नेपालमै पाइन्छ टेरोपस प्रजातिको चमेरा

|

काठमाडौं : भारतमा निपाह भाइसरको संक्रमण देखिएपछि नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी समेत गरिरहेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। यस्तै‚ टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था गरिएको बताए।

‘खुला सीमा जोडिएको छिमेकी देशमा निपाह भाइरसको संक्रमित फैला परेको छ। यस्तो बेला हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका छौं‚’ उनले भने‚ ‘शंकास्पद बिरामी आए काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइ रहेका छौं।’

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको र दशैंको बेला त्यहाँ कार्यरत नेपालीहरु घर आउने भएकाले सतर्कता रहनुपर्ने प्रवक्ता पौडैलले बताए। महाशाखाले सबै इर्वास (अर्ली वार्निङ रिर्पोटिङ सिस्टम) सेन्टिनेल साइट तथा अस्पतालहरूलाई सजग रहन ११८ वटा अस्पतालाई निर्देशन दिएको उनले बताए।

निपाह भाइरस पाइने चमेरा नेपालमै

नेपालमा अहिलेसम्म निपाह भाइरसका संक्रमित फेला परेका छैनन्। निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक प्रकारको गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो। यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार भारत र विभिन्न देशमा जस्तै नेपालमा पनि टरोपस प्रजातिको चमेरा (फ्रुट ब्याट) हुने हुँदा यसको जोखिम नेपालमा पनि उच्च रहेको छ।

‘टेरोपस प्रजातिको चमेरा निपाह भाइरसको प्राकृत स्रोत मानिन्छ। जुन हाम्रो देशमा पनि प्रशस्त भएको अनुसन्धानले देखाएको छ‚’ उनले भने‚ ‘अझै काठमाडौं र भक्तपुरलगायत  जिल्लाहरूमा टेरोपस प्रजातिको चमेरा धेरै भएको अनुसन्धानहरूले देखाउँछ। जसले गर्दा नेपाल निपाह भाइरसको उच्च जखिममा छ।’

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। संक्रमित चमेराबाट सुँगुर, गाई, गोरूजस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै‚ संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ।

कति घातक छ?

निपाह भाइरस पशुबाट मानिसमा सर्ने र मानिसमा सरेपछि मानिसबाट मानिसमा सर्ने एक प्रकारको सरूवा रोग हो। डा. पुन निपाह भाइरसको हालसम्म कुनै औषधि र खोपसमेत नबनेकाले यसबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प भएको बताउँछन्।

निपाह भाइरसबाट मृत्युदर हालसम्म ७५ प्रतिशतसम्म देखिएको हुँदा कोरोना भाइरसभन्दा घातक रहेको बताइन्छ। निपाहबाट संक्रमण भएका  १० जनामध्ये ७ जनाको मृत्यु हुने गरेको अनुन्धानले देखाएको छ।

निपाह भाइरस मानव शरीरमा छिरेपछि तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउने‚ धेरै टाउको दुख्ने‚ इन्सेफ्लाइटिस हुने र मानिसको मृत्युसमेत हुने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.