|

इलाम : एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। ३२ वर्षपछि नेपालले बलियो टोली हङकङलाई पुनः प्रतिद्धन्द्धी पाएको हो।

अघिल्लो खेल फिलिपिन्ससँग २–१ ले हारेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतिद्धन्द्धी हङकङ समेत सहज हुने छैन। वरियता र इतिहास समेत हङकङको पक्षमा छ। त्यसैले यो खेल नेपालका लागि गर या मरको अवस्थामा छ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८६ मा रमा सिंहको नेतृत्वमा हङकङविरुद्ध उसकै घरेलु मैदानमा खेलेको थियो। नेपाल टेलिभिजनको जागिरबाट बिदा मिलाएर रमाको कप्तानीमा नेपाली टोली हङकङ पुगेको थियो। खेलमा नेपाल १–० ले पराजित भयो। १८औं मिनेटमा सुइ वाइ वाईले गरेको गोल नै निर्णाय बन्यो।

३५ वर्षअघिको त्यो प्रतियोगिता तत्कालीन डिफेन्डर कमला हिराचनको मानसपटलमा अझै ताजा छ। पुरुष टोलीसँग मागेको जर्सी र बुट लिएर हङकङ हिँडेको टोलीले ३ खेलमा १२ गोल व्यर्होदै फर्किएको थियो। एएफसी वुमन एसियन कपको छैटौँ संस्करण हुने भएसँगै राष्ट्रिय टिम बनाउने तयारी सुरू भयो। उक्त प्रतियोगिताको छनोटको आधारका रूपमा २०४३ सालको राष्ट्रिय प्रतियोगितालाई लिइयो। देशभरबाट छानिएका २५–३० खेलाडीलाई काठमाडौंमा दुई साता प्रशिक्षण दिइएको कमलाले स्मरण गरिन्।

तत्कालीन समयमा प्रत्येक अञ्चलबाट ३/३ जना खेलाडी छनोट गरियो। नेपालको टिम तयार भयो। नेपाली टिमको कप्तानको जिम्मेवारीमा रमा सिंह र कमला उपकप्तान थिइन्। महिला टिमका लागि जर्सी र बुट थिएन। भारतमा पाइने सामान्य टिप भएको बुट लगाएर प्रशिक्षण गर्ने टोलीका लागि ब्रान्डेड फुटबल बुट सरकारले व्यवस्था गर्न सकेन।

‘एन्फाले पासपोर्ट बनाइदिनुका साथै ट्रयाकसुट, साडी र ब्लाउज त दियो तर जर्सी दिएन‚’ कमला पहिलो अन्तर्राष्ट्रिय सहभागिता सम्झँदै भन्छिन्, ‘हामीसँग जर्सी हुनु अनिवार्य थियो। अनि नेपाल–११ का दाइहरूको फिर्ता गर्ने सर्तमा जर्सी र बुट मागेर लगेका थियौं।’

त्यसबेला १६ खेलाडी चयन गर्दै नेपाली राष्ट्रिय टिम हङकङ पुगेको थियो। आयोजक हङकङविरुद्ध मैदानमा उत्रँदा नेपाली खेलाडीले नौलो महसुस गरिरहेका थिए। धुलो भएको घरेलु मैदानमा खेलेको नेपाली टिमलाई आयोजकविरुद्ध कृत्रिम मैदान (आर्टिफिसियलर्टफ) मा प्रदर्शन गर्न निकै असहज भएको थियो।

हङकङसँग डेब्यु खेलमा पराजित नेपालले थाइल्यान्डसँग ५–० र इन्डोनेसियासँग ६–० को हार भोग्यो। तर, नेपाली महिला टिम निराश बनेन। किनकि‚ अभावबीचको नेपाली महिला फुटबल टोलीको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। ‘नियमित प्रशिक्षण गरेका टिमविरुद्ध अभावबीच खेलेको हामीले कसरी जित्थ्यौँ र!’ पुरानो अवस्था सम्झँदै कमलाले भनिन्, ‘तयारी अवधि सुनेपछि विपक्षीले हाम्रो खेलको तारिफ गरेका थिए।’

तीन वर्षपछि सोही प्रतियोगिताका लागि कमलाको नेतृत्वमा सातौं संस्करण खेल्न हङकङ पुगेको टोलीले अझ फराकिलो हार व्यहोर्‍यो। आयोजकविरुद्ध ३–० ले हारेको नेपाललाई इन्डोनेसियाले ८ गोल र जापानले १४ गोल गर्‍यो। पर्याप्त प्रशिक्षण र सुविधाको अभावमा त्यसबेला अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रर्दशन कमजोर देखिएको कमला बताउँछिन्।

‘अञ्चलबाट राम्रो खेल्ने केही खेलाडी छानेर राखिन्थ्यो। एक साता जतिको प्रशिक्षणमा खेलाडीहरुले एक अर्कालाई राम्रोसँग बुझ्न समेत पाउँदैन थिए। त्यसबेला हामीलाई अखिल नेपाल फुटबल संघले पनि हेर्दैन थियो। जे गर्थ्यो राष्ट्रिय खेलकुद परिषद्ले गर्थ्यो‚’ कमलाले ती बेलाको अवस्था सम्झिइन्‚ ‘अवस्था यस्तो थियो कि प्रतियोगिता खेल्दा दिइने बुट र जर्सीसमेत फिर्ता दिनु गर्थ्यो। सधैं प्रशिक्षण पाइँदैन थियो। पुरुष टोलीका भाइहरुसँग फुटबल खेल्नु गर्थ्यो।’

पुरुष फुटबलरलाई जस्तो सुविधा दिएको भए नेपाली नतिजा तुलनात्मक रुपमा अब्बल देखिने कमलाको तर्क छ। पछिल्लो पुस्ताका खेलाडीहरुले सुविधा पाएकोमा उनी खुशी महसुस गर्छिन्।

‘अहिलेका बहिनीहरुले पाए जस्तो हामीले पनि सुविधा पाएको भए निक्कै राम्रो खेल्न सक्थ्यौं। हाम्रो मुलुक अहिले त एसियाली स्तरको भइसक्थ्यो कि जस्तो लाग्छ। अहिले पनि ढिला भएको छैन। नेपालमै प्रतियोगिता नियमित आयोजना हुने अनि विदेशमा पनि खेलेर अनुभव सँगाल्ने हो भने नेपाली महिला टोलीले निकै राम्रो गर्थे भन्ने विश्वास छ।’ उनले भनिन्‚ ‘म आफै टिम मेनेजर भएर ओलम्पिक छनोटमा समेत गएँ। नेपालको फुटबल स्तर बढेको छ। हामीलाई ८ गोल गर्ने इन्डोनेसियालाई २–० ले हरायौं। सरकारले अझै सुविधा दिने हो भने नेपाली महिला फुटबलले चाडै प्रगती गर्न सक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.