|

बर्दिया : तीनतिर जंगल अनि अर्कोतिर नदीले घेरिएको सानो गाउँ। सानो बस्तीका प्रायजसो सबैको पेशा खेतिपाती। गुरिलाल पनि किसान नै हुन्, जसले परिवारका ३ सदस्य एकै दिन गुमाएका छन्।

मृतक तीन जनाको शव आइतबार दिउँसोसम्म पनि उठाइएको थिएन। गाउँका सबै मान्छे उनको घरमा जम्मा भएका थिए। पत्नी, भाइ र बुहारी एकैसाथ गुमाएका गुरिलालको अनुहार दुःख र पीडाले भरिएको थियो। उनी शोकमग्न थिए।

धान खेतमा राखेको विद्युतीय पासोबाट करेन्ट लाग्दा शुक्रबार राति गुरिलालका भाइ ३२ वर्षीय बालकृष्ण थारू, भाइबुहारी २९ वर्षीया सुनिता र पत्नी ४३ वर्षीया बेलमतीको मृत्यु भएको थियो। उनीहरू तीनै जना खेतमा पानी हेर्न गएका थिए। विद्युतीय पासो भने उनकै छिमेकीले बँदेलका लागि थापेका थिए।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा गुरिलालका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क) पक्राउ पनि परे। यो घटनाले सिंगो गाउँ नै शोकमग्न भएको छ। जंगलको बीचमा रहेको गाउँ , जहाँ स्थानीयले हरेक रात जंगली जनावरको त्रासमा काट्नु पर्छ।

त्यसमाथि आफूले लगाएको अन्नबाली बँदेल, चित्त्तल, हात्तीलगायत जनावरले सखाप पारिदिँदा गाउँले हैरान पनि छन्। तिनै बँदेललाई थापेको पासोमा पर्‍यो गुरिलालको परिवार। उनी अहिले होस् गुमाएको अवस्थामा छन्। पत्नी, भाइ र बुहारी त उनले गुमाए नै अब बाँकी जिन्दगीको चिन्ता थपिएको छ उनलाई।

यस्तो थियो घटना

असोज १ गते शुक्रबार रातको ९ बजेको थियो। बर्दियामा त्यस दिन निकै गर्मी थियो। गुरिलाल र उनकी पत्नी सँगै थिए। त्यतिकैमा झण्डै साढे ९ बजेतिर गुरिलालकी पत्नी शौचालय जान निस्किइन्। शौचालय गएकी पत्नी धेरै बेरसम्म पनि नफर्किएपछि गुरिलालको मनमा चिसो पस्छ। उनी नडराउन पनि किन जहाँ राति जंगली जनावरको त्रास यसै पनि हुन्छ।

‘केही छिनको पर्खाइपछि श्रीमती नफर्किंदा अँधेरोमै उनलाई खोज्न निस्किएँ’, थाहाखबरसँग कुरा गर्दै गुरिलालले भने, ‘शौचालयसम्मै पुग्दा पनि भेटिनँ।’ पत्नीलाई नदेखेपछि डराएका गुरिलाल अझै आत्तिन्छन्।

अलि पर खेतसम्म नजर डुलाउँछन्, झण्डै दुई सय मिटर पर टर्च बलिरहेको दृश्य उनको आँखामा पर्छ। उनमा त्यहाँसम्म पुग्ने आँट आउँदैन, तर पनि डराउँदै डराउँदै उनी त्यतै तिर लाग्छन्। त्यहाँ उनले राजबहादुर शाहीलाई देख्छन्, उनले नजिकै आफ्नी पत्नी पनि लडिरहेको देख्छन्। राजबहादुरले हतोत्साहित हुँदै आफूले बँदेलका लागि थापेको पासोमा परेर तीन जनाले ज्यान गुमाएको सुनाउँछन्।

गुरिलाल आत्तिँदै पत्नीलाई झकझक्याउँछन्। त्यसबेलासम्म उनकी पत्नीको प्राणपखेरु उडिसकेको हुन्छ। 'कतै अलिकति सास बाँकी छ कि भन्दै उनलाई झकझक्याउन खोजें,' गुरिलालले आँसु पुछ्दै भने, 'शरीर तातै थियो, कतै सास बचेको छ कि भन्ने आस लाग्यो, मलाई के थाहा उनले प्राण त्यागिसकिन भनेर।'

पत्नी जिउँदो छैनन् भन्ने पत्याउन उनलाई कठिन भयो। खेतबाट पिठ्यूँमा बोकेर उनले पत्नीलाई आफ्नो आँगनसम्म पुर्‍याए। पछि–पछि शाही पनि आए। त्यसपछि खैलाबैला मच्चिन्छ। प्रहरीलाई खबर हुन्छ। प्रहरी पुग्छ। पत्नीलाई त खेतमा गुरिलालले मृत भेट्टाउँछन्। छेवैको घरका भाइबुहारी पनि घरमा नभएको थाहा पाएपछि घटनाले व्यापक रुप लिन्छ।

भाइबुहारी किन फर्किएनन् भन्दै प्रहरी सहितको टोली खोज्न निस्किन्छन्। घरभन्दा अलि पर कुलामा झण्डै डेढ सय मिटर तल २ वटा शव भेटिन्छन्। ती शव अरु कसैका नभएर गुरिलालको भाइबुहारीका थिए।

शोकमग्न अवस्थामा रहेका गरिलालले भने, ‘श्रीमती, भाइ र बुहारीको एकै चिहान होला भनेर कहिल्यै सोचिनँ।’ यो घटनाले गुरिलालको जीवनमा अन्धकारमय भएको छ। जिन्दगीका सबै सपना टुटेका छन्। घटनाले जीवनमा नयाँ मोडमा पुर्‍याएको उनी सुनाउँन्।

बालबच्चाको बिचल्ली

बँदेललाई थापेको पासोमा एकै परिवारका तीन जनाको ज्यान जाँदा गाउँ नै शोकमग्न छ। गुरिलालका ६ भाइको घर एकै ठाउँमा छ। उनका साइँला भाइ बालकृष्ण र बुहारी सुनिताका एक छोरा र एक छोरी छन्। बाबुआमाको मृत्युपछि ११ वर्षकी छोरी र ७ वर्षका छोराको बिचल्ली भएको छ। उनीहरुको पालनपोषणको जिम्मेवारी अब गुरिलालकै काँधमा आइपरेको छ। उनले बालबच्चाको पालनपोषणको जिम्मा पीडकले लिनुपर्ने माग राखेका छन्।

यस क्षेत्रमा विद्युतीय धरापमा जनावर पार्ने घटना यसअघि भए पनि मानिस नै धरापमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको यो पहिलो घटना हो। यसअघि विद्युतीय धरापमा पर्दा एउटा जंगली हात्ती मरेको थियो।

निकुञ्ज र डिभिजन वन तथा सामुदायिक वनबाट जंगली जनावर गाउँ पसी बालीनाली तथा पशु चौपायाको समेत क्षति गर्ने गरेकाले स्थानीयले बदलाको भावनाले पासो थाप्ने गरेका छन्। जसले मानव र वन्यजन्तुबीच द्वन्द्वसमेत बढ्दो छ। बर्दिया राष्ट्रिय निकुञ्जले भने यस्ता घटना नियन्त्रणका लागि बेलाबेलामा गस्ती गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.