|

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकको फरक दृष्य देखिएको छ। नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहे। 

साउन २३ को बैठकबाटै एमालेले निरन्तर बैठक अवरोध गर्दै आइरहे पनि सभामुखले पेलेरै बैठक अगाडि बढाइरहेका छन्। 

एमालेको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। 

अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३ प्रतिशत मात्रै प्रतिस्थापन गरेको बताएका छन्। बजेट पारित नहुँदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको थियो। 

तर, अर्थमन्त्री शर्माले राखेको विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले मात्रै भाग लिए। अर्थमन्त्री शर्माले पेश गरेको प्रत्येक विधेयकमा नेमकिपा सांसद सुवालले मात्रै बोलिरहे। 

५३ मिनेट चलेको प्रतिनिधि सभाको आजको बैठकमा अधिकांश समय सुवालले मात्रै बोलेका छन्। तर, संसदमा पाँच दलीय सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत भएकाले उनको प्रस्ताव अस्वीकृत भयो। यता, प्रमुख प्रतिपक्षी दल एमाले सभामुख विरुद्ध नाराबाजीमै व्यस्त रह्यो ।

बैठकमा अन्य सांसदले छलफलमा भाग नै नलिएको भएकाले सुवालको प्रश्नमा अर्थमन्त्री शर्माले जवाफ दिइरहे। 

सांसद सुवालले संसदमा बोल्दै गर्दा हरेक पटक अमेरिकी परियोजना एमसिसीको विरोध गरे। एमसिसीबारे न अझै सत्तारुढ गठबन्धनले आफ्नो साझा धारणा ल्याउन सकेको छ न प्रतिपक्षी दलले। 

त्यसो त सांसद सुवालले देशमा भइरहेको अनियमिता, भ्रष्टाचार, विकासका पूर्वाधारबारे अर्थमन्त्रीमाथि प्रश्न गरिरहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.