विद्यार्थी भन्छन्- अनलाइन हाेइन, स्कुलमै पढ्न मज्जा

|

काठमाडौं : शुक्रबार बिहान साढे ९ बजे गोकर्ण,नयाँपाटीमा रहेको बाल सुधार माध्यमिक विद्यालयमा पुग्दा कोही विद्यार्थी खेलिरहेका थिए । कोही साथीभाइसँग गफिँदै थिए। कोही पढ्न आउने क्रम जारी थियो ।

धेरैपछि विद्यालयमा उपस्थित भएर साथीभाई भेट्न पाउँदाको खुसी उनीहरुको अनुहारमा स्पष्टै देखिन्थ्यो।  विद्यार्थी रुपा राईले विद्यालयमै आएर पढ्न पाउँदा धेरै खुसी लागेको सुनाइन।

कक्षा ७ मा अध्ययनरत रुपाले भनिन्,‘घरमा हुँदा घरी बत्ती जान्थ्यो, घरी नेट गएर पढाई छुट्थ्यो,अहिले यहीँ आएर पढ्न पाउँदा खुसी लागेको छ, अब स्कूल बन्द नभइदिए हुन्थ्यो।’

गोकर्णेश्वर नगरपालिकाले गत भदौ १५ गतेदेखि निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न दिएको छ। त्यसैकारण बालसुधार मावि १६ गतेबाट सञ्चालनमा आयो।

बालसुधार माविका प्रधानाध्यापक हेमराम घिमिरेका अनुसार १०:२५ बजेबाट कक्षा सुरु हुन्छ। नर्सरी,कक्षा १, ३, ५, ७ र ९ कक्षा सुरु भएर १, ३ र ५ कक्षाकाे पढाई १२ः२० मा सकिन्छ।  कक्षा २,४,६,८ र १० काे चाहिँ साढे १२ बजेबाट पढाई सुरु भई दिउँसाे ३ :२५  बजे सकिन्छ।

‘एउटा बेन्चमा दुई जना मात्रै राख्ने गरेका छौँ,स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छाैं,’प्रधानाध्यापक घिमिरेले भने। विद्यालय बन्द गर्ने नभई अब विस्तारै यसैगरी सञ्चालन गर्नुपर्ने उनी बताउँछन्।

‘विद्यालय बन्द गरेर हुँदैन,बरु विभिन्न विकल्प छन,आलोपालो प्रणालीबाट पढाउनुपर्छ,धेरै विद्यार्थी भएमा आधा एक दिन, अर्को दिन आधा गरेर पढाउनुपर्छ,’घिमिरेले भने।

नाम्गेलस्थित गोकर्ण माविमा पुग्दा भने बिहान ७ बजेदेखि ९ः४५ सम्मको नर्सरीदेखि ५ कक्षा सम्मको एक सिफ्टको पढाइ सकेर विद्यार्थी घर फर्किसकेका थिए। नगरपालिका-९ आरुबारी चाेकस्थित अरुणोदय माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप बढी देखिन्थ्यो।

व्यवस्थापन गर्नलाई नै शिक्षकलाई हम्मेहम्मे थियो। बालबालिका साथीभाइसँग मिलेर खेलिरहेका थिए।  तै पनि त्यहाँ साबुन पानीले हात धोएर सेनिटाइज गरेपछि मात्रै कक्षा कोठामा प्रवेश गरिरहेका थिए विद्यार्थी। 

अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले बढी विद्यार्थी भएकाले व्यवस्थापनमा केही समस्या देखिएको बताए।

‘यहाँ एक हजार बढी विद्यार्थी छन,उनीहरुलाई दुई वटा भवनमा राखेका छौँ,हामीले जति सम्झाए पनि बालबालिका टेर्दैनन्,मास्क फुकालेर फाल्छन्,तर पनि हामीले हात धुने,सेनिटाइज गर्ने गरेका छौँ,अहिलेसम्म कोही विद्यार्थी बिरामी भएका छैनन्,’उनले भने।

उनका अनुसार बिहानी सिफ्टमा कक्षा ११ र १२ को पढाई हुन्छ। कक्षा १ देखि ८ सम्मको साढे १० देखि दिउँसो दुई बजेसम्म पढाई हुन्छ। विरामीका लक्षण भएकालाई कक्षामा नबोलाउने गरेको उनले बताए। 

नेपालले भने,‘९ र १० को पढाई भने अर्कै भवनमा हुन्छ,एउटा बेन्च ग्याप राखेर दुई जना विद्यार्थी राख्ने गरेका छौँ।’ उनले पनि विद्यालय बन्द गर्ने नभई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सञ्चालन गर्दै जाने बताए। अनलाइन कक्षा प्रभावकारी नहुने उनको भनाई छ।

सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत निमा याङजीले पनि यसैगरी भौतिक रुपमा पठनपाठन हुनुपर्ने बताइन्। 

अरु विद्यालयमा झार पलायो

गोकर्णेश्वरभित्र भौतिक उपस्थितिमै पठनपाठन भइरहँदा काठमाडौं महानगरपालिका भित्रका भने विद्यालय सञ्चालनमा छैन। नगरपालिकाले अझै खोल्ने अनुमति दिएको छैन।

                                                                                     डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविको प्राङ्गणमा पलाएकाे झार

करिब पाँच महिनादेखि विद्यालय बन्द नै छन्। जसकारण विद्यालयका आँगनमा झार पलाउन थालेको छ। बौद्धस्थित महेन्द्र बौद्ध माविको खेल्ने चौर झाडिमा परिणत भएको छ। पहिला त्यहाँ विद्यार्थी खेल्दै पढ्थे। तर अहिले न पढ्न पाएका छन् न ती चाै‌रमा खेल्न नै।

त्यस्तै, डिल्लीबजारको पद्मकन्या विद्याश्रम मावि यतिखेर सुनसान छ। विद्यालयको आँगन र बगैँचा झाडि बनिसक्यो। कहिलेबाट ती आँगनमा विद्यार्थीको पाइला टेकिने हो टुंगो छैन।

पुतलीसडक स्थित पद्मोदय माविमा पनि लामो समयदेखि पठनपाठन नहुँदा आँगनमा झाडि मौलाउँदै छ। भक्तपुर र ललितपुर जिल्लाका विद्यालय पनि यस्तै अवस्थामा पुगेका छन्।

शहरी क्षेत्रमा तत्काल विद्यालय नखोल्न अभिभावकको सुझाव

अभिभावकहरु कोरोना महामारीको जोखिम कायमै भएको भन्दै तत्काल विद्यालय खोल्न नहुने पक्षमा छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्,‘शहरी क्षेत्रमा तत्काल विद्यालय खोल्न हुँदैन,ग्रामीण भेगमा जोखिम नभए सञ्चालन गर्दा हुन्छ।’ 

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ‘स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधिमा कोभिडको अवस्थाअनुसार स्थान विशेषलाई विभिन्न ४ स्तरमा वर्गीकरण गरी स्तर अनुरूप अलग रङबाट अवस्थाको चित्रण गरिने व्यवस्था गरेको छ।

जसअनुसार अति उच्च जोखिमको अवस्था (रेड जोन), उच्च जोखिमको अवस्था (एम्बर जोन), मध्यम जोखिमको अवस्था (एलो जोन) र सामान्य जोखिमको अवस्था (ग्रीन जोन) छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि रेड जोनमा पर्ने क्षेत्रमा विद्यालय नखोल्न निर्देशन दिएको छ। 

‘बुधबार विद्यालय सञ्चालनबारे प्याब्सन,अभिभावक,स्वास्थ्य विज्ञ, शिक्षा सचिवलगायतसँग बैठक बसेका थियौँ,त्यसमा रेड जोनमा पर्ने क्षेत्रमा तत्काल विद्यालय नखोल्नुपर्ने निर्णय भएको छ,जोखिम कम भएको खण्डमा स्थानी तहले कोभिड संख्याको आकलन गरि निर्णय गर्नुपर्छ,’मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भने।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ महामारीमा देशभरका विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। ​

                                                                                                                    पद्मोदय माविको प्राङ्गणमा पलाएकाे झार 

ललितपुर महानगरपालिकाले भने शुक्रबार(आज)बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ। विद्यालय सञ्चालनको सबै जिम्मा निजी तथा सामुदायिक विद्यालय लाई जिम्मा दिएको छ। महानगरपालिकाले गत सोमबार जारी गरेको सूचनाअनुसार विद्यालय ले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्नुपर्ने छ। 

काठमाडौं महानगरपालिकाले पनि बिहीबार विद्यालय सञ्चालनबारे बैठक गरेको थियो। उक्त बैठकले दशैँअघि विद्यालय सञ्चालन गर्नेगरी औपचारिक कुनै निर्णय गरेको छैन।

                                                                                            महेन्द्र बौद्ध माविको खेल्ने चौरको हालत

बरु विद्यालय सञ्चालनको माेडालिटी तयार पार्न ७ सदस्यीय समिति गठन गरेको छ। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अहिलेसम्म तत्काल विद्यालय खोल्नेबारे निर्णय नभएको जानकारी दिए। खोल्नै पर्ने भएमा स्थानीय तह र प्रशासनको समन्वयमा मात्र विद्यालय खोल्नुपर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.