पूर्व प्रधानपञ्चदेखि दिनानाथ पुत्रीसम्म मेयरका दावेदार

|

काठमाडौँ : बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, उति चुनावी सरगर्मी बढिरहेको छ। पार्टी कार्यालयहरूमा मात्र होइन, चिया पसल र तरकारी पसलमा समेत चुनावमा कुन पार्टीबाट कोको उम्मेदवार उठ्दै छन् भन्ने चर्चा परिचर्चा बाक्लिएको छ। देशको राजधानी भएको जिल्ला काठमाडौंका १० नगरपालिकामा सत्तारुढ दल, जसले वर्तमान सरकारको नेतृत्वसमेत गरिरहेको छ, माओवादी केन्द्रका तर्फबाट मेयरका आकांक्षी कस्ता छन्?

१. कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकामा १२ वटा वडा रहेका छन्। ६० हजार २३७ जनसंख्या रहेको र २७ दशमलब ३८ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिका काठमाडौं जिल्लाको पूर्वपट्टि रहेको छ।

माओवादी केन्द्रका तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरका लागि  नगरपार्टी कमीटीका अध्यक्षसमेत रहेका युवानेता महेश्वर फुँयालको चर्चा चलिरहेको छ। उनी पार्टीको महाधिवेशन आयोजक समिति सदस्य पनि हुन्। त्यसैगरी उपमेयरका लागि महिला नेतृ रुकु नेपालको नाम चर्चामा रहेको छ।

२. कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिकामा १० वडा रहेका छन् भने ६५ हजार ६०२ जनसंख्या रहेको छ। १४ दशमलब ७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कीर्तिपुर नगरपालिका काठमाडौंको मध्यमा पर्दछ।

माओवादी केन्द्रका कीर्तिपुर नगर अध्यक्ष शम्भुराम महर्जन स्थानीय तह निर्वाचनमा मेयरका आकांक्षी देखिएका छन्। उनी माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्यसमेत हुन्। ०३५ सलदेखि राजनीतिमा सक्रिय महर्जन ०४३ सालमा प्रधानपञ्च बनेका थिए।

उपमेयरमा भने अरू पार्टीले कस्तो उम्मेदवार उठाउँछन्, सोही आधारमा आफ्नो पार्टीले उम्मेदवार अगाडि सार्ने योजना रहेको महर्जनले बताए। उपमेयरका आकांक्षीहरूमा डाक्टर भीमा ढुंगाना र सुशीला बस्नेतको नाम चर्चामा छ।

३. गोकर्णेश्वर नगरपालिका

एक लाख ७३ हजार ५१ जनसंख्या रहेको गोकर्णेश्वर नगरपालिका ५८ दशमलब ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नौवटा वडा रहेको यो नगरपालिकाको काठमाडौंका छिमेकी जिल्ला नुवाकोट र सिन्धुपाल्चोकसँग सिमाना जोडिएको छ।

माओवादी केन्द्रका नेता टी.आर. नेपाल मेयरका आकांक्षी देखिएका छन्। उनी पनि महाधिवेशन अायाेजक समितिका सदस्य हुन्। 

४. चन्द्रागिरी नगरपालिका

८५ हजार १९८ जनसंख्या रहेको चन्द्रागिरी नगरपालिकामा १५ वडा रहेका छन्। ४३ दशमलब ९२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको चन्द्रागिरी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट श्रीकृष्ण श्रेष्ठ मेयरका आकांक्षी देखिएका छन्। उनी माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य पनि हुन्।

५. टोखा नगरपालिका

९९ हजार ३२ जनसंख्या रहेको टोखामा ११ वडा रहेका छन्। १७ दशमलब ११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको टोखामा माओवादी केन्द्रका तर्फबाट कल्पना शर्माको दावी रहेको छ। शर्मा माओवादी नेता एवं पूर्व शिक्षामन्त्री दिनानाथ शर्माकी छोरी हुन्।

महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेकी शर्माले विगत चार वर्षदेखि टोखा नगरकमिटीको अध्यक्ष रहेर काम गर्दै आएकी छन्। त्यसैगरी टोखा नगरपालिकामा माओवादीका अर्का नेता धर्म डंगोलले पनि मेयर पदमा दावी गरिरहेका छन्।

काठमाडौंमा रहेका १० नगरपालिकामध्ये टोखामा मात्र मेयर पदका लागि महिलाले दावी गरिरहे पनि पार्टीले कसलाई टुंगो लगाउने हो, त्यो भने काठमाडौं जिल्लाको बैठकले टुंग्याउनेछ।

६. तारकेश्वर नगरपालिका

८१ हजार ४४३ जनसंख्या रहेको तारकेश्वर नगरपालिकामा ११ वडा रहेका छन्। ५४ दशमलब ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तारकेश्वर नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट महाधिवेशन आयोजक समिति सदस्य धनलाल महर्जनले मेयरमा आकांक्षा देखाएका छन्। 

७. दक्षिणकाली नगरपालिका

२४ हजार २९६ जनसंखया रहेको दक्षिणकाली नगरपालिका जनसंख्याको हिसाबले काठमाडौं जिल्लाको सबैभन्दा सानो नगरपालिका हो। ४२ दशमलब ६८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो नगरपालिकामा नौवटा वडा रहेका छन्।

माओवादी केन्द्रका तर्फबाट महाधिवेशन आयोजक समिति सदस्य उर्गेन लामाले यस नगरपालिकाबाट मेयरको दावी गरिरहेका छन्।

८. नार्गाजुन नगरपालिका

६७ हजार ४२० जनसंख्या रहेको नार्गाजुन नगरपालिकामा १० वटा वडा रहेका छन्। २९ दशमलब ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो नगरपालिकामा कुमार तामाङ मेयर पदमा आकांक्षी देखिएका छन्। माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य रहेका तामाङ पार्टीको यस नगरकमिटीका अध्यक्ष पनि हुन्।

९. बूढानीलकण्ठ नगरपालिका

एक लाख ७९ हजार १८ जनसंख्या रहेको बूढानीलकण्ठ नगरपालिकामा १३ वडा रहेका छन्। ३४ दशमलब ८० वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट रविन अधिकारीले मेयरमा दावी गरिरहेका छन्। अधिकारी माओवादी महाधिवेशन आयोजक समिति सदस्यका साथै बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष पनि हुन्।

१०. शंकरापुर नगरपालिका

२५ हजार ३३८ जनसंख्या रहेको शंकरापुर नगरपालिकामा नौवटा वडा रहेका छन्। ६० दशमलब २१ वर्गकिलोमिटरमा फैलिएको यस नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट कृष्णराज सुवेदी मेयरका आकांक्षी देखिएका छन्। सुवेदी माओवादीका आयोजक समिति सदस्यसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.