|

काठमाडाैं: १८ औँ शताब्दीको अन्त्यतिर युरोप, अमेरिकामा तस्वीर चलाउने (चलचित्र बनाउने) प्रयास भइरहँदा नेपालमा वीर शमशेरले शासन गरिरहेका थिए। त्यतिबेलासम्म गोरखापत्रको जन्म भइसकेको थिएन। बोलेकै आधारमा, लेखेकै आधारमा कारबाही हुन्थ्यो।

लेख्नेले शब्द रोजेर लेख्नुपर्थ्यो, बोल्नेले तौलेर बोल्नुपर्थ्यो। छिसिक्क तलमाथि भए ज्यान नै जोखिममा पर्थ्यो। विदेशमा फिल्म निर्माण हुन थाल्दा हाम्रोमा पत्रिका छाप्नकै लागि हम्मेहम्मे भइरहेको थियो। त्यतिबेला हामीलाई चल्ने चित्रबारे सोच्ने फुर्सदै थिएन। चित्र चल्न थाल्यो अरे भन्ने कुरा नै पत्याउने कि नपत्याउने भन्ने थियो।

सन १९०६ मा अस्ट्रेलियाका चार्ल्स टेटले 'द स्टोरी अफ केली ग्याङ' बनाएर नयाँ कथावाचन शैलीको आविष्कार गरे जसलाई विश्व चलचित्र इतिहासमा पहिलो फिचर फिल्म मानिन्छ। त्यसपछि अमेरिका, बेलायतलगायत देशमा पनि फिल्म बनाउन थालियो।

त्यतिबेला नेपालमा देव शमशेरलाई हटाएर सत्तामा चन्द्र शमशेरको उदय भइसकेको थियो। सातामा एकपटक प्रकाशन हुने गोरखापत्रमा उनकै लगाम कसिएको थियो। अत्यन्त थोरै नेपालीसम्म पुग्ने गोरखापत्रमा के छाप्ने के नछाप्ने उनी नै तय गर्थे। त्यस्तो बेलामा नेपालमा फिल्म भन्ने शब्द नै आएको थिएन भनेर सहजै अनुमान लगाउन सकिन्छ।

विश्वमा फिल्म बन्न थालेको लगभग ५० वर्षपछि विसं २०२२ साल असोजमा नेपालमा पहिलो पटक 'आमा' फिल्म प्रदर्शनमा आयो– जसलाई नेपालमै बनेको, नेपाली भाषाको पहिलो फिल्म मानिन्छ। नेपाली भाषामा बनेको पहिलो फिल्म 'सत्य हरिश्चन्द्र' भनिए पनि त्यसको कुनै अभिलेख छैन।

आमासँगै 'माइतीघर', 'कुमारी', 'मनको बाँध' लगायतलाई सुरुवाती चरणका नेपाली फिल्म मानिन्छ। त्यसपछि ३० देखि ४० को दशकमा बनेका 'कुसुमे रुमाल', 'वासुदेव', 'साइनो' लगायतले नेपाली फिल्मलाई व्यfवसायिक तथा कलाका हिसाबले एक खुड्किलो माथि उठाएको मानिन्छ।

बीचमा नेपाली फिल्म जगतको स्तर खस्किएका बेला 'लुट', 'कबड्डी', 'पशुपतिप्रसाद', 'छक्का पञ्जा' लगायतले फिल्म उद्योगलाई केही राहत दिलाए भन्नु अतिशयोक्ति नहोला।

साढे पाँच दशक लामो इतिहास बोकेको नेपाली फिल्म उद्योगले धेरै उतारचढाव भोगेको छ। पहिले मुश्किलले वर्षमा एउटा फिल्म निर्माण हुने गरेकोमा अहिले (कोरोनाकालभन्दा) अगाडि हेर्ने हो भने वर्षमा सयको औसतमा फिल्म बनिरहेका छन्। त्यति नै प्रदर्शनमा पनि आएका छन्।

फिल्म निर्माण र प्रदर्शन पहिलेभन्दा सहज छ। साथै फिल्म सर्वसाधारणसम्म पुग्ने धेरै बाटा पनि अहिले छन्। तर, नेपाली फिल्म उद्योग आफ्नो उमेरअनुसार परिवर्तन हुन सकेको छैन। अझै पनि अन्तरराष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थिति छैन जस्तै वा शून्य बराबर नै छ। छन् केही, जो एउटै हातको एउटै औँलामा गन्न सकिन्छ।

असोज १ गतेलाई चलचित्र दिवस मनाइँदै आएको छ। तर, यतिबेला देशभरिका चलचित्र घर (फिल्म हल) भने सुनसान छन्। चलचित्र दिवस यो वर्ष पनि पोहोरको जस्तै खल्लो छ। कारण, कोरोना भाइरस अनि त्यसले गर्दा भएको लकडाउन, लकडाउनले सुनसान सिनेमा हल र सिनेमा हल बन्द हुँदा धरमराएको सिनेमा उद्योगले अस्तित्व जोगाउन गरिरहेको संघर्ष। 

कुनै पर्व जस्तो गरी मनाइने चलचित्र दिवसको केही वर्षयता बेवास्ता गर्न थालिएको वरिष्ठ कलाकार मदनदास श्रेष्ठ बताउँछन्। 'हाम्रो पालामा चलचित्र दिवस भनेको कुनै पर्व जस्तो हुन्थ्यो। गोकर्णेश्वरमा गएर पूजा गरिन्थ्यो। सम्पूर्ण चलचित्र कलाकार भेला भइन्थ्यो। पुराना सामानहरू देखाइन्थ्यो।'

अहिलेका चलचित्रकर्मीले चलचित्र दिवस बिर्सँदै गएकोमा दुःखित हुँदै उनले भने, 'अहिले त चलचित्र दिवस पनि फेसबुकमा मात्र मनाएको जस्तो लाग्छ। साथै नेपाली सिनेमा उद्योगले अहिलेको जस्तो अवस्था कहिल्यै भोग्नु नपरेको र यस्तो बेलामा सरकारले साथ नदिए नेपाली सिनेमाको भविष्य मैले देखेको छैन।'

मदनदास जस्तै अर्का कलाकार लक्ष्मी गिरीलाई पनि नेपाली सिनेमा उद्योगको चिन्ता छ। उनी भन्छिन्, 'फिल्म उद्योगले ठिक्क पिकअप लिन लागेको बेलामा कोरोना महामारी आयो। यसले उद्योगलाई झन् पछाडि धकेल्यो।' साथै उनी अब पहिलेको अवस्थामा आउन कम्तिमा पनि ५ वर्ष लाग्ने बताउँछिन्।

डेढ वर्षदेखि निष्क्रिय रहेकाले पनि सिनेकर्मीमा चलचित्र दिवसको त्यो पहिलेको जस्तो उत्साह देखिँदैन। सिनेमा उद्योग यतिबेला चलमलाउने प्रयासमा छ।

पहिलो लकडाउन सकिएपछि पनि यस्तै प्रयास हुँदाहुँदै कोरोनाको अर्को लहर आयो र फेरि लकडाउन भयो, सिनेमा उद्योग फेरि थला पर्‍यो। उठ्न खोज्ने र फेरि लड्ने शृंखला कहिले अन्त्य होला कि नहोला अहिले नै भन्न सकिने अवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.