धनकुटा : महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रूपैयाँ लगानी गरेर गाउँमै गाईपालनसँगै छुर्पी उद्योग चलाएर राम्रो आम्दानी गरिरहेका छन्।
सुरुमा केही गाई पाल्न सुरु गरेका अधिकारीले नमुना गाई फर्म दर्ता गरेर डेरी उद्योग सञ्चालन गरिरहेका छन्। विसं २०७४ देखि नै डेरी उद्योग चलाउन थालेका उनले सुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय थालेका थिए। करिब डेढ वर्ष आफ्नै फर्मको दूधबाट मात्रै उद्योग सञ्चालन गरेका उनी अहिले आफ्नो र गाउँलेको गरी दैनिक १ हजार २ सय लिटर दूध प्रशोधन गर्छन्।
उत्पादित छुर्पीलाई बजारको समस्या छैन। उनको फर्ममा उत्पादित छुर्पी, घ्यू धनकुटालगायत पूर्वी तराईका जिल्लासहित भारत, कोरिया, अमेरिका निर्यात हुने गरेको छ। छुर्पी खरिदका लागि व्यापारी उनीकहाँ नै आउने गरेका छन्।
उद्योगबाटै छुर्पी प्रतिकिलो ८ सय रूपैयाँ र घ्यू प्रतिकिलो ५ सय रूपैयाँमा बिक्री हुने गरेको छ। ४ वर्षदेखि अधिकारी गाउँमै मनग्गे आम्दानी गर्न सफल छन्। गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख लिटरजति दूध अन्य किसानसँग खरिद गर्ने बताउने उनले मासिक ३ लाख आम्दानी हुने भएपनि खर्च कटाएर १ लाख ५० हजार रूपैयाँसम्म बचत गर्ने गरेको बताए।
हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दूग्ध प्रशोधन उद्योग खुल्ने क्रम बढेको छ। तर, अधिकारी आफूलाई छुर्पीको माग धान्न नसकिरहेको बताउँछन्। उनले दूधका अन्य परिकारसमेत बनाइरहेका छन्।
यसरी भयो उद्योग सुरु
गाउँलेले उत्पादन गरेको दूध बिक्री नभएपछि त्यो दूधसमेत खरिद गरेर छुर्पी उत्पादन गरेको अधिकारीले बताउँछन्। सुरुमा सुनसरीको एउटा सहकारीले गाउँमा आएर किसानसँग वार्षिक दूध बिक्री गर्ने सम्झौता गरेको र पछि धेरै उत्पादन भएको दूध सो सहकारीले नलिएपछि आफैंले उद्योग स्थापना गरेको उनले बताए।
स्थापनाताका सुरुमा काम नजानेर धेरै दूधलगायत सामान खेर गएको उनी बताउँछन्। डेढ वर्षसम्म आफूलाई दूग्ध परिकार बनाउन सिक्नै लागेको त्यसपछि भने अब केही आउँछ भनेर अन्य किसानको दूध संकलन गर्न थालेको उनले बताए। उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा दैनिक १ सय ७० लिटर दूध उत्पादन गर्दै आएका छन्।
दूध बेच्न सहज
गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी–१ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ। दूग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई सह नपर्दा मात्रै दूध लाने गरेको गाउँलेहरू बताउँछन्। गाउँमै स्थापित उद्योगले दूध किन्न थालेपछि उनीहरू खुशी भएका छन्। उद्योगले दूध किन्न थालेपछि पशुपालनतर्फ आकर्षित भएका छन्।
यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन्। भनेको बेला बिक्री नभएको दूध सजिलै बिक्री हुन थालेपछि किसानलाई राहत भएको स्थानीय राजेन्द्र थापाले जानकारी दिए। उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैंसीको ४५ रूपैयाँमा खरिद गरिरहेको छ। गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको उनीहरूको भनाइ छ।
अनुदानमा झमेला
छुर्पी उद्योग गाउँमै स्थापना भएपछि ग्रामीण युवाले रोजगार पनि पाउन थालेका छन्। गाउँका ५ युवालाई रोजगारी दिएका अधिकारीले भने हालसम्म कुनै अनुदान पाएका छैनन्।
सरकारले दिने अनुदानमा उनी सन्तुष्ट छैनन्। अनुदानमा स्थानीय तहले माथिल्लो तहमा जान भनेको र प्रदेश र केन्द्रको अनुदान लिने प्रक्रिया झन्झटिलो भएकाले जान नभ्याउने उनको गुनासो छ। अनुदानका लागि एकपटक जाँदा कर्मचारीले चासो नदिने र पटकपटक जानका लागि एक जना बेग्लै मान्छे नै राख्नुपर्ने उनको भनाइ छ।
अनुदानका लागि नीतिगत प्रक्रियामा झमेला भएकाले महिनौं खर्चनुपर्ने भएकाले समस्या भएको उनको भनाइ छ। सरकारले व्यवसाय प्रवर्द्धन गर्न ल्याएको अनुदान वास्तविक र लक्षित वर्गले नपाएको उनको गुनासो छ।
महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले गाईपालक किसानका लागि गोठ सुधार कार्यक्रम सञ्चालन गरिरहेको र साना उद्योगका लागि केही कार्यक्रम ल्याउने तयारीमा रहेको बताए।
उनले किसानका मागका आधारमा काम गरिरहेको दाबी गरे। उनले किसान तथा व्यवसायीलाई नगरपालिकाले सकेको अनुदान दिइरहेको र ठूला किसान तथा व्यवसायीलाई माथिल्ला निकायमा सिफारिस गरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।