|

काठमाडौं : काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा सुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो। इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित सांसदहरूले अवलोकन गरेका छन्।

जात्रामा लाखेनाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायतका सांस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो। जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति (कार्तिकेय) कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिएपछि मात्रै रथयात्राको शुभारम्भ गरिएको थियो। आजको दिन विशेष देवताका राजा इन्द्रको पूजा गर्ने प्रचलन रहेको छ।

काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा सुरु गरेको बताइन्छ। ​इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए। असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ। यो काठमाडौं उपत्यकामा मनाइनेमध्येको लामो जात्रा हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.