|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदै आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने बताएका छन्।

अर्थमन्त्री शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्‍याउने बताएका हुन्।

आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्‍याउन मन्त्रालयले विकासका गतिविधिहरूलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए।

त्यस्तै बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरूमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्युन बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उनको भनाइ छ।

उनले भने, ‘थोरै राजश्वलाई वृद्धि गर्ने लक्ष्य हामीले थप्यौँ। ७ प्रतिशत वृद्धि कसरी भन्ने पनि प्रश्न आएको छ, आर्थिक गतिविधि तीव्र बनाउनुपर्छ भन्ने अन्र्तगत विकासका गतिविधिहरूलाई तीव्र बनाउने। करको दायरालाई पनि विस्तार गर्ने। देशमा उत्पादनमुलक कार्य गर्नका लागि उद्योग सञ्चालन गर्न कच्चा पदार्थमा आधारित उद्योगलाई छुट दिने। बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरूमा सुधार गरिनेछ।’

उनले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको पनि बताए। व्यापार घाटा चुलिदै गएको भन्दै उनले आयात प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताए।

उत्पादन क्षेत्रलाई जोड दिने उनको भनाइ छ। कृषि बाली बीमालाई ८० प्रतिशत पुर्‍याउनुका साथै २०० मेघावाट भन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्र्याउन आवश्यक प्रविधि भित्र्याउन १५ वर्षसम्म कर छुट दिइने उनले सुनाए।

उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्ययन भइरहेको पनि उनले बताए। वैदेशिक रोजगारीबाट कमाएर ल्याएको मध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तयारी मन्त्रालयले गरेको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.