|
फाइल फोटो

संखुवासभा : मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संम्लग्न देखिएका लोकबहादुर कार्कीका भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन्।

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो। प्रहरीले अनुसन्धानका क्रममा घटनास्थलबाट  नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए। लोकबहादुरका भाइ नरेशमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताए।

घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली  घटनास्थल उम्लिङ खोला गाउँमै रहेको उनले बताए।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की,  ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।  प्रहरीले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई  ५ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो।

हत्यापछि उम्लिङ खोला गाउँ पुगेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर, संघिय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिम घटनास्थल पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.