|

रुकुम (पूर्व): पर्यापर्यटनको आकर्षक केन्द्रको रूपमा परिचित सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फुल्नथालेको छ। कमल फुल्नथालेपछि यहाँको सुन्दरता छचल्किएको छ।

कमल फुलेकाले यहाँको दृश्य निकै मनमोहक बनेको छ। जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ। असार महिनासम्म दह छेउछाउको भाग हरित बन्छ। त्यसपछि कमल फुल्न सुरु गर्छ। फूलसँगै हरियाली भने कार्तिकसम्मै रहन्छ। कमल दहको पानी सफा र निलो छ। मुहान पनि नदेखिने, पानी पनि नबग्ने कमल दहको अनौठो विशेषता छ।

सधैँ कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ। एक हजार ७ सय वर्ग मिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको यो दहमा बाह्रै महिना ताल चरीहरू पौडिरहेका हुन्छन्। त्यसले यो दह सदाबहार आकर्षणका रुपमा रहेको छ। कमल काचै पनि खान सकिन्छ । यसलाई अचारको रुपमा पनि प्रयोग गरिन्छ।

कमलको फूलदेखि जरासम्म सबै मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। कमलका जरा नियमित सेवन गरेमा जन्डिस रोग निको हुने स्थानीयको भनाइ छ। कलमका जरा निकाल्नका लागि हरेक वर्ष चैत्र र वैशाख महिनामा गाउँपालिकाले टेन्डर मार्फत ठेक्का आह्वान गर्दछ। ठेकेदारले जरा निकाल्नका लागि निश्चित मापदण्ड तोकेअनुसार कमलका जरा निकाल्ने गरिन्छ।

जिल्लाकै मुख्य पर्यटकीय स्थलको रुपमा रहेको कमल दहलाई संरक्षणमा गाउँपालिकाले निकै चासो दिएको छ। गाउँपालिकाले चारैतर्फ घेरावारका साथै बाटोमा आकर्षक ढुङ्गा विछाउने काम गरिरहेको छ। ठाउँठाउँमा बस्नका लागि प्रतिक्षालय निर्माण र बेञ्च राखिएको छ।

कमल दहलाई संरक्षणका साथै दहको परापूर्वकाल देखिको विशेषतालाई अध्ययन गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए।

विस्तृत अध्ययन गरिएमा त्यसअनुसार थप विकास गर्न सजिलो हुने दाहालको भनाइ रहेको छ। गाउँपालिकाको विशेष पहल र योजनामा कलम दल संरक्षण समितिद्वारा पर्यटकीय स्थलको स्वरुपमा ढाल्दै संरक्षण, प्रवद्र्धन र आधुनिकीकरण गरेपछि कमल दह आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.