|

पर्वत : ‘डोजर नआउने बेलासम्म त हामीले गण्डकीमा पसेर बेल्चाले निकालेको बालुवा सजिलै बिक्री हुन्थ्यो’ कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगाको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीका ५५ वर्षीय यामबहादुर माझीले भने, ‘बालुवा किन्ने मान्छे यहीँ आउँथे मूल्य गरेपछि ट्रयाक्टर आएर लैजाने गरेको थियो। डोजरले निकाल्न थालेपछि हाम्रो खासै बिक्दैन।’ 

आफूहरुले निकालेका बालुवा बिक्न छाडेपछि बिहान बेलुका छाक टार्ने पनि मुस्किल भएको माझीले बताए। ‘पहिले जस्तो बालुवा किन्ने मान्छे आएका छैनन्,’ यामबहादुरले सुनाए, ‘अनि बेल्चाले निकालेर एक ट्याक्टर, एक टिपर बनाउने पनि त सजिलो कहाँ छ र?’

याम बहादुरले भनेको जस्तै पीडा माझी बस्तीका धेरैले वर्षौँदेखि भोग्दै आएका छन्। पुर्खाकै पालादेखि कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीमा बस्दै आएका उनीहरूको दैनिकी कालीगण्डकी नदीमा पसेर बालुवा निकाल्ने, आ–आफ्ना थुप्रा लगाउने र एकमुष्ट बिक्री गर्ने थियो। तर, मान्छेले बेल्चा लगाएर बालुवा निकाल्दा लामो समय लाग्ने भएकाले खरिदकर्ताहरू उनीहरूको बालुवा किन्न तयार हुँदैनन्। त्यसमा पनि ठूलो परिमाणमा बालुवा बेच्ने र किन्नेहरूको चिनजान र सम्बन्धका कारण बालुवा किन्नेमध्येका निकै थोरै मात्रै माझी बस्तीका मजदुरको सम्पर्कमा पुग्छन्।
  
पहिले–पहिले आफूहरूले निकालेको बालुवाले राम्रो बजार पाउने गरेको भए पनि पछिल्लोपटक भने पहिलेको जस्तो अवस्था नरहेको मजदुरहरू बताउँछन्। बजारमा माग भएको बालुवाको परिमाण मेसिनबाट निकालिएको बालुवाले धान्ने भएपछि आफूहरूको पेट भोको रहने अवस्था आएको ५० वर्षीया पार्वती सुवेदीले बताइन्। 

‘माझी बस्तीका मजदुरलाई बचाउन पर्छ, उनीहरू फेरि भोको पर्लान् भनेर हामीले निकालेको बालुवा किनिदिन को नै पो आउँछ र? डोजरले निकालेको एकमुष्ट पाएपछि हामीले मुठीमुठी गरेर निकालेको बालुवाले कसरी ठाउँ पाउनु नि?’ उनी भन्छिन्, ‘हामी त यहाँ लगभग डेढ सय घरमा छौँ, धेरैजसोका काम भनेको बालुवा निकालेर बिक्री गर्ने हो। कोही कोही बजारतिर काम पाए उता गर्छन्, कोहीले गाडी चलाउँछन्।’

घरका परिवारका सदस्यहरू सक्ने जति सबै बिहानदेखि बेलुकासम्म गण्डकीमै सिँगौरी खेल्छन्, आफूले जम्मा पारेको बालुवा सहित सबैका थुप्रा मिलाएर बिक्री गर्छन्। उनीहरूले प्रतिट्रयाक्टर २५ सय देखि तीन हजार रुपैयाँसम्ममा बिक्री गरेको बताए। 

‘बालुवा निकालेरै हो परिवार पाल्ने हाम्रो त अरू उपाय केही पनि छैन। घरमा तीन जना बच्चा छन्। उनीहरूलाई चाहिएको कसरी पु¥याउने?’ बालुवा निकाल्दै गरेकी २७ वर्षीया कुमारी विकले भनिन्, ‘हाम्रा केटाकेटी पाल्ने यही बालुवा निकालेर हो। डोजरले निकालेसी हामीले निकालेको खासै खोज्दैनन्। कतै केही काम पाए नि बालुवा छोडेर अरू केही गर्न हुनथ्यो।’

आफूहरूले बालुवा निकाल्ने क्रममा कहिले काहीँ प्रहरीले असजिलो पार्ने गरेको उनीहरूको गुनासो छ। नदीमै पसेर एक्स्काभेटर बालुवा निकालेको कसैले नदेख्ने तर बेल्चाले बालुवा निकालेर परिवारको भोक मेटाउन खोज्दा आफूहरूलाई अप्ठ्यारोमा नपारीदिए हुन्थ्यो भने मजदुरको अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.