|

काठमाडौं : विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए। 

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो। यस्तो भएमा ‘बजेट होलिडे’ भनिन्छ। अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो। अध्यादेशबाट ल्याइएको बजेट गत साउन ४ गते संघीय संसदमा पेस भएको थियो।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ। त्यस आधारमा बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ। आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ। अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताए। 

प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गतेका लागि राखिएको छ। अर्थमन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताए। ‘५/७ दिन खर्च गर्न नहुन सक्छ, राजस्व संकलनमा भने कुनै अवरोध हुँदैन,’ अर्थमन्त्री शर्माले भने। 

पेश्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको बताए। 

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसदमा पेश गरिएको थियो। एमालेको चर्को नाराबाजीबीच अर्थमन्त्री शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए।

अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताए पनि सदनमा एमालेको अवरोध जारी छ। सभामुखले सोमबार बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.