समस्या कमसल सडकको, कारबाही सवारी साधनलाई !

|

पर्सा :  पर्सामा सवारी कारबाहीको सन्दर्भमा अन्य जिल्लाको तुलनामा फरक पाइएको छ। सवारी नियम सर्वाधिक उल्लंघन गरेर चल्ने  सवारीमा  प्राय:  मोटरसाइकल हुन्।

तर तुलनात्मक रुपमा पर्सामा भने ट्राफिक नियम अटेर गरी कारबाहीमा पर्ने चाही ट्रकको संख्या बढी पाइएको छ।          

मोटरसाइकलभन्दा ६ हजार ६ सय ७० बढी ट्रक कारबाहीमा

गत आर्थिक वर्ष ०७७/०७८ मा कारबाहीमा पर्ने कुल २६ हजार १ सय ७० वटा सवारीमध्ये ट्रकको संख्या मात्र १२ हजार ४ सय ५४ रहेको छ। यो सोही अवधिमा कारबाहीमा परेका मोटरसाइकलको भन्दा ६ हजार ६ सय ७० वटा ट्रक बढि हो।

यो अवधिमा ट्राफिक नियम उलंघन गर्ने सवारीमध्ये मोटरसाइकलको संख्या भने जम्मा ५ हजार ७ सय ८४ मात्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। आर्थिक वर्ष ०७६/०७७ मा पनि मोटरसाइकलभन्दा ट्रक नै ९२ वटा बढी कारबाही परेको तथ्यांकले देखाएको छ।

ट्रक र मोटरसाइकलपछि कारबाहीमा धेरै पर्ने सवारीमा टेम्पोलगायत अन्य साना सवारी रहेका छन्। ती सवारीहरू कुल ४ हजार १० वटा छन्।

त्यसैगरी कार जिप भ्यान पनि १ हजार ५ सय ४५ वटा कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक ताराप्रसाद खत्रीले बताए। ट्रक बढी कारबाहीमा पर्ने कारण प्राविधिक रहेको उनको भनाइ छ। 

सडक गुणस्तरहीन, कारबाहीमा ट्रक

मुलुकको प्रमुख भन्सार नाका भएका कारण भारतबाट औद्योगिक कच्चा पदार्थसहितका सामान लिएर आउने ट्रकहरू पनि कारबाहीमा पर्ने गरेका छन्। कारण ती ट्रकहरूले भारतको सडकको मापदण्ड अनुसार बढि सामान लोड गरेर नेपाल प्रवेश गर्दा नेपालको सडकको कमजोर मापदण्डका कारण दण्डित हुनु पर्दा ट्रकको संख्या बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

भारतमा नेपालमा भन्दा सडकको स्तर राम्रो छ। त्यहाँ १४ चक्के ट्रकले ३० टनसम्म सामान लोड गर्न पाउँछन्। तर नेपालको सडक त्यो मापदण्ड अनुसारको नभई २५ टनसम्मको मात्र भएको कारण यता आउँदा कारबाही गर्नै पर्ने बाध्यता ट्राफिकहरूलाई हुने पनि ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

मुलुकको नीतिअनुसार बारा पर्साको औद्योगिक क्षेत्रमा कच्चा पदार्थ बोकेर आउने ट्रकहरूलाई चाहिँ गृह प्रशासनकै निर्देशन अनुसार कारबाही नगरिने गरेको छ।

नीति कार्यान्वयन र फरक विशेषता

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक सन्तु जयसवालले पनि प्राविधिक कारणले नै मोटरसाइकलभन्दा पर्साको सन्दर्भमा ट्रक बढी कारबाहीमा परेको बताए।

देशको नै मुख्य प्रवेशद्वार र आइसिपी र सुख्खा बन्दरगाह समेत पर्सामा भएका कारण ट्रकहरूको आवागमन पनि बढी हुने र औद्योगिक क्षेत्र बाहेकका ठाउँमा बढी मालवस्तु लिएर जाने ट्रक कारबाहीमा पर्ने हुँदा पर्सामा अन्य जिल्लाको भन्दा फरक तथ्याङ्क देखिने गरेको उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.