|

काठमाडौं : चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ।

नुवाकोट बिदुर नगरपालिका–१२ मुलाबारीका ४५ वर्षीय राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार नुवाकोटबाट पक्राउ गरेको प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए। पण्डित अपहरणका मुख्य योजनाकार भीमसेन पण्डितका ठूलो बुवाको छोरा हुन्। 

यस्तो थियो घटना

४ जेठ २०६७ मा बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. श्रेष्ठ भरतपुरको हाकिमचोकबाट अपहरणमा परे। १२–१५ जनाको समूहमा आएका अपहरणकारीले भक्तमानलाई अपहरण गरी धादिङ पुर्‍याए। भक्तमानले प्रयोग गरेको कार भने पोखरा लगेर बेवारिस अवस्थामा छाडियो।

अपहरणकारी समूहले भक्तमानको परिवारसँग भोलिपल्ट फिरौती रकम माग गर्‍यो। धेरै रकमबाट सुरु भएको फिरौती रकम अन्त्यमा १ करोड १० लाख रुपैयाँमा कुरा मिल्यो।

पहरणकारीले नगद नभएर सुन लिने योजना बनाए। अनि तत्कालीन समयमा ३ किलो ६ सय ग्राम सुन लिएर अपहरणकारीले भक्तमानलाई छाडिदिए। भक्तमानको परिवारलाई अपहरणकारीको समूहले उनी सकुशल चाहिने भए फिरौती रकम दिन धम्की दिएको थियो।

उक्त सूचना प्रहरीसम्म पुगेपछि ज्यान नै पहिलो प्राथमिकतामा रहेको भन्दै एकजना प्रहरी नायब निरीक्षक (सई) सहित भक्तमानको आफन्तले अपहरणकारी समूहका सदस्य रोहित पालिवाललाई ३ किलो ६ सय ग्राम सुन फिरौतीका रूपमा दिएका थिए।

भारतको कानपुर पुगेर भक्तमानका आफन्त र प्रहरीका सईले अपहरणकारी समूहलाई सुन लिने व्यक्ति रोहित पालिवाल अग्रवाल रहेको पहिचान गरेको थियो। अपहरणपछि कहिले धादिङ, कहिले नुवाकोट र कहिले काठमाडौंको सामाखुसीसम्म ल्याएर भक्तमानलाई राखिएको थियो।

फिरौती बराबरको सुन पाएपछि मात्रै अपहरणकारी समूहले भक्तमानलाई रिहा गरेका थिए। ब्यूरोका अनुसार अपहरणका मुख्य योजनाकार भीमसेनका राजेन्द्र सवारी चालक हुन्। उनी भीमसेनको सहयोगीका रूपमा खटिएको प्रहरीले जनाएको छ। भक्तमानको अपहरण प्रकरणमा कार चलाउने व्यक्ति तिनै राजेन्द्र थिए र फिरौतीबापतको रकमको केही हिस्सा उनले पनि पाएका थिए।

प्रहरीले उक्त अपहरण र फिरौती प्रकरणमा सुन लिने रोहित पालिवाल सहितका व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा चलाएको थियो। 
अपहरणमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेपछि राजेन्द्र भीमसेनसँगै भागेर भारतको विभिन्न स्थानमा पुगेको प्रहरीले जनाएको छ।

नेपालबाट भागेर भारत पुगेका राजेन्द्रले भारतको हिमाञ्चल प्रदेशमा पर्ने कुल्लुमनाली, काँगडा आदि क्षेत्रमा बन्दै गरेको हाइड्रो कम्पनीको सडक कटिङको काम गरेका थिए। ती क्षेत्रहरूमा भीमसेनकै बुवा हेमबहादुर पण्डितले ठेक्का लिएको र सोही स्थानमा राजेन्द्रले सुपरभाइजरको रूपमा काम गरेका थिए। २०६७ सालदेखि नै राजेन्द्र भागेर भारत पुगी ७ वर्षसम्म हिमाञ्चलका विभिन्न स्थानमा काम गरी बसेको ब्यूरोले जनाएको छ।

प्रहरीले उनलाई हिमाञ्चलबाटै पक्राउ गर्ने योजना बनाउँदा त्यहाँबाट पनि भागेका थिए। हिमाञ्चालबाट भागेका पण्डित त्यसपछि नेपाल आएर लमजुङमा रहेको एक हाइड्रो कम्पनीमा लेबर इञ्चार्जको रूपमा काम गरेको पाइएको छ।

दशैँको मुखमै पण्डित गाउँमा आएको प्रहरीले सूचना पाएपछि उनलाई पक्राउ गरेको हो।
चितवन जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै राजेन्द्रसहितका केहीलाई सफाइ दिएको थियो। सरकारी वकिलले उच्च अदालत पाटनको हेटौंडा इजलासमा पुनरावेदन गरेको थियो।

पुनरावेदन अदालतले २१ माघ २०७० मा राजेन्द्र पण्डितलाई पनि दोषी ठहर गर्दै ९ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो। भीमसेन भने युरोप पुगेको प्रहरीको अनुमान छ। राजेन्द्रलाई भने ब्यूरोले आज फैसला कार्‍‌यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.