पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङस्थित कालीगण्डकी नदीको किनारमै जोडिएको छ माझी बस्ती। अधिकांश घरहरू टिनका छाप्राको रूपमा रहेका बस्तीमा करिब डेढ सय घर। अधिकांश घरको दैनिकी हो कालीगण्डकीमा पसेर मुठी–मुठी गर्दै बालुवा निकाल्ने र बिक्री गर्ने।
औँलामा गन्न सकिने मात्र परिवार होलान् आर्थिक रूपमा अलिकति बलियो भएका, नत्र सबैको हालत कसरी छाक टार्ने? भन्ने नै छ। दिनभर खोलामा बालुवा निकालेर आएको सामान्य पैसाले दैनिक गुजारा त जसोतसो चलेको छ तर रोग लागेर उपचार गर्ने अवस्था आयो भने रोग पालेर बस्नुको विकल्प छैन।
त्यही समस्यामा रहेका परिवारमध्येका एक हुन किशोर माझी। आमा, दुई सन्तान र श्रीमतीसहित रहँदै आएका ३० वर्षीय उनी ब्लड क्यान्सरबाट पीडित छन्। किशोरका भाइ सवारी चालक हुन् भने किशोर पनि चालक नै थिए। ०७७ को माघमा अचानक गम्भीर बिरामी परेका उनलाई तत्कालै उपचारको लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा लगेपछि ब्लड क्यान्सर भएको थाहा भयो। बालुवा चालेरै भए पनि जोहो गरेको पैसासहित ऋण खोजेर उनको उपचार चलिरहेको छ।
‘उसको उपचारको लागि काठमाडौं आउने-जाने मैले नै गर्ने गरेको छु। पैसा नहुँदा उपचारको त के कुरा अब गाडी भाडा तिर्न सक्ने पनि अवस्था छैन। औषधि भने पाटन अस्पतालबाट निःशुल्क मिलेको छ’ माझी बस्तीकै एक विद्यालयका कर्मचारीसमेत रहेका गणेश माझी भन्छन्, ‘यिनीहरूको घरको अवस्था निकै दयनीय छ। ६ र १२ वर्ष उमेरका दुई छोरी छन्। उनीहरूको शिक्षादीक्षादेखि खानपानमै पनि समस्या भइरहेको छ।’
किशोरका बुबाको ९ वर्ष अगाडि नै मृत्यु भएको थियो। घरमा आम्दानीको मुख्य स्रोत बनेर परिवार पाल्नुपर्ने जिम्मेवारी बोकेको मान्छेकै उपचारमा लाखौँ रुपैयाँ सक्नुपर्दा परिवार नै पिडामा छ। शरीरको रगत फेरिएको भए पनि उनले सधैँभरि औषधि सेवन गर्ने र बेला–बेलामा रगत परीक्षण गर्नुपर्ने अवस्था छ। तर, परिवार नै ऋणमा रहेकाले अब छोरालाई बचाउन सकिँदैन कि भन्ने पीरले मलिन बनेकी छिन् ६० वर्षीया आमा सरिता बोटे।
‘लौ न बाबु कोही सहयोग गर्ने मान्छे पाए भनिदिनु, जेठालाई माघबाट रोगले समात्यो। उसले कमाएर परिवार पाल्लाभन्दा यसैलाई बचाउनपर्ने भयो। उसैको उपचारमा ऋण लागेको छ, अब कसले पो पत्याउला र?’ उनले भनिन्, ‘घरमा दाल चामल किन्न पनि पैसा छैन। दुईटी नातिनी, बुहारी, छोरो र म बसेका छौँ। बालुवा निकाल्न जाम भने मेरा नाडीले बालुवा उठाएर बोरामा हाल्न सक्दैनन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।