|

काठमाडौं :  मार्च २७, १९७३, जुन दिन भव्य समारोहबिच ४५ औँ ओस्कार अवार्डको कार्यक्रम हुँदै थियो। त्यो वर्षको उत्कृष्ट अभिनेताको अवार्डका लागि पाँच अभिनेताको नाम थियो। ति अभिनेता थिए, स्लेथबाट माइकल केन र लोरेन्स ओलिभर, द रुलिङ क्लासबाट पिटर ओ टुल, साउण्डरबाट पाउल विनफिल्ड र द गड फादरबाट मार्लोन ब्राण्डो.

उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति भनेर मार्लोन ब्राण्डोको नाम लिइयो। मारियो पुजोको उपन्यासमा आधारित रहेर फ्रान्सिस फोर्ड कोपोलाको निर्देशन गरेको द गडफादरमा मार्लोनले इटालियन माफिया परिवारको मुख्य व्यक्ति भिटो कार्लियोनीको भूमिका निर्वाह गरेका थिए। 

विश्वभरीका कलाकारको सपना जस्तो मानिने ओस्कार अवार्डमा आफ्नो नाम पनि चढेको छ भन्ने थाहा हुँदा हुँदै मार्लोन उक्त समारोहमा उपस्थित थिएनन्। उत्कृष्ट अभिनेता मार्लोन ब्राण्डो भनेर नाम उच्चारण भइसकेपछि अभिनेत्री तथा मोडल ससिन लिटिलफिदर मञ्चमा उक्लिइन्। जसलाई मार्लोनले आफ्नो प्रतिनिधिको रुपमा पठाएका थिए। 

उत्कृष्ट अभिनेताको नाम पढेका पाहुना होस्टले अवार्ड लिटिलफिदरतिर तेर्साए। तर, उनले उक्त अवार्ड लिन मानिनन्। बरु आफैले एउटा चिठी निकालिन जुन मार्लोनले दिएर पठाएका थिए। यस्तै अवस्था आएमा पढन भनेर। मार्लोनले पठाएको पन्ध्र पेज लामो चिठी पढ्नको लागि समय थिएन। ​

लिटिलफिदरले यति भनिन् मार्लोन यो अवार्ड लिन चाहँदैनन्। उनले भनिन्, 'अनि यसको कारण हो अमेरिकन इण्डियनलाई यो उद्योगले गर्ने व्यवहार।' अमेरिकी फिल्म तथा टेलिभिजनमा अन्य देशबाट आएर अमेरिकी बनेकाहरुलाई जस्तो चित्रण गरिन्थ्यो मार्लोनलाई त्यसमा आपत्ती थियो। फिल्ममा अमेरिकी भारतीयहरुको चरित्र हत्या गरिएको भन्दै मार्लोनले ओस्कार बहिस्कार गरेका थिए। पछि मार्लोनले लेखेको पन्ध्र पेज लामो चिठी पनि पत्रिकामा छापिएको थियो। 

सामाजिक अभिन्ता समेत रहेका मार्लोनले विभिन्न सामाजिक विषयमा खुलेर बोल्दै आएका थिए। सन् १९४० को दशकमा जतिबेला दोस्रो विश्वयुद्धले सब आक्रान्त थिए। त्यतिबेला यहुदीहरुको लागि एउटा छुट्टै राज्य हुनुपर्छ भन्ने विषयमा उनले खुलेर बोलेका थिए। त्यो बाहेक पनि अफ्रिकन अमेरिकनको अधिकार सुनिश्चितताको विषय होस् या ब्ल्याक प्यान्थर पार्टीको विषय होस् उनी आफ्ना धारणा खुलेर राख्थे जसले गर्दा उनी समय समयमा विभिन्न विवादमा पनि तानिने गर्थे। 

सन १९२४ मा जन्मेका मार्लोन २० वर्षको उमेरदेखि अभिनयमा सक्रिय थिए। ६० वर्ष यस क्षेत्रमा बिताएका उनको ८० वर्षको उमेरमा,  सन २००४ मा निधन भएको थियो। द गडफादर बाहेक उनका अ स्ट्रिटकार नेम्ड डिजायर, जुलियस सिजर, द वाइल्ड वान, सायोनारा लगायतका फिल्म चर्चित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.