|

बैतडी : नेपाली कांग्रेस बैतडीको सभापति पदका लागि केन्द्रकाे संस्थापन इतर पक्षका चतुरबहादुर चन्द नेतृत्वमा संयुक्त प्यानल घोषणा गरेको छ।

बुधबार पार्टी कार्यालय गोठालापानीमा जिल्ला सभापति नरेन्द्रसिंह थापाको उपस्थितिमा चन्दको संयोजकत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरिएको हो। चन्द हाल उपसभापति तथा नेपाल क्रिकेट संघका अध्यक्षसमेत हुन्।

चन्दको प्यानलबाट उपसभापतिमा  खगेन्द्रसिंह धामी र रमेश पाण्डेयको नाम अघि सारिएको छ। धामी हाल जिल्ला सदस्य र पाण्डेय जिल्ला कोषाध्यक्ष रहेका छन्। सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीको नाम सार्वजनिक गरिएको छ। चन्द हाल जिल्ला सचिव र जोशी जिल्ला सदस्य रहेका छन्।

सहसचिवमा दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडले उम्मेदवारी घोषणा गरेका छन्। चन्द हाल जिल्ला कार्यालय सचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य र  चाड जिल्ला आमन्त्रित सदस्य रहेका छन्।

यस्तै प्रदेशसभा क्षेत्रीय कार्यसमिति ‘ख’ को सभापतिमा शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्। भट्ट हाल प्रदेशसभा क्षेत्रीय कार्यसमिति ‘ख’ का सचिव हुन्। यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको नगरसभापतिमा भुवनराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्।

प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, जिल्लाका अन्य पालिकाहरूको र जिल्ला सदस्यहरूको नाम केही दिनमै टुंगो लगाइने जनाइएको छ।

घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको दाबी गरे। सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजाने तथा आगामी सबै निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने दाबीसमेत गरे।

यसअघि संस्थापन पक्षका शिवराज भट्टले पनि आफ्नो नेतृत्वमा प्यानलको उम्मेदवारी घोषणा गरिसकेको छन्। दुई प्यानलसहित उम्मेदवारी घोषणा भएसँगै कांग्रेसको चुनावी सरगर्मी बढेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.