|

झापा : राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजस्व तिरेको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले प्रतिकार गरेका छन्।

मंगलबार अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायाले दुई पोका कपडा राजस्व तिरेर भ्यानमा लैजाँदै थिए। भन्सारदेखि ५० मिटर दूरीमा प्रहरी चेकपोष्टमा इन्ट्री गराएलगत्तै राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लागेपछि व्यापारी र कारोबारीले राजस्व तिरेको सामान लैजान नदिने भन्दै अडान लिँदै सडकमै घेरा हाले। ओझाले माथिको आदेश भन्दै आफ्नो अडान छाडेनन्। दुवै पक्षले अडान नछाडेपछि घटनास्थल केही बेर तनावपूर्ण बन्यो। भीडभाड बढ्यो। त्यसपछि घटनास्थलमा झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुग्यो। त्यसपछि अनुसन्धान अधिकृत ओझाले राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान दीपक खड्कालाई सम्पर्क गरेर घटनास्थलबारे जानकारी गराए। घटनास्थलको अवस्था बुझेपछि प्रमुख अनुसन्धान अधिकृत खड्काले नियन्त्रणमा लिएका सामान प्रहरी कार्यालय झापामा लगेर छानबिन गर्न आदेश दिए।

तर, व्यापारी र कारोबारीले त्यस आदेशमाथि असहमति जनाउँदै वडा प्रहरी कार्यालय भद्रपुरमा लगेर छानबिन गर्न अनुसन्धान अधिकृत ओझालाई आग्रह गरे। ओझाले पुनः प्रमुख अनुसन्धान अधिकृत खड्कालाई त्यसबारे जानकारी गराउँदै सामान वडा प्रहरी कार्यालय लैजानेमा सहमत भए।

वडा प्रहरी कार्यालयमा सामानको परिणाम गणना भयो। गणना गर्दा पोकामा २५२ पिस रेडिमेट सर्ट र कटराइजको ज्याकेट ८० पिस भेटियो। व्यापारी रायाले भन्सारमा २५० पिस रेडिमेट सर्टको ३२ हजार ८३९ रुपैयाँ र ९० पिस ज्याकेटको ३३ हजार ३२ रुपैयाँ राजस्व तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ। भन्सारले व्यापारी रायालाई एक हजार ४२ रुपैयाँ (आइडी) प्यान्लटी रकम पनि तिर्न लगाएका थिए। उनले जम्मा दुई पोकाको ६६ हजार ३२ रुपैयाँ भन्सारलाई राजस्व बुझाएको प्रज्ञापन पत्रमा देखिन्छ।

सामानको परिणाम प्रज्ञापन पत्र अनुसार नै सही भए पनि अनुसन्धान अधिकृत ओझाले माथिको आदेश भन्दै आजै सामान छाडन नमिल्ने भन्दै पुनः आफ्नो अडान लिए। ‘आज रात परिसकेकोले सामान वडा प्रहरीलाई जिम्मा लगाएर हामी जान्छौं, सामानको भिसिटिएस नमिलेको र मूल्यांकन रकम पनि छानबिन गर्नुपर्ने हुन्छ‚’ उनले भने, ‘व्यापारी राया वा उनको फर्मका सञ्चालक अंशु अग्रवाललाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुधवार उपस्थिति हुनुपर्छ।’

अनुसन्धान अधिकृत ओझाको कुरा सुनेपछि झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर- ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, व्यापारी र कारोबारीहरूले पुनः त्यसको प्रतिकार गरे। करिब ती घण्टासम्म वडा प्रहरी कार्यालयभित्र त्यही विषयमा विवाद भयो।

व्यापारी नेता, जनप्रतिनिधि आक्रोशित बनेपछि अनन्त अनुसन्धान अधिकृत ओझाले राति साढे ८ बजे वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईलाई सामान जिम्मा लगाई गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.