|

काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन्।

प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी आमा ८४ वर्षीया पार्वती, पत्नी ५२ वर्षीया कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटना स्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए। पक्राउ परेका चारै जना माथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन्।

 मादी हत्याकाण्ड थप अनुसन्धानसम्बन्धी प्रहरीको प्रेस रिलिज

घटना मिति: २०७८।५।२१ गते

घटनाको विवरण :

घटना समय: ५:२० देखि ०५:४० बजे

मिति २०७८।५।२१ गते विहान अं. ५:२० बजे जिल्ला संखुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउका वर्ष ९० को वौद्ध बहादुर कार्कीको श्रीमति वर्ष ८४ की पार्वता भन्ने पार्वती कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा बुहारी वर्ष ५४ की कमला भन्ने मनमाया कार्की, नातिनी बुहारी वर्ष ३२ की रंजना कार्की, पनाती वर्ष ८ को वपिन भन्ने दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ सदस्यहरूको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पटतथा धारिलो हतियार प्रहार गरि हत्या भएको र उक्त घटनामा निज वौद्ध बहादुर कार्की सकुसल अवस्थामा घरमा फेला परेको । घटनामा संलग्न अभियुक्त रण बहादुर कार्कीको छोरा वर्ष २५ को लोक बहादुर कार्कीलाई मिति २०७८।५।२७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ।

घटनाको थप अनुसन्धान गर्न १ नं. प्रदेश प्रहरी प्रमुख प्रनामनि अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिप्रका संखुवासभाको प्रनाउ लालध्वज सुवेदी, ईप्रका चैनपुरका प्रनि र प्रदेश प्रहरी कार्यालय (RIT) का प्रनि सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ बस्ने ४ जनालाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि बढाएको ।

पक्राउ परेका अभियुक्तहरू

१. लाल बहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार)

२. खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की

३. लाल बहादुर कार्कीको छोरा वर्ष ४९ को रण बहादुर कार्की

४. रण बहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की

योजना

घटना योजनावद्ध ढंगबाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटना अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की नरेश कार्कीसमेत बसी बनाएको देखिएको प्रहरीले जनाएको छ।  'योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको  देखिएको छ',  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक शुभेश अधिकारीले भने। 

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो।  'योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेज कुमार कार्कीको घरमा गई "लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु" भनि तेज कुमार कार्कीलाई लोक बहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर जाँदै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकि तयारी हालतमा बसेको  देखिएको छ', अधिकारीले भने। 

 उनका अनुसार मृतक तेज कुमार कार्की विहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निम्ति गई गुनि रहेको लोक बहादुर लाई 'अल्छि अझै सम्म उठेको छैनस्' भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की रण बहादुर कार्की समेत घरमै रहेको  र घरबाट फर्केने क्रममा योजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरि आफुले दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेपछि पछि गई घर पछाडिको गोगनको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाई बाटोमा झारी हत्या गरि घोप्टो पारेको  अवस्थामा भेटिएको थियो।​

'टनाको बेला मृतकले  'लोकेले मार्यो, मलाई नमार' भन्दै गरेको हार गुहार सुने पछि 'मेरो श्रीमानलाई नमार'भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटिमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रंजना नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको ।

उक्त घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनि लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको  देखिएको छ', उनले भने। ​

तत्पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएका थिए। खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको। फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घर मुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको अधिकारीले बताए। 

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत बरामद गरि थप अनुसन्धान भई रहेको  अधिकारीले जानकारी दिए। 

घटना घटनुका कारणहरू:

अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेज कुमारले 'तंँ जड्याहा किन यसो गर्छस' भनि गालि र खड्ग बहादुरले पनि "तलाई के मतलव तलाई मार्छु" भन्दै झगडा गर्ने गरेको  खुलेको अधिकारीले बताए। 

लोक बहादुरलाई 'तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस् भन्ने नरेशलाई 'तं डुडे काम नलाग्ने भईस" भन्ने र रण बहादुरलाई समेत "तँ लठेब्रो केही गर्ने सक्दैनस भन्ने गरेको, जहिले पनि हेत्रे र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको  अधिकारीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.