|

डडेल्धुरा : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल अमेरिकासँग ६ विकेटले पराजित भयो। नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि स्टिभन टेलरले आक्रामक ब्याटिङ गरे। उनले ६३ बलमा १२ चौका र ३ छक्कासहित ९२ रनको उत्कृष्ट पारी खेले। यस्तै, मोनाक पटेलले अविजित ३८ र जसकरण मल्होत्राले नटआउट ३६ रनको योगदान दिए।

बलिङमा सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए। त्यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। उनले १०५ बलमा ३ चौकासहित ५५ रन बनाएका हुन्। मल्लको यो तेस्रो वानडे अधर्शतक हो।

यस्तै, कुशल भुर्तेलले ३६, डेब्यु खेलाडी गुल्शन झाले २८, करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रनको योगदान दिए।

बलिङमा सौरभ नेत्रावलकरले ४, काइल फिलिपले ३ तथा करिमा गोरे, एल्मोर हचिन्सन र नोस्तुश केंजिगेले १–१ विकेट लिए। यस जितसँगै अमेरिकाले नेपालविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिएको छ। सोमबार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो।

नेपाल हार्नुका मुख्य पाँच कारण

१. खराब सुरुवात

अमेरिकाविरुद्ध नेपालको सुरुवात खराब रह्यो। नेपालले तेस्रो ओभरको पाँचौं बलमै ओपनर आसिफ शेखलाई मात्र ३ रनमा गुमाएको थियो। उनले सुरुवाती विकेट गुमाएपछि दबाबमा आयो। उनले अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेका थिए। ओमानसँगको खेलमा ९० रनको उत्कृष्ट पारी खेलेका थिए। तर, दोस्रो खेलमा उनको ब्याट चलेन।

अर्का ओपनर कुशल भुर्तेल मात्र ३६ रनमै आउट भए। राम्रो ब्याटिङ गरिरहेका उनी केही अगाडि बढेर शट खेल्ने क्रममा बोल्ड आउट भए। उनी धेरै बेर क्रिजमा नरहनु पनि नेपालका हारको कारण बन्न पुग्यो।

२. मध्यक्रमका ब्याट्सम्यान फ्लप

नेपालको मध्यक्रमको ब्याटिङ पनि खराब नै रह्यो। कुशल आउट भएपछि आएका रोहितकुमार पौडेल पनि सस्तैमा आउट भए।

चौथो नम्बरमा आएका पौडेलको पनि ब्याट खासै चल्न सकेन। उनी पनि मात्र ३ रनमा आउट भए। उनी आउट भएलगत्तै क्रिजमा आएका विनोद भण्डारीले पनि राम्रो पारी खेल्न सकेनन्।

उनी पनि फ्लप नै रहे। उनले मात्र १० रन बनाएर आउट भए। नेपालले अमेरिकाविरुद्ध सरप्राइज प्याकेजका रूपमा मैदानमा उतारेका डेब्यु खेलाडी गुल्शन झाले केही शर्टहरू प्रहार गरे। उनी छैटौं नम्बरमा ब्याटिङ गर्न आएका थिए।

उनले धेरै डट बल खेले। ५३ बलमा २ चौका र १ छक्कासहित उनले २८ रन जोडे। मध्यक्रमका ब्याट्सम्यानको खराब ब्याटिङ पनि नेपाल हार्नुको मुख्य कारण मान्न सकिन्छ।

३. खराब शट सिलेक्सन

सुरुवातबाटै दबादमा खेलिरहेको नेपालको फिनिशिङ पनि राम्रो हुन सकेन। यसका साथै खराब शट हान्ने धुनमा ब्याट्सम्यान आउट भए।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल शून्य रनमा आउट भए। छक्का हान्ने चक्करमा उनी आउट भए। तेस्रो बलमै छक्का प्रहार गर्न खोजेपछि उनी क्याच भएका हुन्। त्यसपछि मैदान छिरेका सोमपालको ब्याट पनि चल्न सकेन। उनी पनि खराब शट चयन गर्दा आउट भए। उनी मात्र २ रनमा क्याच आउट भएका हुन्।

जसले नेपाली टिममा एकपछि अर्को दबाब सिर्जना भयो। फिनिशरको रूपमा चिनिएका करणले पनि उत्कृष्ट फिनिस गर्न सकेनन्। लगातार विकेट गइरहेपछि उनले पनि चौका/छक्काको वर्षा गर्न सफल रहे। जसकारण उनले अमेरिकालाई बलियो लक्ष्य दिन सकेनन्। करण पनि १२ रन बनाएर क्याच आउट भए। उनले पनि खराब शट हानेका थिए।

४. सौरभ र टेलरको उत्कृष्ट प्रदर्शन

नेपालको हारको कारण अमेरिका कप्तान सौरभ नेत्रावलकर र ब्याट्सम्यान स्टिभन टेलर पनि बने। यी दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

टेलरले ६३ बलमा १२ चौका र ३ छक्कासहित ९२ रनको उत्कृष्ट पारी खेले। बलिङमा नेत्रावलकरले ९ ओभरमा २९ रन दिएर महत्वपूर्ण ४ विकेट लिँदै नेपाललाई पूर्णरूपमा दबाबमा राखे। उनले गुल्शन झा, कुशल मल्ल, सोमपाल कामी र करण केसीको विकेट लिए।

५. खराब फिल्डिङ

अमेरिकाविरुद्ध नेपालको फिल्डिङ पनि खराब नै रह्यो। नेपाले फल्डिङमा पाएका मौकाहरूलाई सदुपयोग गर्न सकेन। जसले गर्दा नेपाल हार्नुका अर्को कारण खराब फिल्डिङ पनि बन्यो।

७.२ ओभरमा स्टिभन टेलर व्यक्तिगत ४२ रन बनाइरहेको अवस्थामा नेपालले उनको क्याच छुटायो। उनको म्याच नेपालका लागि भारी बन्यो। कुशल भुर्तेलले उनको क्याच छाडेका थिए। टेलरको आक्रामक ब्याटिङ नै पछि गएर नेपालको हारको कारण बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.