|

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहँदा जिल्ला जिल्लामा चुनावी माहोल तातेको छ। कांग्रेस लमजुङमा पनि जिल्ला अधिवेशनको चटारो छ।

केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिसहित पदाधिकारीका आकांक्षी थुप्रै देखिएका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संस्थापनइतर समूहबाट र अन्य असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै लमजुङ जिल्ला कांग्रेसका नेताहरुले सभापति र अन्य पदाधिकारीको लागि उम्मेदवारी दिने तयारी गरेका छन्। 

लमजुङ सभापतिका लागि लागि बृषराज गुरुङ, टकराज गुरुङ, गमप्रसाद गुरुङ, रमेश पाण्डे, आनन्द घिमिरे र हरि बरालको चर्चा छ। उपसभापतिका लागि रहर गर्ने नेता खासै खुलिसकेका छैनन् भने सचिवका आकांक्षीहरु नवीनचन्द्र घिमिरे, कृष्णबहादुर अधिकारी, राजकुमार पाण्डे, रघुनाथ गुरुङ लगायत छन्। अधिवेशनसम्म आकांक्षी घटाएर सकेसम्म सहमतिमा ल्याउने प्रयास गर्ने‚ नभए थोरै प्रतिस्पर्धीबीच चुनाव गराएर नेतृत्व छान्ने कसरतमा लमजुङ कांग्रेस लागेको छ।

सभापति उमेदवारको अन्तिम टुंगो लागेपछि मात्रै अन्य पदाधिकारीका आकांक्षीलाई टिममा मिलाएर अघि बढाउने तयारी भएको नेता टकराज गुरुङले बताए। सोही अनुसार छलफल चलिरहेको उनको भनाइ छ। 

लमजुङमा असोज ९ गते स्थानीय तह, १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ भने एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अधिवेशन हुन लागेको गुरुङले बताए।

सभापतिका आकांक्षी आकर्षक योजनासहित चुनावी मैदानमा देखिएका छन्। बृषराज गुरुङले आफू सभापतिमा निर्वाचित भए लमजुङमा कांग्रेसलाई आगामी चुनावमा स्थानीय तहदेखि प्रतिनिधिसभासम्म पहिलो पार्टी बनाउने दाबी गरेका छन्। यस्तै‚ स्थानीय तहसम्मै पार्टी संगठनको वैचारिक संगठन बलियो बनाउने, जिल्ला कार्यसमिति निमार्णमा कांग्रेसलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने वातावरण बनाउनुका साथै अग्रजलाई राजनीतिक सम्मान र युवालाई अवसर दिने योजना गुरुङको छ। 

सभापतिका अर्का आकांक्षी गमप्रसाद गुरुङले संगठन चुस्त बनाउने, कार्यकर्तालाई प्रशिक्षित गर्ने र अन्य राजनीतिक दलको दाँजोमा कांग्रेसलाई अब्बल बनाउने क्षमता भएका कारण आफूले सभापतिमा तयारी गरेको बताए। यस्तै‚ आनन्द घिमिरेले पार्टीलाई गतिशील र रचनात्मक बनाउनुका साथै पर्यटन, कृषि, जलविद्युत्, भौतिक संरचना निमार्णमा सांगठनिक विकासको दृष्टिकोण स्पष्ट पार्ने योजना अघि सारेका छन्। 

सभापतिका अन्य आकांक्षीहरु पनि आ–आफ्नै एजेन्डा लिएर चुनावी तयारी गर्दै छन्। जिल्लाको वर्तमान सभापति भेषबहादुर पौडेलले भने आफूलाई सभापतिमा दोहोरिने इच्छा नभएको तर सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन्।

सचिवको तयारी गरिरहेका नवीनचन्द्र घिमिरेले पार्टीको अभिलेखीकरण, पार्टी कार्यालयको व्यवस्थापन, अग्रजको योगदानको अध्ययन र कदर, सभापतिलाई सहयोग गर्दै संगठनलाई अगाडि बढाउनुको साथै बीपीको समाजवादको सिद्धान्त बुझाउनु जरुरी रहेको जोड दिएका छन्।  यस्तै‚ लोकतान्त्रिक समाजवादबारे तल्ला तहको कार्यकर्तासम्मलाई पनि जानकारी दिने उनको उद्देश्य छ।

लमजुङ कांग्रेसका पुराना नेता दामोदर अधिकारीले निकै संघर्ष गरेर जिल्लामा कांग्रेसको स्थापना गरेको र त्यसलाई मौलाउने काममा पनि धेरै नेता कार्यकर्ताको योगदान रहेकोले ऊर्जाशील नयाँ पुस्ताले अबको नेतृत्व सम्हालेर संगठन हाँक्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.