून्। विश्वका अन्यान्य भूभागहरूको सुरक्षा विदेशीहरूले गरून्। त्यसै पनि खुँडा र खुकुरीको भरमा संसार जित्ने दन्त्यकथाको युग बितिसक्यो। नेपाली युवाले आफ्नै मातृभूमि/पितृभूमिको सेवा गरून्, रक्षा गरून्। विदेश गएकाहरू निःशर्त फर्कून्। पद र प्रतिष्ठाको लागि होइन, अनि सिकेको सिप, कौशल यस देशको उन्नतिका लागि प्रयोग गरून्। आफ्नै पसिना, रगत र आँसुले यो देश सिँचून् अनि बल्ल वीर नेपाली, पौरखी नेपाली, उद्यमी नेपाली, परिश्रमी नेपाली भनेको सुहाउँला।

यति गर्न सकेनौँ भने हामी नेपालीहरूलाई देशले धिक्कार्नेछ। पुस्तौँपुस्तासम्म नेपालीहरूले धिक्कार्नेछन्। नेताहरूलाई सरापेर मात्र केही हुनेवाला छैन। चेतना भया!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.