|
फाइल फोटो

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइसँगै अन्य क्षेत्र चलायमान भइसकेका छन्। तर, पर्यटन क्षेत्रले भने अझै गति लिन सकेको छैन।

सरकारी तथ्यांकअनुसार कोरोना भाइरस महामारीका कारण लकडाउन गरेपछि पर्यटन क्षेत्रमा आवद्ध ८० प्रतिशत मजदुरले रोजगारी गुमाएका छन्। ६० प्रतिशत व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्।

कोरोनाका कारण करिब लामो समय बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। उडान सञ्चालन भए पनि पर्यटन क्षेत्र तत्काल तङ्ग्रिन सक्ने अवस्था नरहेको पर्यटन व्यवसायीहरू बताउँछन्। किनकि‚ नेपालको पर्यटन क्षेत्रमा बाह्य पर्यटनले ठूलो हिस्सा धानेको छ। बाह्य पर्यटक उल्लेख्यरूपमा नभित्रिँदा लकडाउन हटाइए पनि पर्यटन क्षेत्र बौरिएको छैन।

क्वारेन्टाइनले बाह्य पर्यटकलाई बन्देज

नेपालमा कोरोना भाइरस संक्रमण दर केही कम हुँदै गएको छ। त्यसैले सरकारले स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न अनुमति दिइसकेको छ।

तर, बाह्य पर्यटकहरु नेपाल आएपछि एक साता क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागु गरेको छ। जसका कारण पर्यटक आगमनमा समस्या भएको हो।

बाह्य पर्यटक आगमनमा अंकुश लगाउँदा पर्यटन क्षेत्रले गति लिन कठिन भएको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल बताउँछन्। उनले भने, ‘एकातिर क्वारेन्टाइन बस्नुपर्ने भनिएको छ भने अर्कातिर नेपाल आएकाको क्वारेन्टाइन बसेको नबसेको अनुगमन गरिएको छैन।’ यसरी सरकारले एकोहरो नियम मात्र लागु गर्दा नेपाल आउने पर्यटक अन्योलमा परेको उनको भनाइ छ।

कोरोना अघिसम्म वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल आउने गरेका थिए।  तर‚ पछिल्लो डेढ वर्षमा तीन लाख पर्यटक नेपाल आएको सरकारी तथ्यांक छ। सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आए भने सन् २०२१ को अगस्ट सम्ममा ६६ हजार ९६६ जना आएको पर्यटन बोर्डको तथ्यांक छ।

एक प्रदेश एक संग्रहालय

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई चलायनमान बनाउन सरकारले विभिन्न योजना अघि सारेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि  पर्यटकीय गतिविधि समेटिएको मानव निर्मित पर्यटकीय उत्पादन संग्रहालय निर्माण गर्ने भएको छ। प्रत्येक प्रदेशमा एक संग्रहालय निर्माण गर्न लागेको बोर्डका उपाध्यक्ष रिजालले जानकारी दिए।

रिजालले भने, ‘काठमाडौं उपत्यकाको पेरिफेरीमा माउन्टेन टुरिज्म भनेर छिट्टै स्थापना गर्नेछौं।’ उनका अनुसार बागमती प्रदेशमा कम्तीमा पाँच वर्षभित्र संग्रहालय निर्माण गरिने छ। अन्य प्रदेशमा अनुसन्धानको क्रममा रहेको रिजालले बताए।

साथै‚ हरेक वर्ष २ देखि ३ दिनसम्म प्रदेश स्तरीय मेला आयोजना गर्ने योजना पनि छ। मेलामा प्रदेशभित्र गतिविधिहरू प्रदर्शन गरिनेछ। ‘सातवटै प्रदेशमा यसै वर्षदेखि मेलाको कार्यक्रम सुरू हुन्छ,’ रिजालले भने, ‘उत्पादन भएका वस्तु तथा सामग्री देखाउने, खरिदबिक्री गर्न मिल्ने गरी मेला लाग्नेछ।’

जिल्लामा एक मुख्य पर्यटकीय गन्तव्य

पर्यटन बोर्डले जिल्लाका विभिन्न गन्तव्यमध्ये एउटा मुख्य गन्तव्य पहिचान गर्ने  योजना अगाडि बढाएको छ। नेपालका अधिकांश जिल्लामा पर्यटकीय गन्तव्य रहेका छन्।

रिजाल भने, ‘अलि महत्त्वपूर्ण र धेरै पर्यटक कुन ठाउँमा लैजान सकिन्छ भनेर पहिचान गरिनेछ।’

एक स्थानीय तह एक उत्पादन

पर्यटकीय गतिविधिलाई बढाउन सरकारले एक स्थानीय तहको एउटा उत्पादन र पर्यटन प्रवर्द्धनका लागि ७५३ वटै स्थानीय तहभित्र एउटा गन्तव्य पहिचान गरिने योजना बनाएको छ।

गुफा, मन्दिर, ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, क्यानोइङ, दृश्यावलोकनलगायत पर्यटकीय उत्पादनको पहिचान गराउने रिजालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.