पार्टीका लागि जस्तोसुकै त्याग गर्न पनि तयार

|

धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पैसा र पदका लोभीहरूले पार्टी फुटाएर अलग भएको आरोप लगाएका छन्। (एमाले) पार्टी विभाजनपछि पहिलो पटक गृहप्रदेश धनगढी आएका नेता रावलले नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताएका छन्। देश र जनताभन्दा पद र पैसालाई महत्व दिनेहरूले पार्टी फुटाएको उनको आरोप छ।

‘पार्टीको केन्द्रीय उपाध्यक्षको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरू र हाल एमालेमै रहेका कमरेडहरूलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब,’ उनले भने, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस्। स्थानीय चुनाव र आम चुनाव हेरौं। स्वदेशी, विदेशी षड्यन्त्र चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ।’

एमाले रक्षाका लागि त्याग गर्न तयार

यस्तै रावलले एमालेको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। एमाले विभाजनपछि धनगढी पुगेका उनले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले एमालेलाई जीवन्त राख्न आफू त्याग गर्न तयार रहेको बताएका हुन्।

तर, कसैले पाखा लगाउन खोजेमा त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि उनले दिए। ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ,’ उनले चेतावनी दिए, ‘तर, त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ।’

उनले सम्पूर्ण कार्यकर्तालाई एकताका पक्षमा उभिनसमेत आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.