|

काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आज बजार ७६.६५ अंकको गिरावट आएको हो।

योसँगै नेप्से परिसूचक २ हजार ८ सय १२.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.७३ अंकले घटेर ५ सय २५.७८ को विन्दुमा ओर्लेको छ। आज सेयर कारोबार ९ अर्ब बढीको भएको छ। आज बजारमा भारी गिरावट आउनुको मुख्य कारण बैंकहरूले ब्याजदर बढाउनु नै रहेको विश्लेषकहरूले बताएका छन्।

बैंकहरूले निक्षेप संकलन बढाउनका लागि मुद्दतिको ब्याजदर बढाएका छन्। यसले बजारमा नकारात्मक प्रभाव पारेको उनीहरूको ठहर छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.९४ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह ४.०८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.११ प्रतिशत, विकास बैंक समूहमा ३.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.६२ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशतले गिरावट आएको छ।

यस्तै जीवन बीमा समूहमा २.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०४ प्रतिशत, लघुवित्त समूहमा ३.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९४ प्रतिशत, अन्य समूहमा १.६८ प्रतिशत र व्यापार समूहमा ३.२६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

बिहीबार नेप्सेमा सूचीकृतमध्ये २ सय २९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँमा किनबेच भएका छन्। आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

रिडी हाइड्रोपावरको २८ करोड ३८ करोड रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २५ करोड ५८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको २० करोड ४३ लाख रुपैयाँ, नेपाल बैंकको १ करोड ८३ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १८ करोड ३३ लाख रुपैयाँ, नेसनल हाइड्रोको १८ करोड ११ लाख रुपैयाँ, अरुण काबेली पावरको १५ करोड ८६ लाख रुपैयाँ र ज्योति विकास बैंकको १५ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज कारोबारमा आएका कम्पनीहरूमध्ये २ वटाको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १८३ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरू मालामाल भएका छन्। यो लघुवित्तको सेयरमूल्मा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य पनि ०.०२ प्रतिशतले उकालो लागेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरूले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढीले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.