|

काठमाडौं :  उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागी भएर आज नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।

सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो। जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो।

उज्वेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्‍यो। यसमा कसैको दुई मत छैन। फिफा बरियतामा नेपालभन्दा निकैमाथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो।

त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थ्यो। दोस्रो खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन। पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो। तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए।

दक्षिण एसियामा सिमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव सँगाल्ने खेलको रुपमा पनि हेरिएको थियो। दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षाअनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे।

यस्तै, नेपाली टोलीकी कप्तान रेनुका नरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन्। कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने बताइन्।

उनले भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै दुख व्यक्त गरिन्। टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मिहेनत धेरै खाँचो रहेको उनले बताइन्। फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहेपनि अन्तिम तिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको नरकोटीले उल्लेख गरिन्।

उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ। टोलीमा अनुभवको निकै खाँचाे पक्कै हो। सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नु पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.