|

काठमाडौं : संचारकर्मी रूपा सुनारमाथि जातीय विभेदको मुद्दामा काठमाडौं जिल्ला अदालतले घरबेटीलाई एकलाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न बुधबार आदेश दिएको हो। जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बुधबार भएको थुनछेक बहसमा उक्त आदेश भएको जानकारी दिए। प्रधान धराैटी तिरेर छुटेकाे बताए।

सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा केही दिनअघि नै काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। तर बुधबार मात्रै घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो। आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्।

प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो।

उनी हिरासतमुक्त भएकी थिइन्। हिरासतबाट छुट्दा उनलाई तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन प्रहरी कार्यालय पुगेका थिए। सरकारका मन्त्री नै जातीय छुवाछुत मुद्दाका अभियुक्तलाई लिन गएको भन्दै सुनारले उनीविरूद्ध पनि मुद्दा दायर गरेकी थिइन्।

प्रधानले भने आफूमाथि झूटो मुद्दा हालेर मानहानी गरेको भन्दै रूपाविरूद्ध जाहेरी दिएकी थिइन्। सुनारले श्रेष्ठविरुद्ध दिएको मुद्दा र प्रधानले सुनारविरुद्ध दिएको दुबै मुद्दा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.